के कोरोना भाइरस संक्रमणपछि निको भइसकेकाहरूको रगतले अरू बिरामीको ज्यान बचाउन सक्छ?
न्यूयोर्कका डाक्टरहरू अहिले यही परीक्षणमा छन्। उनीहरू अस्पतालमा भर्ना गम्भीर अवस्थाका बिरामीमा यो उपाय परीक्षण गर्ने तयारी गर्दैछन्।
डाक्टरहरूका अनुसार, कुनै व्यक्तिलाई भाइरसले आक्रमण गरेपछि जब ऊ निको हुन्छ, उसको रगतमा भाइरससँग लड्ने प्रतिरोधात्मक शक्ति (एन्टिबडी) विकास भइसकेको हुन्छ। अर्कोचोटि त्यही भाइरसले आक्रमण गर्यो भने उसको प्रतिरोधात्मक शक्तिले त्यो भाइरसलाई परास्त गर्न सक्छ।
अब तिनै व्यक्तिको रगतमा हुने ‘एन्टिबडी’ लाई कोरोना भाइरससँग जुधिरहेका अन्य बिरामीको रगतमा हालियो भने के होला? के ती नयाँ बिरामीमा पनि रोगसँग लड्ने क्षमता विकास होला?
कोरोना भाइरसजस्तै महामारीको रूप लिएका इबोला र इन्फ्लुएन्जाजस्ता संक्रमण उपचार गर्न दशकौंदेखि यो विधि प्रयोग हुँदै आएको छ।
‘यसले सबै किसिमका संक्रमणमा उस्तै नतिजा देखाउँछ भनेर यसै भन्न सकिन्न। कोरोना भाइरसलाई परास्त गर्न यो विधिले काम गर्छ कि गर्दैन भन्ने हामी परीक्षण गरेर मात्र भन्न सक्छौं,’ परीक्षणमा संलग्न माउन्ट सिनाई अस्पतालका अध्यक्ष तथा प्रमुख कार्यकारी डा. डेभिड एल रिचले भने, ‘हामीले अँध्यारोमा गोली चलाएका होइनौं, तर गोली नचलाई निशाना सही ठाउँमा लाग्छ कि लाग्दैन भन्न सक्दैनौं।’
उनले आफ्नो अस्पतालमा भर्ना कुनै खास किसिमका बिरामीमा मात्र यसको परीक्षण गरिने जानकारी दिए। यसमा मध्यम खालको लक्षण देखिएका र सास फेर्न अप्ठ्यारो हुन थालेका बिरामी पर्छन्। भर्खर लक्षण देखिएको वा जटिल अवस्थामा पुगिसकेका बिरामीलाई परीक्षणमा सामेल गराइने छैन।
‘सही समयमा सही बिरामी चयन गर्नु हाम्रो उद्देश्य हो,’ उनले भने, ‘अहिलेलाई यो प्रयोग मात्र हो।’
यो अनुसन्धानमा निको भइसकेका बिरामीको रगतबाट ‘एन्डिबडी’ पहिचान गर्नु सबभन्दा महत्वपूर्ण पाटो हो। माउन्ट सिनाई अस्पतालका अनुसन्धाता यसमा अग्रणी मानिन्छन्। उनीहरू रगतबाट ‘एन्डिबडी’ पहिचान गरेर परीक्षण गर्ने अमेरिकाकै पहिलोमध्ये पर्छन्।
अमेरिकाको खाद्य तथा औषधि विभाग (फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन) ले अनुसन्धान अघि बढाउन मंगलबार अनुमति दिइसकेको छ। यसैअनुरुप कोरोना भाइरसबाट निको भइसकेका बिरामीको रगतको ‘प्लाज्मा’ अन्य बिरामीमा प्रयोग गरिँदैछ। यसको निम्ति न्यूयोर्कका अस्पतालहरूले निको भएर गइसकेका व्यक्तिलाई अनुसन्धानमा सरिक हुन आह्वान गर्ने न्यूयोर्क ब्लड सेन्टरका प्रमुख कार्यकारी डा. ब्रुस साचाइसले बताए। यो केन्द्रले रगतको ‘प्लाज्मा’ संकलन, परीक्षण र वितरण गर्नेछ।
