देशभरीका स्वास्थ्यकर्मीहरु यतिबेला कोरोना रोकथामका लागि जनचेतना फैलाउने अनि आवश्यक परेमा उपचार गर्ने भनेर तयारी अवस्थामा छन्। यस अर्थमा उनीहरु कोरोना बिरुद्धको लडाईमा सबैभन्दा अग्र मोर्चामा छन्।
अछामको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख सविता चौधरीलाई भने दुई खाले चटारो छ। एकातिर कोरोना भाइरस संक्रमण रोकथामको तयारी गर्नुछ भने अर्कातिर सुत्केरी सेवा पनि दिनुपर्छ। यस अर्थमा उनका लागि दुवै काम अनिवार्य हुन्।
मंगलबार मात्रै पनि उनले एक महिलाको सुत्केरी गराउन पर्ने थियो। लकडाउनको घोषणा भइसकेपछि उनले सुत्केरी गराएको यो दोश्रो घटना हो।
यो प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी सेवा समेत भएकाले थप व्यस्तता हुन्छ। साउन यता ८८ जना महिलालाई स्वास्थ्य केन्द्रले सुत्केरी गराएको उनले बताइन्।
गर्भवति महिलाहरुका लागि अत्यावश्यक सेवाहरु अस्पतालले रोकेको छैन।
'हामीले आवश्यक पर्यो भने मात्रै अस्पताल आउन भनेका छौँ।कहिलेकाहीँ पेटको बच्चा चलेको थाहा भएन भने भिडियो एक्सरे गर्न आउनैपर्छ', सविताले भनिन्, 'पेटमा नौ महिनाको बच्चा भएका महिलाहरुका लागि भने जुनसुकै बेलामा पनि हामीले सेवा दिन्छौँ।'
यो सँगै कोरोना भाइरस रोकथामबारे सर्वसाधरणलाई जनाकारी दिने काम त छदै छ। गाउँमा कोही बिरामी भएमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्वयमसेवीकालाई जानकारी गराउने व्यवस्था मिलाइएको छ।
सामान्य बिरामी रहेछ भने त्यहीबाट उपचार गरिन्छ। स्वाब निकाल्नै पर्ने शंकास्पद बिरामी रहेछ भने बयलपाटा अस्पतालसँग सहयोग माग्नुपर्छ। जेहोस उपलब्ध सिमित श्रोत र साधनका बाबजुद पनि कोरोना विरुद्धको लडाईमा उनी सहितको टोली तयार छ।
उनीहरुसँग जनप्रतिनिधिहरुको साथ र सहयोग पनि छ।
सविताका लागि अछामको अनुभव पनि बेग्लै छ। कैलालीको लम्कीमा जन्मि हुर्किएकी सविता अछाम आएको छ महिना भयो। त्योभन्दा पहिला उनले चार वर्ष डडेल्धुरा र बुटवलमा काम गरिन्। २०७१ सालमा स्टाफ नर्स पास गरेकी उनले २०७२ साल पुसदेखि सरकारी जागिर सुरु गरेकी हुन्।
लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कार्यरत सविता स्वास्थ्य सेवाका कर्मचारीको संयोजका क्रममा ६ महिना अगाडि सरूवा भएदेखि उनी अछाममै छिन्।
हुनत सविताको घर र अछाम एउटै प्रदेशमा पर्छ। अछामदेखि बसाई सरेकाहरु त्यहाँ गएर बसेका पनि छन्। तर लम्की र अछामको रहनसहन भाषा बिल्कुलै फरक छ।
केही समय त उनलाई त्यहाँको दैनिकी र बोलीचालीमा भिज्न समय लाग्यो। अझै पनि उनले प्रयास गरिरहेकी छन्। तर विस्तारै सहज हुँदै गएको छ।
उनलाई सबैभन्दा अफ्ठ्यारो महिनावारी भएको बेलामा भयो। उदार परिवारमा हुर्किएकी सवितालाई महिनावारी भएको बेलामा धाराको पानी समेत भरेर दिइएको थियो। त्यसपछि त उनले महिनावारी भए भनेर भन्न समेत छोडेकी छन्।
