कोरोना संक्रमित युवासँगै भारतबाट आएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ। ती चार जना युवा कैलालीका संक्रमित व्यक्तिसँगै गौरीफन्टा नाका हुँदै भारतबाट आएका हुन्।
तुलसीपुरको विजौरीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका ती चारसहित अरु चार जनाको रिपोर्ट नेगेटिभ आएको छ।
रिपोर्ट नेगेटिभ आएकामध्ये दाङका सात र प्यूठान जिल्लाका एक युवा छन्। यीमध्ये तीन युवा दुबईबाट र अरु भारतबाट आएका हुन्।
परीक्षण रिपोर्ट नेगेटिभ आएका आठै जनालाई बिहीबार नै डिस्चार्ज गरिने दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए। भारतबाट संक्रमितसँगै आएका दाङका अरु दुई जनालाई प्रहरी प्रशासनले अझै पहिचान गर्न सकेको छैन।
विजौरीस्थित कोरोना विशेष अस्पतालबाट मंगलबार राति २० जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको थियो। अब अन्य १२ जनाको रिपोर्ट शुक्रबारसम्म आउने अपेक्षा गरिएको जिल्ला कोरोना फोकल पर्सन चन्दले जानकारी दिए।