‘अनुसन्धान क्रममा कसरी अस्पतालहरूलाई सहज रूपले ‘प्लाज्मा’ उपलब्ध गराउने भन्नेमा हाम्रो ध्यान केन्द्रित रहनेछ,’ उनले भने, ‘हाम्रा रगत संकलन केन्द्रहरू न्यू इङ्ल्यान्ड, डेलावेर र मध्य–पश्चिम क्षेत्रमा छन्। हामी अन्य रगत केन्द्र र अस्पतालहरूसँग पनि ‘प्लाज्मा’ संकलनमा मिलेर काम गर्दैछौं।’
उनले अगाडि भने, ‘पूरै देशका बिरामीलाई चाहिने प्लाज्मा न्यूयोर्कबाट मात्र संकलन गर्न सम्भव नहोला, त्यसैले अरू रगत केन्द्र र अस्पतालले पनि यो अनुसन्धानमा सहयोग गरून् भन्ने हामी चाहन्छौं।’
डा. रिचका अनुसार, माउन्ट सिनाई अस्पतालका अनुसन्धाताले ‘प्लाज्मा’ दान गर्न सर्वसाधारणसँग आह्वान गर्दै इमेल लेखेका थिए, जुन कम समयमै ‘भाइरल’ भएको छ। यसमा दुई हजार जनाको प्रतिक्रिया आइसकेको छ।
अनुसन्धानमा सामेल हुन चाहने स्वयंसेवी दाताहरूको रगतबाट प्लाज्मा झिक्नुअघि राम्ररी परीक्षण गरिनेछ। तोकिएको मापदण्ड पूरा हुनेलाई मात्र सामेल गराइनेछ।
यसको निम्ति पाँचवटा मापदण्ड तोकिएका छन्। पहिलो, ती व्यक्तिहरू बिरामी हुँदा कोरोना भाइरस ‘पोजिटिभ’ हुनुपर्छ। दोस्रो, उनीहरू भाइरस संक्रमणबाट निको भइसकेको हुनुपर्छ। तेस्रो, १४ दिन कुनै कसिमको लक्षण देखिएको हुनुहुँदैन। चौथो, अहिले गरिने कोरोना परीक्षणमा ‘नेगेटिभ’ नतिजा आएको हुनुपर्छ। र, पाँचौं, उनीहरूको रगतमा भाइरससँग लड्ने ‘एन्टिबडी’ को मात्रा उच्च हुनुपर्छ।
कोरोना भाइरस लागेर निको भइसकेका व्यक्ति सबैले यी मापदण्ड पूरा नगर्न सक्छन्। कतिले लक्षण मात्र देखिएर परीक्षण नगराएको हुनसक्छ भने कतिलाई १४ दिन लक्षण देखिएको थियो कि थिएन यकिन नहुन सक्छ। त्यही भएर अनुसन्धानको सुरूआती चरणमा मापदण्ड पूरा गर्ने व्यक्ति कम भेटिन सक्ने डा. रिच बताउँछन्।
‘चीनको अनुभव हेर्ने हो भने भाइरस संक्रमणबाट निको भइसकेका अधिकांश व्यक्तिमा एन्टिबडीको मात्रा उच्च पाइएको छ। यही आधारमा हामीले सकारात्मक अपेक्षा राखेका छौै,’ डा. साचाइसले भने, ‘निको भएका धेरै बिरामीको रगतमा एक महिनाभित्र राम्रो एन्डिबडी विकास हुनेछ।’
