गत चैत ६ गते कतारबाट आएका धादिङका एक युवामा कोरोना संक्रमणको पुष्टि भएपछि सँगै यात्रा गरेकी दाङकी एक युवतीलाई आइसोलेसनमा राखिएको छ।
बुधबार दिउँसो साढे ४ बजेतिर २१ वर्षीया उनलाई प्रहरीको सहयोगमा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याएर राखिएको छ।
अस्पतालका सुपरिटेडन्डेन्ट डा सर्वेस शर्माले बिहीबार बिहानै ती युवतीको परीक्षण नमुना लिनका लागि बुटवलबाट चिकित्सकको टोली तुलसीपुर आउने सेतोपाटीलाई जानकारी दिए।
शर्माले भने ‘टोली आएपछि संभव भएमा हामी भोलि नै उहाँलाई बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा लगेर राख्नेछौं।’
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले ती युवती तुलसीपुर क्षेत्रकै भएको जानकारी दिए। ‘कतारबाट आएका दाङका दुई युवती रहेको खुलेपछि हामीले दिनभर खोजी गर्यौं,’ प्रजिअ रिजालले भने ‘अन्तिममा अर्की दाङकी नरहेको पुष्टि भयो।’
यसैबीच दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल बुधबारदेखि प्रयोगमा आएको छ प्रमुख जिल्ला अधिकारी रिजालले पुरानो राप्ती अञ्चलकै आइसोलेसन केन्द्रको रुपमा उक्त अस्पताल प्रयोग हुने जानकारी दिए।
तुलसीपुरस्थित बेलझुण्डी कोरोना विशेष अस्पतालको बुधबार प्रदेश नं. ५ का कानुन मन्त्री कुलप्रसाद केसीसहित चिकित्सक तथा पदाधिकारीले अनुगमन गरेका छन्।
यो पनि हेर्नुस्
कतारबाट आएर होटल बसेका युवालाई कोरोना संक्रमण देखिएपछि होटलका अरू मानिसको खोजी गरिने
खाडीबाट आएका एक युवामा पनि कोरोनाको संक्रमण