गायक दीपक बज्राचार्य चैतको पहिलो साता अस्ट्रेलियाबाट फर्केपछि 'सेल्फ क्वारेन्टाइन' बसे। दुई साता परिवार र आफन्तबाट बेग्लै बसेका उनी अचेल छोरीसँग रमाइरहेका छन्।
हरेक साँझ पाँच बजे दीपक गितार बोकेर गीत गाउन तयार हुन थाल्छन्। उनलाई साथ दिन छेउमा गितार लिएर बस्छिन् उनकी छोरी चेरिसा। उनीहरू दुईको तालमेल र संगीत हरिरहेका हुन्छन् दीपकका छोरा डिअन।
दीपक आफ्नै गीत 'सानी' गाउन सुरू गर्छन् र चेरिसा उनलाई संगीतमा साथ दिन्छिन्। उसैगरी जब चेरिसा अमेरिकी गायक बेन.इ.किङ्को 'स्ट्यान्ड बाइ मी' गाउन थाल्छिन्। दीपक उनलाई संगीत र स्वरमा साथ दिन्छन्।
गायनमा पोख्त यी बाबु-छोरी कहिले आफ्नो घरको छतमा बसेर गीत गाउँछन्, त कहिले घरैभित्रको स्टुडियो वा बैठक कोठामा। करिब ६ दिनदेखि उनीहरूको साँझ यसैगरी बितिरहेको छ।
दीपक र चेरिसा कुनै गीत रेकर्डिङ वा म्युजिक भिडिओको सुटिङ गरिरहेका होइनन्। उनीहरूले लकडाउन समयका यो दैनिकी फेसबुकमा 'लाइभ पफर्मेन्स' का लागि गरेका हुन्।
शुक्रबारदेखि दीपकको आधिकारिक फेसबुक पेजमा यी बाबुछोरी आफ्ना दर्शकसँग अन्तक्रिया गर्दै गीत गाइरहेका छन्।
केही साताअघि दीपक र रिदम ब्यान्डका उनका साथीले क्वारेन्टाइन बसेका बेला पनि यसरी नै फेसबुकमा लाइभ प्रस्तुति गरेका थिए। १४ दिने क्वारेन्टाइन बसाइमा उनीहरूले आफ्ना दर्शकलाई फेसबुकबाटै सांगीतिक मनोरञ्जन दिए।
घर फर्किसकेपछि यही क्रम उनले छोरी चेरिसासँग जारी राखेका हुन्। दर्शकले बाबुछोरीको यो सांगीतिक तालमेल पनि उत्तिकै रुचाएका छन्।
'सेसन सुरू गरेको दोस्रो दिन करिब चार लाख मान्छेले लाइभ भिडिओ हेरिरहेका थिए। त्यसपछि झन् दर्शकको संख्या अझ धेरै बढ्दै गयो,' दीपकले सेतोपाटीसँग खुसी साट्दै भने, 'यति धेरै मन पराइदिनुहुन्छ होला भनेर सोचेको थिएनौं।'
फेसबुकमा चर्चा पाइरहेको दीपकको यो लाइभ भिडिओको श्रेय भने उनी आफ्नो छोरी चेरिसालाई नै दिन्छन्। ब्यान्डसँग गरेको प्रस्तुतिपछि घरमा पनि लाइभ सेसन गर्ने आइडिया चेरिसाले नै दिएकी दीपक बताउँछन्।
'अस्ट्रेलियाबाट फर्केर गरेको लाइभ भिडिओ सेसन चौध दिनपछि रोकियो। सबैले मनपराइरहेको सेसन एकाएक बन्द हुँदा चेरिसालाई चित्त बुझेको रहेनछ,' उनी भन्छन्, 'लकडाउन बेला आफ्ना दर्शकलाई सकरात्मक सन्देश दिइरहँदा र उहाँहरूलाई पनि केही रचनात्मक कार्य गर्न प्रोत्साहन पाउँदा सेसन रोक्नु गलत भएको भनिन्। उनले नै मलाई फेरि एक्लै भए पनि सेसन सुरू गर्न सुझाएकी हुन्।'
दीपकलाई छोरीको आइडिया मनपर्यो। तर उनी एक्लै गीत गाउन सहमत भएनन्। छोरीले दिएको आइडियालाई दीपकले उनैमाथि प्रयोग गर्ने सोचे। सँगै बसेर गीत गाउन भने। छोरीलाई आफ्नो धेरै समय दिन नपाएका बेला दीपकका लागि यो राम्रो मौका थियो।
सानैदेखि बुबाको गीत-संगीत सुनेर गाउन सिकेकी चेरिसाले बुबाको आग्रह टारिनन्। उनले बुबासँगै उनकै गीतमा एकपटक 'टुबोर्ग सेसन' पनि गरिसकेकी छिन्। प्रायः आफ्नै तालमा गीत गाइरहने चेरिसाको बानीले दीपकलाई ध्यान दिएर गीत नगाएको भनेर गुनासो पनि रहन्छ।
बुबाको यही इच्छा पूरा गर्न चेरिसा खुसी साथ गीत गाउन राजी भएको बताउँछिन्।
'क्वारेन्टाइनमा बसेका बेला बुबा र ब्यान्डले गरेको काम निरन्तरता दिन खोजेको हो,' चेरिसाले भनिन्, 'प्रायः गीत गाइरहेको हुन्छु। तर यसरी बुबा सँगै बसेर गीत गाएको पहिलो पटक होला।'
सुरूको सेसन गर्दा निकै डराएकी थिइन् चेरिसा। पछि दर्शकको राम्रो प्रतिक्रिया पाएर धेरै खुसी लागेको उनी बताउँछिन्।
उनीहरूले आफ्ना हरेक पोस्टमा 'ह्यास्टयाग म्युजिक मेडिकल' राखेका छन्। चेरिसाका अनुसार लकडाउन बेला प्रायः मान्छे खाली बसिरहेका हुन्छन्। यस्तो बेला नकरात्मक सोच आउने समाचार पनि धेरै आएको छ। गीत सुन्दा मानिसले दुःख बिर्सिने भएकोले यसलाई औषधिका रूपमा लिएर नाम राखिएको हो।
लकडाउन सुरू भएयता आफ्नो समय खाली बसेर खेर नफ्याँकेको चेरिसा बताउँछिन्।
१९ वर्षीया चेरिसा अहिले इस्लिङ्टन कलेजमा बि.बि.ए गरिरहेकी छिन्। हाल कलेज बन्द भएकाले उनी अनलाइन कक्षामा व्यस्त रहन्छिन्। बिहान १० देखि १ बजेसम्मको कक्षा सकेपछि कलेजका कार्यहरू गर्छिन्। साँझ पाँच बजे बुबासँग सेसनमा बस्छिन्।
साँझ पाँच बजे नै सेसन सुरू गर्नुको पनि छुट्टै कारण रहेको चेरिसाको भनाइ छ।
'नेपाल बन्द होस् वा लकडाउन। धेरै मान्छेहरू पाँच बजेपछि बाहिरको स्थिति बुझ्ने निउँमा निस्किन्छन्। हाम्रो उद्देश्य उहाँहरूलाई पाँचदेखि छ बजेसम्म एक घन्टा घरभित्रै मनोरञ्जन दिएर रोक्न सक्नु हो र हाम्रो उद्देश्य पूरा भइरहेको छ। सबै जना घर भित्रै बसौं र पाँच बजेपछि हामी सँगै फेसबुक लाइभमा कुरा गर्दै गीत गाउँला नि,' उनी भन्छिन्।