कोरोना संक्रमण फैलिन नदिन पूरै देश अहिले पनि लकडाउनमा छ । यद्यपि प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाममा नै लकडाउनको उल्लंघन भई रहेको देखिएको छ।
मंगलबार धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको अध्यक्षतामा बसेको ‘क्राईसिस म्यानेजिङ सेन्टर’ को जिल्ला स्तरीय योजनाको बैठकले खाद्यान्न, इन्धन, औषधी, दुध, खानेपानी, तरकारीसहितका अत्यावश्क उपभोग्य वस्तु बिहान ५ बजेदेखि अपराह्न ४ बजेसम्म खरिदबिक्री गर्न सकिने निर्णय गरेपछि उक्त निर्णयको फायदा अन्य व्यवसाय गर्नेहरुले समेत उठाउन थालेका हुन्।
अत्यावश्यक सामाग्री खरिद बिक्री गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने निर्णयमा उल्लेख गरिए पनि कार्यान्वयनमा भने यी कुराहरु लागू भएको देखिएन।
मंगलबारसम्म लकडाउन कार्यान्वयन गराउन पूर्ण रुपमा कडाई गरिएपनि जनकपुरधाममा सेन्टरको निर्णयपछि बुधबारदेखि बजारमा चहलपहल बढेको छ।
सेन्टरको बैठकले अत्यावश्यक उपभोग्य वस्तुहरु खरीद विक्री गर्ने पसलहरु मात्रै खोल्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए।
उनले भने ‘ बिहान र साँझ मात्रै पसलहरु खुल्ला हुँदा अत्याधिक भीड़भाड़ हुने भएकोले बिहान ५ बजेदेखि अपरान्ह ४ बजेसम्म अत्यावश्यक उपभोग्य सामाग्रीहरुको किनमेलका लागि खुल्ला गर्ने निर्णय गरेका हौँ तर यसबाहेकका अन्य पसलहरु खोल्न पूर्ण रुपमा रोक लगाएका छौँ, यस क्रममा कपडा पसल खोल्ने एकजना व्यापारीलाई समातेका पनि छौँ।’
पसलका साथै सवारी साधन समेत गुड्न थालेका छन् । यता सेन्टरको उक्त निर्णयको यहाँका कतिपय स्थानीयले विरोधसमेत गरेका छन्।
कोरोना संक्रमणको खतरा बढिरहेको बेला लकडाउनलाई थप कडाइ गर्नुपर्नेमा दिनभरि पसल खुल्ला गर्ने निर्णयले जोखिम बढाउने काम भएको स्थानीय सरोज मिश्रले बताए ।
कोरोना संक्रमण रोकथामका लागि थप कडाईको आवश्यकता रहेको बेला यस्तो निर्णयले लकडाउनको धज्जी उडाएको उनको भनाइ छ ।
यता प्रजिअ निरौलाले बहाना बनाएर सडकमा हिँड्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।