अनुसन्धानमा छनौट हुने व्यक्तिलाई ‘प्लाज्मा’ दान गर्न रगत केन्द्रमा पठाइनेछ। यो विधि रक्तदानसँग मिल्दोजुल्दो छ। एउटै मात्र फरक भनेको, यसमा बिरामीको शरीरबाट निकालिने रगतलाई एउटा मेसिनमा पठाइन्छ, जहाँ त्यो रगतबाट ‘प्लाज्मा’ निकाल्ने काम हुन्छ। ‘प्लाज्मा’ निकालेपछि रगतको रातो र सेतो कोषिकालाई फेरि दाताकै शरीरमा फिर्ता हालिन्छ।
यसका लागि दाताको दुवै हातमा सुई रोपिन्छ। एउटा हातबाट रगत बाहिर तानिन्छ। त्यो रगत ‘प्लाज्मा’ संकलन गर्ने मेसिन हुँदै अर्को हातको सुईबाट बिरामीकै शरीरमा छिर्छ। सामान्यतया ६० देखि ९० मिनेटमा यो प्रक्रिया पूरा हुन्छ। एक व्यक्तिबाट संकलन गरिने ‘प्लाज्मा’ तीन जना बिरामीको उपचारलाई पर्याप्त हुने डा. साचाइसले जानकारी दिए।
यसरी निको भइसकेका बिरामीको रगतबाट ‘एन्टिबडी’ निकाल्दा उसको प्रतिरोधात्मक क्षमतामा असर पर्छ कि पर्दैन?
जवाफमा साचाइसले भने, ‘कुनै पनि व्यक्ति एकचोटि भाइरस संक्रमणबाट निको भइसकेपछि उसको शरीरमा पर्याप्त एन्टिबडी विकास भएको हुन्छ। त्यसमध्ये केही एन्टिबडी झिक्दैमा उसको प्रतिरोधात्मक क्षमता तलमाथि हुँदैन। उसको भाइरससँग लड्ने क्षमता कायम रहन्छ।’
उनले यो पनि भने, ‘हाम्रो यो प्रक्रियाबाट उसको २० प्रतिशत एन्टिबडी कम हुनसक्छ। तर, केही दिनमै फेरि उही स्तरमा फर्किहाल्छ।’
यसरी रगतबाट ‘प्लाज्मा’ झिकेपछि त्यसमा हेपाटाइटिस, एचआइभी लगायत अन्य किसिमका संक्रमण छ कि छैन भनी परीक्षण गरिन्छ। त्यस्तै, कुनै खास किसिमका प्रोटिनको मात्रा पनि परीक्षण गरिन्छ, जसले नयाँ बिरामीको प्रतिरोधात्मक क्षमतामा उल्टो असर पार्न सक्छ।
सबै परीक्षण पार गरेपछि त्यो ‘प्लाज्मा’ तुरुन्तै बिरामीलाई दिन सकिन्छ वा जमाएर राख्न पनि सकिन्छ। प्रत्येक बिरामीलाई एक युनिट ‘प्लाज्मा’ दिइनेछ, जुन एक कप बराबर हुन्छ। त्यसलाई बिरामीको शरीरमा रगतजस्तो थोपा–थोपा गरी दिइन्छ। जसरी रगत दिँदा दिने र लिने दुवैको समूह एउटै हुनुपर्छ, ‘प्लाज्मा’ दिँदा पनि दुवैको समूह मिल्नुपर्छ।
‘कम्तिमा केही बिरामीका लागि यो उपचार प्रभावकारी होला भन्ने मलाई लागेको छ, तर हामी अहिल्यै यकिनसाथ भन्न सक्दैनौं,’ डा. साचाइसले भने, ‘आगामी केही साताभित्र पहिलो बिरामीमा देखिने नतिजा हामीसँग हुनेछ भन्नेमा म आशावादी छु। त्यसले हाम्रो अनुसन्धान सही दिशामा जाँदैछ कि छैन थाहा हुन्छ।’
‘सार्स, मेर्सजस्ता अन्य किसिका कोरोना भाइरस महामारीमा यसले बिरामीको अवस्था सुधार भएको रिपोर्ट थियो। तर, हामीसँग ठोस प्रमाण छैन। यसलाई पुष्टि गर्ने पर्याप्त तथ्यांकहरूको अभाव छ,’ उनले भने।
