नगराइन नगरपालिका वडा नम्बर २ की घुरनी सदाकी श्रीमान् कामविहीन भएको एक महिना भयो।
लकडाउनले काम ठप्प भएपछि उनकै कमाइबाट पालिएका सात जनाको परिवार अहिले समस्यामा छ।
विहान-बेलुकी छाक टार्न पनि मुश्किल यो परिवारले राहत पाएको छैन।
‘कुनै दिन खाना खान्छौं कहिले भोकै बस्नुपर्छ,’ घरनीले सेतोपाटीसँग भनिन्, ‘साबुन र मास्क राहतमा दिएका थिए। खानेकुरा दिएनन्।’
काम गरेर खाने आफ्नो परिवार लकडाउनका कारण घरबाहिर जान नसकेको उनले बताइन्। ‘कुनै दिन त सबै जना भोकै सुत्नुपर्छ,’ उनले गुनासो गरिन्।
उनका छिमेकी पुनिता देवीको घरमा पनि खाद्यान्न छैन। ‘भात खान चामल छैन। तरकारी पनि छैन। अलिकति पीठो थियो, त्यहीले रोटी खाएका थियौं,’ उनले भनिन्।
पीठो छउञ्जेल एक छाक खाएको उनले बताइन्। उनले पाँच जना परिवारलाई विहान-बेलुकी छाक टार्न नसकेको बताइन्।
नगरपालिकाले राहत वितरण गर्नुपर्ने उनले बताइन्। ‘नगरपालिकाले अन्त त खाना पकाएरै खुवाएको छ रे,’ उनले भनिन्, ‘हाम्रातिर नगरपालिका पनि आएन।’
नगराइन नगरपालिकाका प्रमुख परमेश्वर यादवले हुने खानेहरू पनि राहत माग्न आएकोले समस्या परेको बताए।
‘राहत नचाँहिनेहरू पनि माग गरेका छन् यसले वास्तविक राहत चाहिनेलाई समस्या भएको हामीले बुझेका छौं,’ उनले भने।
विवाद हुने डरले राहत वितरण नगरिएको उनले बताए। राहतका लागि ५ हजारभन्दा बढी घरपरिवारको लगत संकलन भएको छ। दैनिक ज्यालामजदुरी गरि खानेलाई मात्रै राहत दिइने उनले बताए।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जिल्लाभित्र नौ वटा स्थानीय तहले पहिलो चरणको राहत वितरण गरिसके पनि केही तहमा भने वितरण हुन नसकेको बताए।
जनकपुरधाम उपमहानगर, नगराइन नगरपालिकासहितका स्थानीय तहले पहिलो चरणकै राहत वितरण गरेका छैनन्। ‘राहत बाँड्ने काम स्थानीय तहको हो। हामीले समन्वय मात्रै गर्न सक्छौं,’ उनले भने।
राहत वितरण नगरेको विरोधमा जनकपुरधाम उपमहानगरका १७ जना वडाध्यक्षले केही दिनअघि प्रमुख लालकिशोर साहलाई ध्यानाकर्षण गराएका थिए।