विश्वभर कोरोना भाइरस फैलिएपछि चिकित्सकले सुरक्षाका लागि लगाउने पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट (पिपिई), मास्क, पञ्जा, सेनिटाइजर तथा गाउनको माग बढेको छ। माग बढेपछि धेरै नेपाली व्यवसायी र संस्थाले पनि स्थानीय स्तरमै उत्पादन थालेका छन्। तर यी सामान बिनामापदण्ड बनेका छन्।
यी मेडिकल सामग्री बनाउन नेपाल सरकारको कुनै मापदण्ड नभएकाले स्वास्थ्यकर्मीको सल्लाहअनुसार बनाएको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताए। उनले करिब एक साताअघि देखि गाउन बनाउन सुरू गरेका छन्।
‘यसको लागि जस्तो पायो त्यतो कपडाले नहुने रहेछ, अटो क्ल्याप (१२० डिग्री सेल्सियस तापक्रममा पकाउँदा पनि केही नहुने) हुने चाहिने रहेछ त्यहीअनुसार कपडा राखेर बनाएको छु,’ पुनले भने।
यसका लागि कच्चा पदार्थ वाटर प्रुफ र एयर प्रुफ हुनु पर्ने उनले आफूले बनाउने भएपछि मात्र थाहा पाए। गाउनको डिजाइन उनले धरान र टिचिङले प्रयोग गर्ने अनुसारका बनाएका छन्।
‘धरान र टिचिङ हस्पिटलले २ वटा नमूना पठाएको थियो, त्यहीअनुसारको डिजाइन गरिएको छ,’ पुनले भने, ‘गाउन सिलाएको भाग प्वाल पर्ने हुनाले त्यसमा सिल गर्नु पर्ने रहेछ त्यो पनि गरेका छौं।’
पर्यटन व्यवसायी सुमन पाण्डेले पनि करिब तीन दिन टोपी भएको गाउन, बुट र फेससिल बनाएका छन्। उनले पनि नेपालगञ्जको भेरी हस्पिटलको एक डाक्टरको सल्लाहअनुसार बनाएको बताए।
‘हामीलाई के-के मापदण्ड चाहिन्छ भन्ने थाहा थिएन, भेरी हस्पिटलका एक डाक्टरले अनलाइनमा यसरी यसरी बनाउने भन्नुभयो त्यसरी नै बनाएका छौं,’ पाण्डेले भने।
अन्य हस्पिटलहरूले पनि आ-आफैं बनाउन थालेका छन्।
पुनले बनाएका पिपिईको गुणस्तर पुगेको भन्दै डाक्टर भगवान कोइराला नेतृत्वको नेपाल मेडिकल काउन्सिलले स्वीकृति दिएको समाचार आए पनि त्यो सत्य नभएको काउन्सिल स्रोतले सेतोपाटीलाई बतायो।
‘पुनले बनाएका पिपिई डाक्टर कोइरालालाई देखाउन ल्याएको सत्य हो तर त्यसको गुणस्तर पुगे/नपुगेको सर्टिफाई गर्ने निकाय एनएमसी होइन,’ स्रोतले भन्यो, ‘उहाँले ती पिपिई स्वीकृत गर्नुभयो भन्ने कुरा साँचो पनि होइन।'
यसरी व्यवसायी तथा विभिन्न संस्थाले बिना मापदण्ड पिपिई बनाउन थालेपछि तिनको मापदण्ड तय गर्न सरकारले नापतौल तथा गुणस्तर विभागलाई निर्देशन दिएको छ।
पिपिईको मापदण्डको लागि अध्ययन भइरहेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए।
‘हामी घरमै बसेर ५-७ जनाको टिम बनाएर मापदण्डको लागि अध्ययन गरिरहेका छौं,’ पुडासैनीले भने।
उनका अनुसार पिपिईको मापदण्डका लागि अन्तर्राष्ट्रिय मापदण्ड अध्ययन तथा उत्पादकसँग छलफल भइरहेको छ।
‘हामीले अहिले ५-७ वटा बुँदा ड्राफ्ट बनाइसकेका छौं, एक साता जतिमा मापदण्ड तय हुन्छ,’ पुडासैनीले भने।
अहिले बनाउने व्यवसायीले पनि केही न केही आइडिया लिएर बनाएको हुनाले ती सबै गुणस्तरहीन छन् भन्ने नमिल्ने उनले बताए।
‘फरक-फरक ठाउँमा फरक-फरक मापदण्डको प्रयोग गरिन्छ। सबैलाई एउटै मापदण्ड चाहिने होइन, अहिले बनेका पनि नराम्रै छन् भन्ने होइन,’ उनले भने।
स्वास्थ्यसम्बन्धी २५-३० वटा समानको मापदण्ड बनाउन लागिएको पुडासैनीले जानकारी दिए।
‘अहिलेसम्म यस्तो मापदण्डको आवश्यकता परेको थिएन, परेपछि हामीले पनि सोधीखोजी गर्ने हो,’ उनले भने, ‘अहिलेको लागि मात्र नभएर हामीले पछिसम्मको लागि हुनेगरी मापदण्ड बनाउन अध्ययन थालेका छौं।’