विभिन्न सीमा नाकाबाट बाँके प्रवेश गरेका एक सय ८१ जना नेपालीलाई नेपाल–भारत सीमाना क्षेत्रको दशगजामा राखिएको छ।
नेपाली सेनाले उपलब्ध गराएका टेन्टहरूबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुरमा ४५ वटा अस्थायी टेन्ट निर्माण गरी भारतबाट नेपाल प्रवेश गरेका १ सय ८१ जनालाई बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले सेतोपाटीलाई बताए।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको समयमा आएका त्रिपाल नेपाली सेनाले सुरक्षित राखेको हुँदा ती त्रिपाललाई हाल सदुपयोग गरी ४५ वटा अस्थायी टेन्ट निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए।
सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीले ४५ वटा अस्थायी टेन्ट निर्माण कार्य पूरा भएपछि बिहीबार दिउँसोदेखि सीमा नाकामा अलपत्र परेका १ सय ८१ जना नेपालीलाई नेपाल–भारत सीमाना नाकाको निर्माणाधीन सुख्खा बन्दरगाह क्षेत्रमा राखिएको खड्काले जानकारी दिए।
‘विभिन्न नाकाबाट भारतबाट रुपैडिहा नाकामा जम्मा भएका उहाँहरू कुनै पनि हालतमा फेरि फर्किएर भारतको क्वारेन्टाइनमा जान मान्नु भएन। त्यसैले हामीले दशगजा क्षेत्रको खुला चौरमा उहाँहरूका लागि अस्थायी टेन्ट निर्माण गर्नुपरेको हो,’ प्रजिअ खड्काले भने ।
बाँकेको हिरमिनिया, साइगाउँ, जयसपुर लगायत नाकाबाट प्रवेश गरेका नेपाली विगत चार दिनदेखि अलपत्र अवस्थामा जमुनामा-रुपैडिया नाकामा बस्दै आएका थिए।
स्थानीय प्रशासनले बुधबार मध्यरातसम्म सीमा नाकामा रहेका ती नेपालीलाई भारतीय क्वारेन्टाइनमा पठाउनका लागि सम्झाउन प्रयास गरेको भए पनि त्यो सफल भएन।
उताबाट नेपालीले घर फर्किन पाउनुपर्छ भन्दै नाराबाजी गर्दै आएका थिए।
तर, उनीहरूलाई सहजै नेपाल प्रवेश दिने अधिकार स्थानीय प्रशासनसँग पनि थिएन।
‘सीमा नाका बन्द गर्ने सरकारी निर्णयविरूद्ध हामी चाहेर पनि जान सक्ने अवस्था थिएन,’ प्रजिअ खड्काले भने,‘त्यो बीचमा उहाँहरूले फर्किन मान्दै नमान्ने, बल्लबल्ल कुरा मिल्यो र आजदेखि समस्या समाधान भयो।’
कोरोनाभाइरसका कारण भारतमा पनि लकडाउन सुरू भएको हुँदा सबै बन्द छ।
रोजगारीका लागि पुगेका नेपालीलाई त्यहाँ बस्न खानको समेत समस्या भएपछि उनीहरू आफ्नो देश फर्किएको हुँदा सीमा नाकामै रोकिराख्नु मानवताको नाताले पनि नमिल्ने हुँदा उनीहरूका लागि अस्थायी क्वारेन्टाइनको व्यवस्थापन गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले जानकारी दिइन्।
‘बरु जंगलमा बस्छौं, खुला आकाशमुनि बस्छौं,तर, कुनै पनि हालतमा फेरि भारत फर्किनौं, बरु आफ्नै भूमिमा मर्छौं भन्ने अडान उहाँहरूको थियो,’ मगरले भनिन्‘त्यसैले दशगजा क्षेत्रको चौरमा भए पनि अस्थायी क्वारेन्टाइन बनाएर राख्नु परेको हो।’
उपमेयर मगरले दुई दिन अगाडि मात्रै ३ महिला र ५ बालबालिकालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको जानकारी दिइन्।
अशक्त, महिला र बालबालिका गरी ९ जनालाई आफूहरूको विशेष आग्रहमा नेपालगञ्ज उपमहानगरपालिकाको उनीहरूलाई प्रवेश दिइएको मगरले बताइन्।
जयसपुरमा अस्थायी क्वारेन्टाइनमा राखिएका १ सय ८१ जनाको खानादेखि सम्पूर्ण कुराको व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गर्ने उपमेयर मगरले जानकारी दिइन्।
‘उहाँहरूको सम्पूर्ण व्यवस्थापनको काम उपमहानगरपालिकाले गर्छ,’ उपमेयर मगरले भनिन्, ‘हामीले आजै दुई वटा मोबाइल शौचालय पनि लगेका छौं।’
खानेपानी संस्था, उद्योग वाणिज्य संघलगायत विभिन्न संघ संस्थाले सघाए पनि सम्पूर्ण व्यवस्थापनको जिम्मा उपमहानगरपालिकाले नै लिएको उनले जानकारी दिइन्।