दुर्गम गाँउका महिलाहरुलाई अझै पनि अनावश्यक दुःख रहेको उनले अनुभव गरेकी छन्।
'सहरमा त एक सन्तान, बढीमा दुई सन्तानभन्दा धेरै त देख्न मुस्किल भइसकेको छ,' उनले भनिन्, 'यहाँ त छोराको लागि धेरै छोरी जन्माउने अनि एउटा मात्रै छोरा भयो भने अर्को छोराको लगि पनि सन्तान जन्माइरहने प्रवृत्ती अहिले पनि रहेछ।'
परिवार नियोजनबारे महिलालाई बुझाउन नसक्दा उनलाई सबैभन्दा बढी पिडा हुन्छ।
'यहाँ त परिवार नियोजनको अस्थाई साधन प्रयोगका लागि श्रीमानको अनुमति चाहिने रहेछ। अस्थाई साधन प्रयोग गर्न नदिएपछि असुरक्षित गर्भ बस्ने खतरा रहीरहने भयो। त्यसले गर्दा महिलाहरु गर्भपतन समेत गर्न बाध्य भइरहेका छन्,' उनले भनिन्।
महिलालाई कमजोर बनाइन खोजिएको अनुभव समेत उनीसँग रहेछ। अछाम गएपछि प्राथमिक स्वास्थ्य चौकीको प्रमुख उनीभन्दा एक तह तलका अएबलाई बनाइन लागिएको रहेछ। तर उनले यो कुरामा विरोध जनाइन्। उनको विरोधले काम गर्यो।
उनलाई नबनाउन खोज्नेहरुले मंगलसेन गइरहनु पर्छ, हिडिरहनुपर्छ। त्यसैले महिलालाई गाह्रो हुन्छ भनेर तर्क गरेका रहेछन्। सविताले असहमती जनाएपछि भने उनलाई पछाडी पार्न खोज्नेहरु पछि हटेका रहेछन्।
महिला स्वास्थ्यमै केन्द्रित भएर काम गरिरहेकाले उनी महिलाका समस्याबारे अझै जानकार छिन्। उनका अनुसार उनको कार्यक्षेत्रका ५० प्रतिशत महिलाले महिनावारी हुँदा प्याड लगाउँदैनन्।
'धेरै महिलाहरु पेन्टी समेत लगाउँदैनन्। डेलिभरी गराउन आउनेहरुलाई हामीले प्याड र पेन्टीको प्रयोगमा अनिवार्य गर्छौँ तर पनि सकिएको छैन,' उनले समस्या सुनाइन्।
तीतामिठा अनुभव सँगाल्दै अछाममा सविता रमाइरहेकी छन्। किनकी सानैदेखिको स्टाफ नर्स बन्ने सपना साकार भएको छ।
सेवा गर्ने पेशा रोजेकै कारणले उनी यो बेलामा पनि पटक्कै बिचलित छैनन्। बरु मन बलियो पारेर जोखिम मोल्न तयार भएर बसेकी छिन्।
विश्वभर कोरोना आतंक मच्चिएको छ। यस्तो अवस्थामा उनका घरपरिवारले उनको चिन्ता नलिने कुरै भएन। घरबाट हरेक दिन फोन आउँछ, कहिलेकाही उनी आफै पनि गर्छिन्।
यस्तो बेलामा सविताको दैनिकी भने सुत्केरी गराउन आवश्यक परेमा गर्भवति महिलाको भिडियो एक्सरे गर्ने अनि कोरोना भाइरस रोकथामका लागि प्रयास गर्नु रहेको छ।
कोरोना रोकथामको प्रयासमा जनप्रतिनिधिहरुले दिएको साथ र सहयोगले उनलाई काम गर्ने हौसला बढेको छ।
'गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुले हामीसँग निरन्तर कुराकानी गरिरहनु भएको छ। हामीलाई सधै हौसला दिइरहनुभएको छ,' उनले भनिन्, 'सरकारले घोषणा गरेको अतिरिक्त भत्ता र बीमाको कार्यान्वयन गर्ने जिम्मेवारी लिन्छौँ समेत भन्नुभएको छ।'
निरन्तरको प्रयासले हात धुने स्यानिटाइजर लगाउने अनि मास्कको प्रयोग गर्नेहरु बढीरहेका छन्। सँगै मानिसहरु जथाभावी हिड्न कम भएको छ। यसले मानिसहरुमा सचेतना बढ्दै गएको संकेत दिएको छ।