वीरगन्जबाट कैलाली पुगेकी एक ६५ वर्षीया कोरोना संक्रमित महिलासँगै यात्रा गरेका दाङका थप पाँच जनाको पनि पहिचान भएको छ।
जिल्लाको राप्ती गाउँपालिकाका पाँच जनालाई मंगलबार पहिचानपछि आइसोलेसनमा ल्याइएको छ।
चैत १७ गते संक्रमित महिलासँगै वीरगन्जबाट दाङको सबैभन्दा पूर्वी बजार भालुवाङसम्म उनीहरुले सँगै यात्रा गरेको खुलेपछि प्रहरीले खोजेर आइसोलेसनमा ल्याएको हो।
दाङका कोरोना फोकल पर्सन कमल चन्दले संक्रमित महिलासँगै यात्रा गरेका पाँच जनालाई दिउँसो मात्रै तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा पुर्याइएको सेतोपाटीलाई बताए।
यसअघि सोमबार मात्रै संक्रमितसँगै यात्रा गरेकी घोराही उपमहानगरपालिका वडा नं. १४ गोरखा टोल निवासी ६२ वर्षीया एक महिलासहित उनका परिवारका थप पाँच सदस्यलाई बेलझुण्डी अस्पतालको आइसोलेसनमा लगिएको थियो।
कैलाली पुगेकी महिलामा संक्रमण पुष्टि भएलगत्तै उनीसँगै यात्रा गर्नेहरुको खोजी स्थानीय प्रहरी प्रशासनले तीव्र पारेको हुँदा तत्कालै खोजी संभव भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।
यसैबीच दाङबाट नौ जना व्यक्तिको स्वाब परीक्षण गर्न मंगलबार भैरहवा पठाइएको छ। वीरगञ्जबाट कैलाली पुगेकी संक्रमित महिलासँगै यात्रा गरेकी घोराहीकी एक महिला, उनका परिवारका थप पाँच सदस्य, विदेशबाट आएका राजपुर गाउँपालिकाका दुई युवा र नवलपरासी घर भई घोराहीस्थित सगरमाथा सिमेन्टमा कार्यरत एक युवाको स्वाब परीक्षणको लागि मंगलवार भैरहवा पठाइएको हो।
बेलझुण्डी कोरोना विशेष अस्पतालका सदस्य सचिव डा.सर्वेश शर्माले पाँच जनालाई आइसोलेनमा ल्याउनुभन्दा पहिले नै नौं जनाको स्वाब संकलन गरी पठाइएको जानकारी दिए।
मंगलबार दिउँसो आइसोलेसनमा ल्याइएका थप पाँच जनाको स्वाब बुधवार वा अर्को कुनैदिन पठाउन सकिने डा. शर्माले जानकारी दिए। हाल बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा १४ लाई राखेर उपचार भइरहेको उनले जानकारी दिए। आइसोलेसनमा रहेका सबैको अवस्था सामान्य रहेको डा. शर्माले बताए।