राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिलेसम्म पाँच जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ। प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले जापानबाट आएका एक र भारतको गोलगाउँबाट आएका अर्का एकसहित पाँच जनाको उपचार भइरहेको जानकारी दिइन्।
नयाँ आएका थप दुई जनाको स्वाबको नमूना बुधबार संकलन गरिएको उनले बताइन्। संकलित नमूना बिहीबार काठमाडौं लैजाने तयारी गरिएको छ।
‘नमूना लिएर जान कोही मान्दैनन्। एम्बुलेन्स पनि मान्दैनन्। अरू केही व्यवस्था छैन,’ भण्डारीले भनिन्, ‘त्यसैले म आफैं भोलि बिहान नमूना लिएर काठमाडौं जाँदै छु।’
उनले प्रदेशमन्त्री सुदर्शन बराल, घोराहीका मेयर नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल लगायतलाई संकलित नमूना काठमाडौं पठाउने प्रबन्ध मिलाउन आग्रह गरे पनि कुनै उपाय नलागेपछि आफैं जान लागेको बताइन्।
यसबीच अन्य केही व्यक्तिले कोरोना परीक्षण निम्ति प्रतिष्ठानमा सम्पर्क गरेका छन्। पाँच जनाभन्दा बढीलाई राख्ने ठाउँको अभावमा फर्काउनुपरेको प्रतिष्ठान प्रशासनले जनाएको छ।
यसअघि नै आइसोलेसनमा राखेर उपचार भइरहेका तीन जना बिरामीको भने अझै परीक्षण रिपोर्ट आएको छैन। चैत ९ गते बुटवलका चिकित्सक आएर उनीहरूको नमूना संकलन गरेर लगेका थिए। उनीहरू सबै भारतबाट आएको प्रतिष्ठान प्रशासनले जनाएको छ।
उपकुलपति डा. भण्डारीले लामो समय हुँदा पनि संकलित स्वाबको रिपोर्ट नआएपछि आफन्त र बिरामीले गाली गर्न थालेको गुनासो पोखिन्।
प्रतिष्ठानमा बिरामीको स्वाब नमूना संकलन गर्दा चिकित्सकले लगाउनुपर्ने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) लगायत उपकरण आवश्यक मात्रामा उपलब्ध नरहेको चिकित्सकहरूले बताएका छन्।