रूकुम पश्चिममा दश दिनमै १४ बेडको पक्की अस्पताल बनेको छ।
जिल्लाको आठबीसकोट नगरपालिकाको राडीबजारमा आरसिसी ढलानयुक्त कोरोना अस्पताल निर्माण पूरा भएको मेयर गोर्खबहादुर केसीले सेतोपाटीलाई जानकारी दिए।
अस्पतालका १४ बेडमध्ये ६ वटा कोठा एट्याच बाथरूमसहितका छन्। त्यसमा एयर कन्डिसन सुविधा, तातोपानी आउने प्रविधि र भाइटल साइन मनिटर जडान गरिएको छ।
विशेष वार्डमा एक/एक वटा बेड राखिएको छ। एउटा हल छ। त्यसमा थप ८ बेड राखिएको छ। केसीका अनुसार अर्को एउटा कोठा भने नर्स तथा डाक्टरको प्रयोजनका लागि निर्माण गरिएको छ। मेयर केसीले प्रत्येक कोठामा टेलिफोन जडान गर्ने योजना रहेको बताए।
‘चैत २५ गतेबाट अस्पताल निर्माण थालेका हौं,’ केसीले भने ‘हामीले वैशाख ४ गते नै ढलान तथा भित्ता प्लाष्टरको काम सकेका हौं।’
वैशाख ६ गते प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री जर्नादन शर्मा (प्रभाकर)ले अस्पताल उद्घाटन गर्ने तयारी भए पनि एकाएक नेकपाभित्र उत्पन्न असहज राजनीतिक घटना क्रमले शर्मा आउन नसकेको मेयर केसीले बताए।
उनले वैशाख १८ बाट सेवा सुरू गर्ने योजनाका साथ काम भइरहेको जानकारी दिए।
‘प्रभाकर कमरेड १८ गतेसम्म पनि आउन नसके जिल्ला समन्वय समितिका संयोजक राजकुमार शर्माबाट अस्पतालको उद्घाटन गरेर सेवा सुरू गर्ने सोच बनाएका छौं,’ मेयर केसीले भने।
कोरोना अस्पतालको भौतिक पूर्वाधार निर्माणको काम पूरा भए पनि आवश्यक मेडिकल उपकरण भने सबै आइसकेको छैन।
‘हामीले मागेका मेडिकल उपकरण आउने क्रम जारी छ,’ केसीले भने ‘सोमबारसम्म ती उपकरण आइपुगे जडान गर्न अरु एक-दुई दिन लाग्न सक्छ।’
अस्पतालका लागि ८ वटा बेड भने आइसकेको जानकारी दिए।
जेनेटर, अक्सिजन मेसिन, पिपिई, एउटा बच्चा र एउटा ठूला मानिसको लागि गरी दुइटा आइसियू बेड, वाटर हिटरजस्ता ३६ लाख रुपैयाँ बराबरका सामाग्री आउन बाँकी रहेको उनले बताए।
मेडिकल उपकरण बाँकेको नेपालगञ्जस्थित डिष्ट्रिब्युटर कमला मेडिसनबाट किन्न लागिएको उनले बताए। त्यसका लागि १५-१६ दिन अगाडि नै सार्वजनिक खरिद ऐनमार्फत् खरिद प्रक्रिया आह्वान गरिएको मेयर केसीले जानकारी दिए।
केही पिपिई सेट, मास्क, पञ्जालगायतका स्वास्थ्य सामग्री भने सहयोग प्राप्त भएको केसीले जानकारी दिए।
हालसम्म पोछा लगाउने मानिसले प्रयोग गर्ने खालका पिपिई सेटमात्रै रहेको हुँदा विरामी आए उनीहरूका लागि आवश्यक पिपिई सेट खरिद गर्नुपर्ने अवस्था रहेको बताए। उनले बिरामी बोक्ने एम्बुलेन्सको पछाडिपट्टि बार लगाएर सुरक्षित गरिने बताए।
अस्पतालको पूर्वाधार निर्माण गर्नमात्रै ७२ लाखजति खर्च भएको र आवश्यक सबै मेडिकल सामाग्री खरिद गरेर ल्याउँदासम्म अस्पतालमा एक करोड बढी खर्च पुग्ने केसीले बताए।
यसरी निर्माण भयो अस्पताल
दश दिनमै आरसिसी ढलानयुक्त पक्की अस्पताल भवन निर्माण पूरा भएपछि धेरैलाई आश्चार्य लागेको छ।
कसरी सम्भव भयो यति छिट्टै अस्पताल निर्माण गर्न?
