रत्नप्रसाद श्रेष्ठ अलपत्र मजदुरको पीडामा मल्हम लगाउन दिनहुँजसो लमहीस्थित अर्जुनखाेला पुग्छन्। लामो गन्तव्य तय गरेर पूर्व–पश्चिम राजमार्गमा पैदल हिँड्नेको सास्तीलाई कम गर्न उनी खटिन्छन्।
उनले राजमार्गमा अलपत्र परेका धेरै पैदल यात्रुलाई दाङको सीमाना पार गराउँदै आएका छन्। व्यक्तिगत खर्चमा लगभग दुई हजार पैदल यात्रुलाई दाङको सीमाना पार गराएको उनको अनुमान छ।
श्रेष्ठले आफ्ना ८ वटा ट्रकलाई पैदल हिँड्ने मजदुरको उद्दारका लागि प्रयोग गरेका छन्।
‘टाउकोमा पोको पुन्तरो, पिठ्यूमा नानी लिएका, खुट्टा सुन्निएर चप्पल समेत लगाउन नमिल्ने भएपछि खाली खुट्टा र भोकभोकै हिँडिरहेका मानिस देखेपछि म त्यो टुलुटुलु हेरेर बसिरहन सकिनँ,’– श्रेष्ठले फोनमा भने ‘मैले तत्कालै फोन गरेर चालकलाई बोलाएर उनीहरुलाई पठाउन सुरु गरेको हुँ।’
धनीलाई प्लेन चार्टर गरेर ल्याउने सरकारले मजदुरलाई रातदिन सडकमा हिँड्दा पनि कुनै वास्ता नगरेको बुझाई श्रेष्ठको छ।
‘राज्यको प्रवृत्ति हेर्दा धनी र गरिव तथा मजदुरलाई गर्ने व्यवहार फरक जस्तै देखियो,’ श्रेष्ठले भने ‘ स्थानीय सरकारले पनि पैदल हिँड्नेलाई वास्ता नगरेको देखेपछि मैले मानवीय नाताले सहयोगी हात अगाडि बढाएको हुँ।’
देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका श्रेष्ठले आसपासका जिल्लाका उद्योग बाणिज्य संघका पदाधिकारी, प्रहरी प्रशासनसँग समन्वय गर्दै पैदल यात्रुलाई गन्तव्यतिर पठाउन सहयोग गर्दै आएका छन्।
सुरु– सुरुमा बर्दिया र नेपालगन्जसम्म पनि मानिसहरुलाई छोड्न ट्रक पठाएका उनलाई स्थानीय प्रहरी प्रशासनले पनि असहयोग गरेनन्।
एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने भएपछि उनले पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको सबैभन्दा पूर्वी बजार भालुवाङ र आसपासको क्षेत्रबाट बाँकेसँग सीमाना जोडिएको शिवखोलासम्म यात्रुलाई लैजाने काम गर्न थाले।
यसरी सर्वसाधारणलाई ओसार्न उनले कहिलेकाही छुट्टै चालकहरु पनि भाडामा लिए। कहिले छुट्टै ढुवानीका ट्रकलाई आग्रह गरेर मानिसलाई गन्तव्यतिर पठाए। कति चालकलाई व्यक्तिगत रुपमा पैसा दिएर पनि मनाए। एकदिन भालुवाङवाट ५ हजार भाडा दिएर बसमा मानिस छोड्न पठाए।
उनले लकडाउनलाई उल्लंघन गर्न थालेपछि एकदिन लमहीका मेयर कुलबहादुर केसीले राजमार्ग सिल गर्ने हुँदा सर्वसाधारण नपठाउन भने। तर उनले मेयरलाई नै सम्झाए र समन्वय गर्दै आए।
‘कि मजदुरलाई राज्यले गन्तव्यमा पठाउनुपर्थ्यो, त्यसो नभए सम्वन्धित ठाउँमै क्वारेन्टिनमा बस्ने तथा खानाको उचित प्रवन्ध गर्नुपर्थ्यो’ उनले भने ‘लकडाउन भनेर राजमार्गमा हिँड्न दिनु पनि त उल्लंघन नै हो।’
पछिल्लो समय राज्यले नै बाटोमा अलपत्र परेकालाई उद्धार गर्न दिएको निर्देशनलाई कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।