लकडाउनले बाहिरी संसार चकमन्न छ। कोहीसँग भेट भएको छैन। घरै बसेर कोही कार्यालयका काम गर्दैछन्। कोही किताबमा घोरिएका त कोही कलाकारिता सिक्दै।
मन बहलाउने अनेक बहाना छन्, तर साथीसंगी र आफन्तीको न्यास्रोले धेरै सताउँछ। यो शारिरीक हिसाबको दुरीमा अलिकति राहत सामाजिक सञ्जालले दिएको छ, विशेषगरी फेसबुक।
संसारभर धेरै ठाउँमा लकडाउन भएसँगै सामाजिक सञ्जाल प्रयोग अति नै बढेको छ। बिबिसीको एक रिपोर्टअनुसार लकडाउन भएका देशमा फेसबुक र यो मातहतका अन्य एपमा प्रयोगकर्ता झुत्तिने समय ७० प्रतिशत बढेको छ।
सामाजिक सञ्जालमार्फत कुराकानी त भइहाल्यो, यहाँ सुरू भएका विभिन्न 'ट्रेन्ड' पछ्याउनेहरूको पनि ओइरो छ।
अहिले खुबै लोकप्रिय बनेको यस्तै नयाँ ट्रेन्ड हो– फेसबुक साथीका पुराना फोटा टाइमलाइनमा ब्युँताउने। अर्थात पुराना फोटामा रियाक्ट र कमेन्ट गर्ने। युवामाझ यो अझै लोकप्रिय छ।
प्रायः साथीबीच फोटामा हाँसेको रियाक्ट र २०–२५ शब्द लामो कमेन्ट गरेको पाइन्छ।
'नयाँ ट्रेन्ड रहेछ। मेरा पुराना फोटामा पनि लामो–लामो कमेन्ट अनि रियाक्ट आइरहेको छ,' युट्युबर सुपर मन्दिप (मन्दिप बखुन्छेँ) ट्रेन्डबारे भन्छन्, 'अहिलेको तनावग्रस्त समयमा मान्छे रमाइलो गर्ने तरिका खोज्दैछन्। साथीहरूको पुराना फोटा हेर्दै एकआपसमा रमाइरहेका छन्।'
सुपर मन्दिप यसलाई सकारात्मक मान्छन्। तर अधिक भए झिँजो लाग्ने बताउँछन्। भन्छन्, 'चिनी पनि बढी भए तितो हुन्छ। अत्तिनै भए त रिस उठाउने भैदिन्छ।'
यो ट्रेन्डमा एक शिक्षकको पनि यस्तै भनाइ छ। नाम नभन्ने भन्दै उनले काम गरिरहेका समय नोटिफिकेसन आइरहँदा ध्यान हट्ने र पुनः काममा लाग्न गाह्रो हुने बताए।
कोही यो ट्रेन्डमा रमाइरहेका छन् भने कोही यसबारे दिक्दारीका 'मिम' बनाउन व्यस्त छन्। सामाजिक सञ्जालमा ट्रेन्डसँगै मिम चलिरहन्छ नै।
यसै सन्दर्भमा लोकप्रिय भएको मिम हो, प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीमा उर्तान खोजिएका वाक्य। प्रधानमन्त्रीको फोटोसँगै लेखिएको छ 'घरमा बस भनेको हो, पुरानो फोटो बुस्ट गर भनेको होइन।'
त्यस्तै बलिउड निर्देशक एवम् अभिनेता आमिर खानको फोटोसँगै लेखिएको छ, 'बेरोजगार, महा बेरोजगार, अनि आउँछ पुरानो फोटो बुस्ट गर्नेहरू।'
सामाजिक सञ्जालमा यसरी सबै वर्गका मान्छे रमाइरहेको देख्दा चार्टर एकाउन्टेन्ट कृष्णप्रसाद उपाध्यायले आफ्नो फेसबुकबाट पोस्ट गरेका छन्, 'फेसबुक रिभोलुसनपछि पहिलो पटक मान्छे अतीतमा रमाउन थालेका होलान्!'
उनले यो ट्रेन्डलाई 'नोस्टाल्जिक भाइरस' भनेका छन् अर्थात 'पुरानो सम्झनाको भाइरस'।
'कोरोना भाइरस त्रासले दिएको दुःख, नोस्टाल्जिक भाइरसले थम्थमाउन खोजेको छ। पहिलेपहिले हामी फुर्सद समय फोटो एल्बम हेर्थ्यौं। त्यस्तै भएको छ अहिले। मात्र माध्यम र तरिका फरक,' कृष्णप्रसाद ट्रेन्डबारे सकारात्मक हुँदै भन्छन्, 'म आफैं पनि घरै छु। केही समय कामको भागदौडभन्दा टाढा। साथीहरूसँग सामाजिक सञ्जालमा यसरी नै रमाइरहेको छु।'
यसरी फेसबुकमा पुराना फोटा बुस्ट गर्ने ट्रेन्ड चलिरहेका बेला इन्स्टाग्राममा भने 'अन्टिल टुमरो' अर्थात 'भोलिसम्म' चलिरहेको छ। चुनौतीका रूपमा लिइएको यो ट्रेन्डमा एक इन्स्टाग्राम प्रयोगकर्ताले अर्को प्रयोगकर्तालाई आफ्नो पुरानो वा हालको फोटो पोस्ट गर्न चुनौती दिन्छन्।
कोरोना भाइरसको खबरभन्दा केही पर सामाजिक सञ्जालमा यसैगरी रमाउन खोज्नेहरू धेरै छन्। कोही भने यसलाई नचाहिँदो पनि मानेका छन्।