२०६६ सालको कुरा हो। निकिता आचार्य र किरण तिम्सिना एउटा सूचना प्राविधिक कम्पनीमा काम गर्थे। निकिता व्यवसाय प्रशासनमा स्नातक गर्दै थिइन्। किरण कम्प्युटर तथा सूचना प्रणालीतर्फ स्नातक अन्तिम वर्षमा थिए।
उनीहरूको भेट त्यही अफिसमा भयो। उस्तै रूचि भएकाले कुरा मिल्यो, राम्रो सम्बन्ध गाँसियो। सबभन्दा ठूलो कुरा त, उनीहरू दुवै नेपालमै बसेर प्राविधिक क्षेत्रमा केही नयाँ काम गर्न चाहन्थे।
अरू विद्यार्थी पढाइमा व्यस्त रहँदा उनीहरू नयाँ आइडियामा घोत्लिरहेका हुन्थे। तीमध्ये अनलाइन सपिङ सुरू गर्ने आइडियामा दुवैको मत मिल्यो।
'केटी भएर होला, मलाई सपिङ निकै मनपर्छ। विदेशी सपिङ साइटहरू चहारिरहेको हुन्छु। नेपालमा भने त्यस्ता साइट कम छन्,' २६ वर्षीया निकिताले सेतोपाटीसँग भनिन्, 'हामीलाई ई–व्यवसायको राम्रो सम्भावना छ भन्ने लाग्यो।'
त्यही सोचको परिणाम हो- 'अर्बन गर्ल', जसले निकिता र किरणलाई 'फोर्ब्स' पत्रिकाको 'एसियाका ३०० प्रभावशाली युवा' सूचीमा पुर्याएको छ।
एक साताअघि सार्वजनिक उक्त सूचीमा पाँच जना नेपाली छन्। निकिता र किरण 'रिटेल एन्ड इ-कमर्स' विधाका ३० जनामा सूचीकृत भएका हुन्।
अनलाइन सपिङ प्लेटफर्म 'अर्बन गर्ल' को स्थापना २०६८ सालमा भएको हो। अहिले उनीहरू 'युजी बजार' मा पनि व्यस्त छन्। यसमार्फत् टिसर्ट, पानीको बोतल, मेकअप, घर सजावट र विद्युतीय सामान लगायत बिक्री हुँदै आएको छ।
उनीहरूले जम्मा २० हजार रूपैयाँमा 'अर्बन गर्ल' सुरू गरेका हुन्। यसले स्थानीय व्यवसायीका सामान अनलाइन बेच्ने योजना बनाएको थियो।त्यहीअनुरूप पहल पनि गरे। तर सोचेजस्तो भएन। स्थानीय व्यवसायीले आफ्ना सामान अनलाइन बिक्छ भन्ने पत्याउँदै पत्याएनन्।
'पसलबाटै बिक्री भइरहेका बेला अनलाइनमा झन्झट हुन्छ भनेर धेरैले हामीसँग काम गर्न चाहेनन्,' २८ वर्षीय किरणले भने, 'किन्ने ग्राहकको पनि टुंगो थिएन।'
बजारले विश्वास नगरे पनि निकिता र किरणले हार मानेनन्।
स्थानीय व्यवसायीले 'अर्बन गर्ल' मा सामान राख्न नमानेपछि उनीहरूले चीन, हङकङ लगायत देशका चिनेजानेका मान्छेबाट मगाए। सुरूआती दिनमा महिलाका गहना, सजावट सामग्री र केही कपडा थिए। खरिदकर्ताबाट अर्डर आए आफैं डेलिभरीमा खट्थे।
'हामीले राखेका सामानको गुणस्तर राम्रो थियो। महिनादिनमै अर्बन गर्ल थुप्रै महिलाको अनलाइन सपिङ रोजाइमा पर्यो,' यो घटनाले थप हौसला मिलेको निकिताले बताइन्।
उनीहरूले 'कस्टमाइज्ड' कपडादेखि मेकअप, वाटर बोतल र महिला उद्यमीहरूले बनाएका हस्तकला सामग्री पनि वेबसाइटमा राखेका छन्। अन्य व्यवसायीका लागि आफ्ना सामान राख्ने प्लेटफर्म पनि बनेको छ। यसको वेबसाइट 'युजी बजार' मार्फत् विभिन्न कम्पनीका सामान बिक्री हुँदैछ।
यही क्रममा 'अर्बन गर्ल' ले २०७१ जेठतिर आफैं केक बनाउन परीक्षण गर्यो। झन्डै एक वर्षपछि 'युजी केक' मार्फत् बजारमा केक वितरण गर्न थाल्यो। सुरूमा केक बनाउँदा जम्मा दुई–तीनवटा अर्डर लिएको निकिता सम्झन्छिन्। अहिले दिनकै दर्जन अर्डर आउँछन्।
उनीहरूले केक बनाउने काममा कान सुन्न नसक्ने महिलालाई रोजगार दिएका छन्। यस्ता विभिन्न काममा ५० जनाभन्दा बढी आबद्ध रहेको निकिता बताउँछिन्।
लकडाउन सुरू भएदेखि उनीहरूको व्यवसाय बन्द छ। आउँदो साताबाट सोमबार र बिहीबार अर्डर खुला हुनेछ। त्यसपछि युजीको कुकिज, ब्रेड लगायत बेकरी सामग्री डेलिभरी गर्न थालिनेछ।
'अर्बन गर्ल' नेपालको अनलाइन बजारमा संलग्न भएको झन्डै आठ वर्ष भयो। यसबीच लगातार पारिवारिक समर्थन पाएको निकिता बताउँछिन्। किरणलाई भने परिवारलाई विश्वास दिलाउन समय लाग्यो।
'पढाइअनुसार जागिर खाए हुन्थ्यो जस्तो कुरा गर्नुहुन्थ्योे,' किरणले भने, 'अर्बन गर्लले बजार लिन थालेपछि उहाँहरू पनि ढुक्क हुनुहुन्छ।'
फोर्ब्समा सूचीकृत भएपछि थप जिम्मेवारी बढेको उनीहरूले महशुस गरेका छन्। 'खुसी सँगसँगै चुनौती बढेको छ,' निकिताले भनिन्, 'आफ्नो नाम परेपछि परिवारसँग खुसी त साटियो, तर अर्बन गर्लको टोलीसँग सेलिब्रेसन गर्न पाएका छैनौं।'
'लकडाउन हटेपछि आफ्नो टोलीसँग मिलेर खुसी बाँड्ने छौं,' उनले भनिन्।
यो पनि पढ्नुस्: