देवी आचार्यको जीवन अहिले सामान्य दिनझैं सहज छैन। लकडाउनपछि बदलिएको स्थितिले उनको दिनचर्यामा प्रभाव परेको छ।
यो परिस्थितिमा समस्या पर्ने उनी एक्ली होइनन्, तर उनको अवस्था हामीमध्ये धेरैको भन्दा जटिल छ।
स्पाइनल कर्ड इन्जुरी भएकी देवी ह्विल चेयरको सहायतामा हिँडडुल गर्छिन्। १७ वर्षअघि भएको जीप दुर्घटनापछि उनी यसरी नै आफूलाई सम्हालिरहेकी छन्।
शारीरिक रूपमा अशक्त हुनुलाई उनले कहिल्यै आफ्नो कमजोरी मानिनन्। दुर्घटना हुनुअघि उनले देखेको विदेश गएर काम गर्ने सपना त टुटेको थियो। त्यो सपना पूरा हुन पाएन, उनको जीवनले अर्कै मोड लियो।
‘दुर्घटनापछि शारीरिक रूपमा अशक्त त भएँ नै, त्यसको चार वर्षसम्म डिप्रेसनको शिकार पनि भएँ,’ देवीले सेतोपाटीसँग भनिन्, ‘एक-दुईपटक त आत्महत्या प्रयास पनि गरेँ। तर मलाई आफ्नो जीवन यसरी अर्थहीन अन्त्य गर्न नहुने बोध भयो।’
बुटवलमा आफ्नो परिवारसँग बस्दै आएकी देवी जीवन जिउने नयाँ अर्थ खोज्दै काठमाडौं आइन्। पहिले आफू मात्र अशक्त महशुस गरेकी उनले काठमाडौंमा अरू पनि थुप्रै देखिन्। तीमध्ये खेलकुदमै लागेकाहरूले उनलाई ऊर्जा दिए। उनले पनि जीवनको नयाँ सुरूआत गर्ने आत्मबल पाइन्।
देवी स्पाइनल कर्ड स्पोर्टस् एसोसिएसनका उपाध्यक्ष हुन्। आफ्नो आँटिलो स्वभावकै कारण आज यो ठाउँसम्म पुग्न सफल भएकी छन्। तर, यी सबैका बाबजुद शारीरिक अशक्तताले अप्ठ्यारा समयमा झनै गाह्रो बनाइदिन्छ।
देवीका लागि लकडाउन त्यस्तै समय भएको छ।
‘लकडाउनमा शारीरिक रूपले अशक्त व्यक्तिहरूलाई निकै गाह्रो छ। अझ सीमान्तकृत समूहको अवस्था झनै नाजुक छ,’ आफ्नो समस्या पोख्दै देवीले भनिन्।
उनका अनुसार अहिले दाल, चामल जस्ता खाद्यान्न चाहिएको छ नै। त्योभन्दा बढी उनलाई डाइपर, युरिन ब्याग, पाइप, ग्लोभ्स, स्यानिटाइजर अतिआवश्यक परेको छ।
‘केही दिन खानपिनबिना बाँच्न सकिन्छ। तर यो अवस्थामा ती सामग्रीबिना एक दिन पनि बस्न गाह्रो पर्छ,' उनी भन्छिन्, ‘कुनै पनि एउटा सामान अभाव भयो भने हाम्रो सामान्य जीवन असन्तुलित भइदिन्छ।’
परिवारबाट टाढा रहेकी देवी नयाँ बानेश्वरमा एक्लै कोठा लिएर बसेकी छन्। उनले लकडाउन एक साताको हुने सूचना पाएपछि चाहिने सामग्री राखेकी त थिइन्। तर लकडाउन लम्बिएसँगै ती सामान पनि सकिन थालेको बताउँछिन्।
घरमा चाहिने फाट्टफुट्ट सामान किन्न जान सक्ने उनको अवस्था छैन। कसैले कोठासम्म ल्याइदिने पनि छैनन्। उनका अनुसार अरू बेला काम गर्ने सहयोगी पनि लकडाउन बेला आउन सकेकी छैनन्।
उनलाई लुगा धुन, नुहाउन र शौचालय जान समस्या पर्छ। यिनै गाह्रो हुने कामका लागि सहयोगी राखेकी थिइन्। अहिले खाना पकाउन र घरका सबै कामदेखि आफ्नो हेरचाह उनी एक्लैले गर्नु परेको छ।
यता मेडिकल खर्च महँगो भएर सबै एकैचोटि जुटाउन पनि समस्या परेकाले छुट्टै तनाव छ उनलाई।
‘अरू बेला मेडिकल सामग्रीमा करिब बीस हजार खर्च हुन्थ्यो। अहिले ऋण लिएर किन्छु भन्दा पनि पाइँदैन,’ उनी भन्छिन्, ‘खाद्यान्न त पसलमा फोन गरेर मगाइरहेछु, तर मेडिकल सामान पाएको छैन। यो समय सबभन्दा कठिन भएको छ।’
देवीको यो अवस्थाका अगाडि अन्य शारीरिक अशक्त व्यक्तिको समस्या झनै नाजुक रहेको उनको भनाइ छ। संस्थाको उपाध्यक्ष भएपछि उनीमाथि कयौंले सहयोगको अपेक्षा राखेका छन्। तर यो समयमा उनी आफैं असमर्थ छिन्।
उनले भनिन्, ‘युरिन पाइप नपएर कयौं व्यक्तिलाई युरिन इन्फेक्सन भइसकेको छ रे। धेरै हलचल गर्न नसकेर एक ठाउँमा बसिरहँदा रोगहरू झनै बढिरहेको छ। एन्टिबायोटिक पाएको छैन र अस्पताल जाने स्थिति पनि छैन। मानिसहरू मलाई फोन गरेर आफ्नो समस्या भन्नुहुन्छ। तर म यहाँ केही सहयोग गर्न नसक्ने अवस्थामा छु।’
यो बेला सरकारले खाद्यान्न सामानसहित शारीरिक अशक्तता भएका व्यक्तिका लागि मेडिकल सामग्रीको पनि व्यवस्था गरिदिनुपर्ने उनको माग छ। स्थानीय निकाय तथा वडा तहबाट आफ्नो टोलमा रहेका सीमान्तकृत समूहका व्यक्तिलाई अतिआवश्यक सामान प्रदान गरिदिनुपर्ने उनी बताउँछिन्।
भन्छिन्, ‘म आफू त जसोतसो बसौंला। तर मजस्तै अन्य व्यक्ति जसको नाजुक अवस्था छ, तिनलाई मध्यनजर गर्न निकै जरुरी छ।’