लकडाउनका बेला जनकपुर उपमहानगरले बेवास्ता गरेको गुनासो
लकडाउनका बेला जनकपुर उपमहानगरपालिकाले पीडित ज्यालादारी मजदुर तथा विपन्न परिवारका लागि राहत वितरणमा चासो नदिएको गुनासो बढेको छ।
एकाध वडाध्ययक्षले आफ्नै खर्चमा केही राहत वितरण गरे पनि कतिपय वडाका विपन्न परिवारमा त एउटा मास्क समेत छैन।
जनकपुरधाम वडा नम्बर १ का अध्यक्ष शत्रुधन प्रसाद साह, २ का शिवकुमार साह, ४ का सुदर्शन सिंह, ७ का जानकीराम साह लगायतले आ–आफ्नो वडामा केही मात्रामा भएपनि राहत वितरण गरे।
वडा नम्बर ७का वडाध्यक्ष जानकीराम साहले लकडाउनको समयमा आफ्नो वडाका स्थानीयलाई सहज रुपमा आलु, प्याज तथा नून उपलब्ध गराए। ४ का वडाध्यक्ष सुदर्शन सिंहले कोरोना भाइरसको संक्रमण रोक्न बजारमा भीड हुन नदिनका लागि बजार व्यवस्थापनमा विशेष ध्यान दिए।
कतिपय वडाध्यक्षले नगर प्रमुखबाटै सहयोग नपाएको गुनासो गरेका छन्। आफ्नो वडामा विपन्न तथा अति विपन्नहरुको लगत संकलन गरिरहेका वडा नम्बर ३का वडाध्यक्ष दिपेन्द्र साहले कोरोनाको संक्रमण फैलन नदिनका लागि आफूले वडामा मास्क तथा साबुन वितरण गरेको बताउँदै नगर प्रमुखबाट कुनै सहयोग नपाएको गुनासो पोखे।
उनले भने ‘उपमहानगरपालिकाले विपन्न तथा अति विपन्नको लगत संकलन गर्नका लागि चिठी काट्न बाहेक अहिलेसम्म केही गरेकै छैन।’ उनले सामाजिक सञ्जालमै उपमहा नगरपालिकाको खुलेरै आलोचना गरेका छन्।
यता वडा नम्बर ७का वडाध्यक्ष जानकीराम साहले समेत नगरपालिकाबाट कोरोना भाइरसको संक्रमण रोक्नका लागि कुनै प्रकारको सहयोग नपाएको सुनाए। उनले भने ‘उपमहानगरपालिकाबाट सहयोग नपाए पनि आफ्नै स्तरबाट वडावासीलाई मैले सहज रुपमा मास्क, साबुन वितरण गर्नुका साथै आलु, प्याज नून उपलब्ध गराएको छु।’
वडा नम्बर ४का वडाध्यक्ष सुदर्शन सिंहको पनि उस्तै गुनासो छ। यद्यपि उपमहानगरपालिकाको विपद व्यवस्थापन कोषमा बाँकी रहेको ८३ लाख रुपैयाँ र प्रदेश सरकारले उपलब्ध गराएको २० लाख रुपैयाँ समेत उपयोग नगरिएको वडाध्यक्ष सिंहले बताए।
युवा अभियन्ता सुशिल कर्णले नगरप्रमुख लालकिशोर साहसँग कुनै भिजन नरहेको आरोप लगाउँदै वडाध्यक्षहरु समेत उनकै सिको गरिरहेको बताए।
नगर प्रमुख नै आफ्नो नगरवासीको खराब अवस्थाप्रति अनभिज्ञ भएपछि वडाध्यक्षबाट पनि आश नरहेको स्थानीय रेनु साहले बताईन् ।
यता जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता मिश्रले आफूहरुले विपद व्यवस्थापन समितिको बैठक बसेर कोरोनाको संक्रमण फैलिन नदिनका लागि नगरभर औषधि छर्किदैँ आएको बताइन्।
प्रत्येक वडामा राहतका लागि लगत संकलनका गर्न पत्र काटेको उनले बताइन्।