तुलसीपुरको विजौरीस्थित कोरोना विशेष अस्पतालबाट स्वाब संकलन गरी पठाइएका २० जनाकै रिपोर्ट नेगेटिभ आएको छ।
बिहीबार दाङका सात जना र प्यूठानका एक गरी आठ युवाको रिपोर्ट नेगेटिभ आएको थियो।
शुक्रबार थप १२ जनाको रिपोर्ट नेगेटिभ अएको बेलझुण्डी कोरोना विशेष अस्पतालका सदस्य सचिव डा. सर्बेश शर्माले जानकारी दिएका छन्।
रिपोर्ट नेगेटिभ आएका २० जनामध्ये कैलालीका संक्रमित युवासँगै गौरीफन्टा नाकाबाट आएका ११ जना छन्। दाङका आठ र प्यूठानका तीन युवा एकैदिन संक्रमित युवासँगै भारतबाट नेपाल आएका थिए।
सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु सबैलाई शुक्रबार नै डिस्चार्ज गर्ने तयारी भइरहेको कोरोना विशेष अस्पतालका सदस्य सचिव शर्माले बताए।
यसैबीच गौरीफन्टा नाकाबाट संक्रमितसँगै आएका दाङका दशमध्ये आठ जना मात्रै हालसम्म फेला परेका छन्।
अन्य दुई जना को हुन्? भन्ने अझैं पहिचान हुन नसकेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन्। प्रजिअ रिजालले उनीहरुको ठेगाना नै गल्ती भएको हुन सक्ने आशंका व्यक्त गरे।