कोरोना भाइरस फैलिँदै गएको समय राज्य एक्लैले सम्पूर्ण व्यवस्था मिलाउन सक्ने स्थिति छैन। सबै नागरिकले एकअर्कालाई आड दिने समय आएको छ।
यस्तो आपतकालीन समयमा केही घरधनीले आफ्नो कोठा बहाल छुट दिने, सपिङ कम्प्लेक्सहरूले सटर भाडा छुट दिने र केहीले निजी घर नै क्वारेन्टाइनका लागि उपलब्ध गराइदिँदै छन्। केही होटल समेत क्वारेन्टाइनका निम्ति दिने भएका छन्।
यस्तै निधो गरेको छ, तिलगंगास्थित 'आनन्द पशुपति' ले। आनन्द पशुपतिलाई क्वारेन्टाइन रूपमा प्रयोग गर्न सकिने निर्णय बतास संगठनका अध्यक्ष आनन्दराज बतासले आइतबार आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेका छन्।
सेतोपाटीसँगको कुराकानीमा उनले भने, 'हामी सबैले कोरोना संक्रमण फैलिनबाट रोक्नुपर्छ। व्यापार व्यवसायमात्र सोच्नुभन्दा सबैले आफू र अरूलाई सुरक्षित राख्नमा ध्यान केन्द्रित गर्नु जरुरी छ।'
उनका अनुसार आनन्द पशुपतिमा सुविधाजनक ८० कोठा छन्। यहाँ १६० जनासम्म अटाउन सकिन्छ। पानी र बिजुली व्यवस्था भए पनि होटलले क्वारेन्टाइनका लागि भौतिक पूर्वाधार मात्र प्रदान गरिदिने अध्यक्ष आनन्दले बताए।
उनले भने, 'आपतकालीन समयमा होटल यसै खाली राख्नुभन्दा सरकारलाई केही सहयोग हुन्छ कि भन्ने सोचेर यो निर्णय लियौं। सबै व्यवस्था मिलाइदिन भने सक्दैनौं।'
सरकारले होटललाई थप कर्मचारी राखेर सबै व्यवस्था र सुविधा प्रदान गर्न चाहे होटलले आफ्ना कर्मचारी खटाउन तयार हुने उनी बताउँछन्। तर यसमा सरकारले ती कर्मचारीको सुरक्षा समेत ख्याल राख्नुपर्ने उनी बताउँछन्।
वार्षिक एक करोड आठ लाख भाडा तिर्दै आइरहेको आनन्द पशुपतिको परिसर आरादायी र क्वारेन्टाइनका लागि उपयोगी रहेको उनको भनाइ छ। भाडा तिर्नै परे पनि सरकारलाई परेको समय सहयोग गरेको उनी बताउँछन्।
त्यस्तै पोखरा महानगरपालिकास्थित 'होटल मोर्डन देवदर्शन इन' पनि क्वारेन्टाइनमा दिइने निर्णय भएको छ। ट्विटर मार्फत होटलका सञ्चालकमध्येका नरेश रोकायाले सो निर्णय सोमबार सार्वजनिक गरेका हुन्। लेकसाइड स्ट्रिट नं २० मा रहेको यो होटल यही वर्ष वैसाखदेखि सञ्चालित छ।
नरेशसँगै होटलका अन्य दुई सञ्चालक सुनिल कँडेल र सुनिल श्रेष्ठको सहमति मै होटल क्वारेन्टाइनमा दिने भएको नरेश बताउँछन्।
'महामारीमा सरकार एक्लैले सबै व्यवस्था मिलाउन गाह्रो पर्छ, त्यसैले जिम्मेवार नागरिकका हिसाबमा सक्दो मद्दत गर्न अघि सरेका हौं,' उनले भने, 'व्यवसाय र पैसामात्र ठूलो होइन। एक जिम्मेवार नागरिकको हैसियतले कर्तव्य पूरा गर्न खोजेका हौं।'
'होटल मोर्डन देवदर्शन इन' मा १९ कोठा छन्। पन्ध्र कोठा गेष्ट रूम भने बाकीँ चार कार्यालय। नरेशका अनुसार सबै कोठा क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिन्छ। यहाँ पचास जनासम्मको क्षमता छ।
होटलले पानी र बत्ती निःशुल्क गरिदिने भए पनि खानाको लागि तत्काल योजना नबनाएको बताउँछन्। सरकारको सल्लाह र स्वास्थ्य क्षेत्रको प्रतिनिधिका अनुसार खानपिन हुनुपर्ने सोचेका उनीहरूले खाना खर्च सरकारले व्यहोर्न तयार भए भान्साका कर्मचारी राखिदिने बताउँछन्।
सरकारलाई चाहुन्जेल ६ महिनै भए पनि होटल क्वारेन्टाइनका लागि दिन तयार भएको नरेश बताउँछन्।
भन्छन्, 'दुई–चार महिना घाटामा जाला, ऋण लाग्ला। तर यो कदमसँगै हामीले मानव धर्म र राज्यप्रतिको दायित्व भने निर्वाह गर्दैछौं।'