चीनमा १० जना बिरामीलाई यसरी नै ‘प्लाज्मा’ दिएर उपचार गरिएको विवरण जर्नलमा प्रकाशित भएको उल्लेख गर्दै उनले अगाडि भने, ‘त्यो कुनै व्यवस्थित र नियन्त्रित अध्ययन थिएन। थोरै बिरामीमा गरिएको थियो। तर, त्यसले भाइरसको मात्रा तुरुन्तै घटेको पाइयो। त्यही नतिजाका आधारमा हामीले अनुसन्धान अघि बढाउने निर्णय गरेका हौं।’
यो परीक्षणमा संलग्न नरहेका अन्य अनुसन्धाता पनि यसमा सकारात्मक देखिएका छन्। उनीहरूका अनुसार, निको भइसकेका बिरामीको रगतबाट नयाँ बिरामीको उपचार गर्ने विधि धेरै पहिल्यैदेखि चलेको हो।
‘संक्रमण भएको चारदेखि छ वा आठ साताभित्र बिरामीको रगतमा एन्टिबडी विकास भइसक्छ, जसले भाइरसलाई परास्त गर्छ र संक्रमणको जोखिम सीमित पार्छ,’ युनिभर्सिटी अफ टेक्सास मेडिकल ब्रान्चका भाइरल विशेषज्ञ विनित मेनाचेरीले भने।
मुसामा गरिएको अनुसन्धान उद्धृत गर्दै उनले भने, ‘हामीले भाइरस बढ्ने क्रम दसदेखि सय गुना कम गर्न सक्नु भनेको मान्छेको जीवन र मृत्युबीच दुरी बढाउँदै लैजानु हो।’
सही दाताबाट पर्याप्त एन्टिबडी प्राप्त हुन सक्यो भने भाइरस संक्रमणविरुद्ध लड्न यो विधि प्रभावकारी हुने उनले बताए।
‘यसको एउटै मात्र जोखिम भनेको, अर्को व्यक्तिको प्लाज्मा ग्रहण गर्दा बिरामीको प्रतिरोधात्मक प्रणालीले कहिलेकाहीँ विपरीत प्रतिक्रिया जनाउन सक्छ, उसमा अन्य रोगहरू देखिन सक्छ।’
परीक्षणमा संलग्न माउन्ट सिनाई अस्पतालका डा. रिचले भने आफूहरू अहिलेसम्मका वैज्ञानिक अनुसन्धान र प्राप्त प्रमाणलाई टेकेर अघि बढ्ने बताए।
‘हाम्रो वरिपरि खतरा मडारिएको छ। हामी चुपचाप बस्यौं भने त्यो खतराले हामीलाई सर्लक्कै निल्नेछ। अहिलेको समयमा हामीसँग जे–जस्ता उपाय छन्, ती सबै कोरोना भाइरसविरुद्धको लडाइँमा प्रयोग गर्नुपर्छ,’ उनले भने।
कोरोना भाइरसलाई जितिसकेका व्यक्ति यो अनुसन्धानमा मद्दत गर्न इच्छुक छन्।
‘हामीलाई धेरैभन्दा धेरै प्रतिक्रिया आइरहेको छ,’ डा. साचाइसले भने, ‘एउटा केन्द्रले निको भएका बिरामीलाई सर्वेक्षण फारम पठाएको थियो, सयौंले अनुसन्धानमा सामेल हुन र आफ्नो प्लाज्मा दान गर्न तयार भएको जवाफ दिए।’
‘यो विश्वव्यापी संकटले मान्छेलाई एकअर्कासँग बाँधेको छ। रोगसँग जुधेर निको भएकाहरू अरू बिरामीलाई मद्दत गर्न चाहन्छन्,’ उनले भने।