लकडाउनमा पनि हामीले बिहान-बेलुकी तरकारी किन्न पाइरहेका छौं। कहिले सोच्नुभएको छ, त्यो तरकारी कहाँबाट कसरी आइरहेको छ?
काठमाडौंका उपभोक्ताले खाने ३० प्रतिशत तरकारी पाँचखाल नगरपालिकाबाट आउँछ। अन्यत्रबाट आपूर्ति घटेका बेला पाँचखालका किसानले भने नगरपालिकाको निगरानीमा सावधानीपूर्वक खेतीपातीको काम जारी राखेका छन्।
कोरोना भाइरसको महामारीसँगै खेतमा जाँदा हुलमुल नगरी थोरै संख्यामा जान नगरपालिकाले निर्देशन दिएको छ। नगर प्रमुख र वडा सदस्यहरू खेतमै गएर किसानलाई सम्झाउँछन्। कामदार थोरै हुँदा केही ढिलाइ भए पनि काम नरोकिएको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बताए।
उनका अनुसार, कृषकहरूलाई तरकारी उत्पादन र दूध ढुवानीमा कुनै समस्या छैन। नगरले प्रत्येक दूध डेरी र तरकारी संकलन गर्ने ठाउँमा मास्क, पन्जा र स्यानिटाइजर उपलब्ध गराएको छ।
यहाँका किसान पहिले सार्वजनिक गाडीबाट तरकारी ढुवानी गर्थे। लकडाउनमा सार्वजनिक यातायात बन्द भएपछि तरकारी ढुवानीमा समस्या नहोस् भनेर नगरपालिकाले नै गाडीका लागि छुट्टै सिफारिसको व्यवस्था मिलाएको छ।
'म आफैं गाडी लिएर टोल–टोलमा पुग्दैछु,' उनले भने, 'भीडभाड नहोस् भनेर प्राय: एक्लै हिँड्छु।'
यस्तो संकट बेला जनजीवन सामान्य होस् र किसानको जीविकोपार्जनको आधार नगुमोस् भन्नेमा आफू सचेत रहेको उनले बताए।
यति मात्र होइन, बाहिरी जिल्लाबाट आएर घर फर्कन नपाएका मजदुरको निम्ति नगरपालिकाले बसोबासको व्यवस्था मिलाएको छ।
गत साता झन्डै पाँच सय मजदुर रोजगार निम्ति पाँचखाल आएका थिए। उनीहरू लकडाउनपछि यतै अड्किए। नगरपालिकाले ती मजदुरलाई सुरक्षित ढगंमा घर पुर्याउने व्यवस्था मिलाएको छ।
अहिले पनि यहाँका साना घरेलु उद्योग, कारखाना, इँटाभट्टा लगायतमा काम गर्ने झन्डै नौ सय मजदुर अड्किएका छन्। विभिन्न जिल्लाबाट आएका उनीहरू लकडाउनले घर फर्कन पाएका छैनन्। उनीहरूका निम्ति खानेबस्ने व्यवस्था नगरपालिकाले नै मिलाउँदैछ।
नगरपालिका र केही व्यवसायीको समन्वयमा मजदुरहरूका निम्ति खानेबस्ने व्यवस्था भइरहेको खरेलले बताए। उनका अनुसार मजदुरी गरेर बिहान–बेलुकीको छाक टार्नेलाई खानाको व्यवस्था मिलाइएको छ।
'व्यवसायीहरू आफ्नै पहलमा मजदुरहरूलाई खाना खुवाउँदै छन्। आवश्यक परे नगरले खाद्यान्न सहयोग गर्नेछ,' उनले भने, 'यो संकटकालीन समय दुई–तीन महिना पनि लम्बिन सक्छ। भएको स्रोतसाधन खर्चिहाल्नु हुँदैन। आवश्यकताअनुसार चल्नुपर्छ।'
कोरोना रोकथामका लागि नगरपालिकाले मंगलबारबाट विभिन्न क्षेत्रमा 'डिसइन्फेक्टेट स्प्रे' छर्न थालेको छ। यो अभियान प्रमुख व्यापार केन्द्रबाट सुरू गरेर टोलटोलसम्म लैजाने योजना छ। गत सातादेखि नै नगरका ठाउँ–ठाउँमा साबुनपानीको व्यवस्था मिलाइएको छ।
'नगरका प्रत्येक वडा तथा अन्य विभिन्न क्षेत्रका व्यक्ति र व्यवसायी मिलेर कोरोना रोकथाममा लागिपरेका छौं,' नगर प्रमुख खरेलले भने, 'भिन्न–भिन्न ठाउँमा साबुनपानीको व्यवस्था वडाले हेर्दैछ भने दमकलको मद्दतमा डिसइन्फेक्टेट स्प्रे छर्कंदै छौं।'
नगरले स्वास्थ्य चौकीको अवस्था बुझ्न, अत्यावश्यक सामग्रीका पसल खुलेका छन् कि छैनन् अनुगमन गर्न, प्रत्येक वडामा औषधि पुर्याउन, वडामा नयाँ व्यक्ति देखा परे तथ्यांक संकलन गर्न र निम्नवर्ग, मजदुर, असक्त तथा विपन्न जनसंख्याको तथ्यांक निकाल्न पनि वडालाई जिम्मा दिएको छ।
पाँचखाल नगरपालिकामा १३ वडा छन्। संकटकालीन समयमा नगरले हरेक वडालाई ५० हजार रूपैयाँ दिएको छ। यो रकम वडाभित्र विभिन्न राहत कार्यक्रममा खर्च गर्ने कार्यक्रम छ।
वडा नम्बर ३ मा बुधबारदेखि विपन्न र समस्यामा परेकालाई खाद्यान्न वितरण सुरू हुने वडाध्यक्ष सुन्दर अधिकारीले बताए। 'धेरैले भूकम्पमा राहत वितरण गरेजस्तै सोच्नुहुन्छ, तर हामी साँच्चिकै समस्यामा परेका र खान नपाएकाहरू पहिचान गरेर खाद्यान्न वितरण गर्नुपर्छ,' उनले भने।
यसबाहेक अन्य आवश्यक राहत वितरणका लागि नगर आफैं अघि सर्ने नगर प्रमुख खरेलले बताए। नगरले बुधबारदेखि अपांगता भएका व्यक्तिलाई राहत दिन सुरु गरेको छ। अहिले तीन सय जनालाई खाद्यान्न राहत वितरण हुने र आवश्यक परे संख्या बढाउँदै लगिने उनले जानकारी दिए।
नगरले आइसोलेसन वार्ड र क्वारेन्टाइन कक्ष पनि तयार पारिसकेको छ। पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र दुलाथोकमा ५ बेडको आइसोलेसन कक्ष र समाज कल्याण माविमा ५ बेडको क्वारेन्टाइन कक्ष तयार पारिएको छ।
त्यस्तै, नगर प्रमुखले आफ्नै उपस्थितिमा भट्टीहरूको छड्के अनुगमन सुरू गरेका छन्।
'केही स्थानीयको गुनासोपछि भट्टी अनुगमनमा लागेका हौं,' खरेलले भने, 'भट्टी सञ्चालकहरूलाई हिजो सम्झाएर बन्द गरायौं, आजदेखि कानुनी कारबाहीमा जाने सोचेका छौं।' मंगलबार मात्र दसवटा भट्टीलाई चेतावनीसहित बन्द गर्न लगाएको उनले बताए।