२७ वर्षीय आकाश दर्शनधारी प्राय: खाली समय हनुमानढोकातिर बिताउँथे। घरनजिकै भएकाले धेरै टाढा धाउनु पर्थेन। उनीसँगै टोलका साथीहरू त्यहीँ जम्मा हुन्थे। रमाइला गफगाफ, टोलका समस्या र सुधारका उपाय नै उनीहरूको भेटघाटको मुख्य विषय हुन्थ्यो।
एक साताअघि सरकारले लकडाउन गरेपछि उनीहरू भेला हुने चोक सुनसान छ। आकाश र उनका साथीहरूलाई भने लकडाउनले छेकेको छैन।
उनीहरू अहिले पनि उसैगरी जम्मा हुन्छन्। प्रयोजन भने फरक छ। उनीहरू लकडाउन बेला ड्युटीमा खटिएका प्रहरी, अलपत्र व्यक्ति र टोलका जनावरहरूको सहयोगमा खटिएका छन्।
लकडाउनको दोस्रो दिन बुधबारदेखि हरेक बिहान भेला भएर यो अभियान अघि बढाइरहेको आकाशले बताए। यसमा उनीसहित १५ जना संलग्न छन्।
'हरेक बिहान हामी चोकमा जम्मा हुन्छौं र कसरी काम गर्ने छलफल गर्छौं। त्यसपछि प्रत्येकसँग सय रुपैयाँ उठाएर खाजा र अन्न किन्छौं,' उनले भने।
उनीहरू न्यूरोड, असन र हनुमानढोकातिरका असहाय तथा विपन्न व्यक्तिलाई खाजा र अन्न बाँड्छन्। परेवा र कुकुरलाई पनि खुवाउँछन्।
आकाशका अनुसार, उनीहरू चार-पाँच जनाको समूह बाँडेर भिन्न-भिन्न टोलमा जान्छन्। ड्युटीमा खटिएका प्रहरीलाई पनि खाजापानी दिइरहेका छन्।
साथै, घरबार नभएर सडकमा अलपत्र व्यक्तिलाई आवश्यक लत्ताकपडा पनि बाँडिरहेका छन्।
यो सहयोग अभियान अघि बढाउन आकाश र उनको समूहले 'काठमाडौं लोकल' भन्ने फेसबुक पेज खोलेका छन्। त्यसमा लकडाउनअघिका थुप्रै सामाजिक कामको फोटो र विवरण पाइन्छ। अहिले उनीहरू 'आफू बाचौं, अरूलाई पनि बचाऔं' भन्ने नाराका साथ सहयोगमा जुट्दै आएका छन्।
'यो आपतकालीन समयमा हामीले आफू र आफ्नो परिवारका लागि मात्र सोच्नु उचित हुँदैन। मानिस होस् वा जनावर, सबैको जीवन महत्वपूर्ण छ,' आकाश भन्छन्, 'हामीले सामाजिक सञ्जालमा चर्चा पाउन यी काम पोस्ट गरेका होइनौं। हाम्रो उद्देश्य अरू पनि प्रभावित हुन् भन्ने हो।'
आकाश र उनको समूहजस्तै थुप्रै व्यक्ति कोरोना विपतमा सहयोगको हात बढाउन अघि सरेका छन्। समिता कपाली र निबेस दुगल उदाहरण हुन्।
'ग्रिन ग्रोथ' की सञ्चालक समिता र 'साइकल सोसाइटी' मा आबद्ध निबेस एक सातादेखि पशुपति क्षेत्रका बाँदरलाई खाना दिइरहेका छन्।
लकडाउनपछि यी दुई जना दिनको सुरूआत पशुपति क्षेत्रका भोका बाँदरलाई खाना दिएर गर्छन्। त्यसलगत्तै दिउँसो तीन बजे फेरि गएर खुवाउँछन्।
'पशुपति विकास कोषले आफ्नै कर्मचारी खटाएर बाँदरलाई खुवाउने गरेका थिए। अहिले कर्मचारी कम भएकाले हामीले हात बढाएका हौं,' समिता भन्छिन्, 'उहाँहरूले पनि कर्मचारी खाँचो भएर हाम्रो प्रस्ताव स्वीकार गर्नुभयो। हामीले अलिकति व्यवस्थापन पनि मिलाउन खोजेका छौं।'
लकडाउनमा मन्दिर क्षेत्र र सडकका जनावर भोकभोकै भएको समाचार आएपछि यो काममा संलग्न भएको उनी बताउँछिन्।