फिदिम नगरपालिकाको वडा नम्बर १ मा हरेक शनिबार हाट-बजार लाग्थ्यो। यसपटक भने लकडाउनका कारण लागेन। तरकारी-सब्जी किन्नेले पनि पाएनन्, किसानले फलाएका तरकारी पनि खेर जाने भयो।
दुवै पक्षलाई राहत दिन वडा कार्यालयले जुक्त्ति लगायो- किसानबाट किनेर आफैं घर-घर पुर्याउने।
यसको पहल गरे वडाध्यक्ष गजाधर भट्टराईले। उनले आइतबार किसानबाट हरिया सागसब्जी ल्याएर वडाका घरघरै लगेर बाँडे।
'साग, धनियाँ, लसुन लगायत हरिया तरकारीको सिजन छ। हामीले किसानको खेतबाटै ती तरकारी लियौं,' वडाध्यक्ष भट्टराईले आइतबार टेलिफोन संवादमा भने, 'अनि वडाका घर–परिवारमा बाँड्यौं।'
यसमा विशेषगरी व्यापारी, निजी संस्था व्यक्तिहरू र नगरप्रहरीले मद्दत पुर्याएको भट्टराईले बताए। उनका अनुसार उनीहरू सबै मिलेर आफूले सक्ने रकम जम्मा गरे र झन्डै बीस हजार रूपैयाँ बराबरको तरकारी कृषकबाट किनेर वडाका परिवारमा पुर्याए।
शनिबार बिहानदेखि वडाध्यक्ष भट्टराईले आफ्नै उपस्थितिमा तरकारी वितरण गरेका हुन्। शनिबार नपुगेका केही परिवारलाई भने आइतबार बिहान पुर्याएको उनले बताए। वडाले पन्ध्र सय परिवारलाई साग वितरण गरिसकेको छ।
'कोरोना भाइरस फैलिने त्राससँगै बजार व्यापार नहुने भयो। यसले उपभोक्ता मर्कामा पर्ने भए,' उनले भने, 'सकेको राहत वडाले प्रदान गर्नेछ। हाललाई कृषकका खेतीले बजार पाएका छैनन्। हामी वडाभित्रै वितरण गर्दैछौं।'
वडाले यति बेला ती परिवारसँग कुनै पैसा नलिएको पनि उनले बताए।
फिदिम नगरपालिकाले यसप्रकारको समस्या सम्बोधनबारे योजना तयार पार्ने भने पनि वडाले सकेको मद्दत गरिहालेको वडाध्यक्ष भट्टराई बताउँछन्। सागबाहेक ब्रोकाउली, फर्सी, टमाटर लिन पनि किसानसँग वडाले सम्पर्क गरेको छ।
त्यस्तै चोकचोकमा अत्यावश्यक सामग्री वितरणका लागि लागेका व्यापारीहरूलाई सामान ढुवानीमा पनि वडाले मद्दत पुर्याउँदै छ। वडाध्यक्ष भट्टराई हाल वडावासीलाई कुनै खाद्यान्न समस्या नपरेको तर जरुरत परे समाधान गर्न तयार रहेको बताउँछन्।