मेयर केसीले भने- यो सबै इच्छा शक्तिमा भर पर्छ, मन, वचन र कर्मले लागि परे सम्भव हुँदो रहेछ।
उनले त्यसको सम्पूर्ण श्रेय जनतालाई दिनु उचित हुने बताए।
अस्पताल निर्माण गर्ने निर्णय भएपछि स्थानीय स्वत:स्फुर्त रूपमा पैसा सहयोग गर्न तथा श्रम गर्न आएको र अझै पनि सहयोग आउने क्रम जारी रहेको जानकारी दिए।
‘आपसमा सामाजिक दूरी कायम गरी रातदिन काम भयो,’ मेयर केसीले भने ‘८० जनाले सुरूका १० दिनसम्म ८ हजार घन्टा काम गरे।’
जंगलबाट आवश्यक काठ ओसार्न, ग्रिल तथा फर्निचर उद्योगमा पनि त्यसैगरी रातदिन नभनी काम भएको उनले बताए।
नेकपाका नेता जनार्दशन शर्मा अस्पताल बनाउन सुरू भएको भोलिपल्ट खटिएका थिए।
सांसद शर्मासहित प्रदेश सभा सदस्य रातो कामी, रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी ओपेन्द्रराज पौडेल, जिल्ला समन्वय समितिका संयोजक राजकुमार शर्मा, प्रहरी निरीक्षक अच्यूतराज आचार्यको टोलीले दोस्रो दिन झन्डै ४ हजार इँटा ओसार्न सहयोग गरेको थियो।
‘उहाँहरूले सबै लाइनमा लागेर एक टिपर इँट्टा एक ठाउँबाट अर्को ठाउँ पुर्याउने काम गर्नुभयो,’ केसीले भने ‘विशिष्ट व्यक्तिले समेत अस्पताल बनाउन श्रमदान गरेपछि स्थानीय झनै उत्साही बने।’
शिक्षक ,पत्रकार, कर्मचारीलगायत सर्वसाधारणले अस्पताल निर्माणमा श्रमदान गरे।
हतारमा बनाएको संरचना कति बलियो होला?
मेयर केसीले अस्पताल भवन पूरै बलियो र भरपर्दो बनेको दाबी गरे।
सिमेन्टमा छिटो सेट हुने केमिकल प्रयोग गरेको एक तले भवनमा तलदेखि मथिसम्म आइपुग्दा तीन वटा बिम बाँधिएको, मापदण्ड पुर्याएर गुणस्तरीय ढलान गरिएको हुँदा आशंका गर्ने ठाउँ नरहेको उनले बताए।
कोरोना अस्पतालनजिकै ८ लाख खर्चेर हेलिप्याड निर्माण गरिएको मेयर केसीले जानकारी दिए।
अहिले कोरानासँग जुध्न बनाइएको कोरोना अस्पताल पछि सरूवा रोगको उपचार गर्ने अस्पतालको रूपमा विकास गरिने उनले बताए।
‘प्रत्येक कोठा अलग र सुविधासम्पन्न छन्। यस्तो हस्पिटल भविष्यमा पनि यस्तै सरूवाजन्य रोगसँग लड्नका लागि उपयुक्त हुन सक्ने विश्वास छ,’ उनले भने।
त्यस्तै उनले हालसालै निर्मित कोरोना अस्पतालनजिकै ७ करोडको लागतमा अर्कौ ठूलो अस्पताल निर्माण भइरहेको भन्दै भविष्यमा रूकुम पश्चिमको स्वास्थ्य उपचार प्रभावकारी बन्ने आशा व्यक्त गरे।