अमेरिकी म्यागजिन फोर्ब्सले यो वर्षका एसियाका तीन सय प्रभावशाली युवाहरूको सूची जारी गरेको छ। उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका ३० वर्षभन्दा कम उमेरका एसियाली युवाको नाम फोर्ब्सले बिहीबार सार्वजनिक गरेको हो।
यो सूचीमा नेपालका पाँच जना युवा पनि परेका छन्- प्रतीमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना, शुभांगी राणा र जेस्सेलिना राणा।
उनीहरू आ-आफ्ना कार्यक्षेत्रअनुसारका विभिन्न विधाका ३० प्रभावशाली युवाको सूचीमा परेका हुन्। फोर्ब्सका अनुसार यसमा सूचीकृत हुन ३५०० को 'नोमिनेसन' भएको थियो। यसमध्ये तीन सय जना छानिए जसमा ५ नेपाली युवाले पनि आफ्नो स्थान बनाएका छन्।
को हुन् यो सूचीमा पर्ने पाँच युवा?
प्रतीमा शेर्पा 'इन्टरटेन्मेन्ट तथा स्पोर्ट्स' विधामा सूचीकृत छन्। उनी गल्फ खेलाडी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको रोयल नेपाल गल्फ कोर्षमा काम गर्ने बुवाका साथमा बस्दादेखि नै उनले गल्फ खेल्न थालेकी हुन्। ११ वर्षको उमेरमा खेल्न सुरू गरेकी उनको पहिलो गल्फ क्लब रूखको हाँगाबाट बनाइएको फोर्ब्सले लेखेको छ। उनी नेपालकै अब्बल गल्फ खेलाडी मानिन्छिन्। उनका आमाबुवा अझै पनि रोयल गल्फ कोर्षभित्रै बस्छन्।
निकिता आचार्य र किरण तिम्सिना 'अर्बान गर्ल' अनलाइन कम्पनीका संस्थापक हुन्। फोर्ब्सको सूचीमा उनीहरू 'रिटेल एन्ड इकमर्स' विधाका ३० मध्येमा सूचीकृत छन्।
सन् २०१२ मा उनीहरूले करिब २० हजार रूपैयाँमा व्यवसाय सुरू गरेका थिए। अर्बान गर्लले विभिन्न डिजाइनका गरगहनादेखि 'कस्टमाइज्ड' टि-सर्ट, पानीको बोतलका साथै मेकअप, घर सजावटका र विद्युतीय सामान बिक्री गर्छ।
फोर्ब्सका अनुसार यो कम्पनीमा अहिले ५० जनाभन्दा बढी कर्मचारी छन्। काठमाडौं र पोखरा गरी दुई ठाउँबाट काम गरिरहेको कम्पनीले सन् २०१६ देखि बेकरीजन्य सामग्री पनि बेच्छ। 'युजी केक्स' नामक यो कार्यक्रमले कान सुन्न नसक्ने महिलाहरूलाई तालिम दिएर रोजगारी दिँदै आएको छ।
इञ्जिनियर शुभांगी राणा र मानवअधिकार अधिवक्ता जेस्सेलिना राणा 'प्याड-टु-गो' संस्थाका संस्थापक हुन्। राणाद्वयको नाम 'सोसल अन्ट्रप्रनर' विधामा परेको हो।
उनीहरूको संस्था सन् २०१८ मा स्थापना भएको हो जसले महिनावारी स्वास्थ्य र यसबारे समाजमा विद्यामान भ्रम हटाउन काम गर्छ। यसले सातै प्रदेशमा विभिन्न बैंक, स्कुल, फिल्म हल, अस्पताल लगायत ठाउँमा ८० वटा 'प्याड भेन्डिङ मेसिन' राखिसकेको छ। संस्थाले महिनावारीबारे सचेतना कार्यक्रम र स्यानिटरी प्याड सस्तोमा उत्पादन गर्ने कम्पनीसँग सहकार्य पनि गर्छ।
फोर्ब्सका अनुसार प्याड-टु-गो संस्थाले स्विट्जरल्यान्डमा भएको एक कार्यशालामा प्रथम पुरस्कार र सिंगापुरमा भएको 'स्टार्ट-अप पिच कन्टेस्ट' मा दोस्रो पुरस्कार पाएको थियो।