कोरोना भाइरस संक्रमणले मृत्यु हुनेमा महिलाभन्दा पुरुषको संख्या धेरै छ। चाहे चीन होस्, इटाली वा अमेरिका, यो लडाइँमा पुरुषभन्दा महिलाहरू बलियो देखिएका छन्।
कतिपय वैज्ञानिकले यसलाई यौन हर्मोनसँग जोडेर हेरेका छन्। उनीहरू भन्छन्– पुरुषको यौन हर्मोनमा 'टेस्टोस्टेरन' को मात्रा बढी हुन्छ, जसले रोग प्रतिरोधक प्रणाली खुम्च्याउने काम गर्छ। जबकि, महिलाको यौन हर्मोनमा हुने 'एस्ट्रोजेन' ले रोग प्रतिरोधक प्रणाली अझ सक्रिय बनाउँछ।
त्यसो भए के महिलाको यौन हर्मोन छोटो समयका लागि पुरुषको शरीरमा हाल्यो भने कोरोनासँग लड्न मद्दत पुग्ला?
न्यूयोर्कको लङ आइल्यान्डका डाक्टरहरूले गत साताबाट यसमा क्लिनिकल परीक्षण सुरू गरेका छन्। उनीहरूले कोभिड–१९ संक्रमणबाट गम्भीर बिरामी केही पुरुषलाई रोगसँग लड्ने क्षमता बढाउन महिलाको यौन हर्मोन दिएका छन्।
लङ आइल्यान्डस्थित स्टोनी ब्रुक युनिभर्सिटी, स्कुल अफ मेडिसिनले ११० जना कोरोना बिरामीलाई परीक्षणमा राखेको छ। ती बिरामीमा कोरोना पोजिटिभ देखिएको छ, तर गम्भीर अवस्थाका छैनन्।
पहिलो चरणमा ५५ वर्ष उमेर पुगेका महिला र पुरुषलाई परीक्षणमा समावेश गरिएको अस्पतालले जनाएको छ। तीमध्ये आधालाई एक साता निम्ति एस्ट्रोजेन हर्मोन दिइएको छ। हर्मोन दिइएका र नदिइएका बिरामीमा भाइरसले कस्तो प्रभाव पार्छ भनी अनुसन्धाताहरूले परीक्षण गर्ने छन्।
यो क्लिनिकल परीक्षणको नतिजा केही महिनाभित्र आउनेछ।
एस्ट्रोजेन हर्मोनले महिलाहरूको शरीरलाई ब्याक्टेरिया, भाइरस लगायत बाह्य तत्वसँग जुध्न मद्दत गर्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ। यसले त्यही काम पुरुषको शरीरमा गर्छ कि गर्दैन भन्ने मात्र पुष्टि हुन बाँकी छ।
स्टोनी ब्रुक विश्वविद्यालयको स्कुल अफ मेडिसिनका सहायक डिन डा. श्यारोन नाचमेन यसलाई 'नवीन प्रयोग' मान्छन्।
'यो अहिलेसम्म कहिल्यै प्रयोग नभएको नवीन अभ्यास हो। यसले काम गर्छ कि गर्दैन हामीलाई थाहा छैन,' उनले भने, 'हरेक नयाँ अभ्यास नयाँ आइडियाबाटै सुरू हुने हो।'
यस्तै परीक्षण अर्को साताबाट लस एञ्जल्सको सेडार्स–सिनाई अस्पतालका डाक्टरहरूले पनि सुरू गर्दैछन्। यहाँ महिलाको शरीरमा पाइने अर्को हर्मोन 'प्रोजेस्टेरोन' दिएर पुरुष बिरामीको उपचार गरिँदैछ।
यहाँ ४० जना पुरुष बिरामीलाई परीक्षणमा राखिएको छ। तीमध्ये आधालाई पाँच दिनसम्म दैनिक दुईचोटि प्रोजेस्टेरोन हर्मोन दिइनेछ।
'कोरोना बिरामीको तथ्यांक हेर्ने हो भने महिला र पुरुषबीच ठूलो भिन्नता देखिन्छ। यो महामारीसँग लड्न पुरुषहरू असफल देखिँदै आएका छन्,' सेडार्स–सिनाई अस्पतालका डाक्टर सारा घान्देहरीले भनिन्, 'हामीकहाँ भेन्टिलेटरमा राख्नुपरेका ७५ प्रतिशत बिरामी पुरुष छन्।'
उनका अनुसार, गर्भवती महिलामा एस्ट्रोजेनको मात्रा अत्यधिक हुन्छ। उनीहरू कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका उदाहरण कमै छन्।
'महिलाको हर्मोनमा त्यस्तो केही गुण छ, जसले उनीहरूलाई कोरोनाबाट सुरक्षा दिइरहेको छ। गर्भवतीलाई त यसले झन् बढी सुरक्षा दिइरहेको छ। यही कारणले हामी कोरोना संक्रमित पुरुषको शरीरमा महिला हर्मोन हालेर परीक्षण गर्दैछौं,' उनले भनिन्।
परीक्षण क्रममा महिलाको यौन हर्मोन दिइएका पुरुष बिरामीको दैनिक शारीरिक परीक्षण हुनेछ। उनीहरूको अवस्था सुधार हुन्छ कि हुँदैन, अक्सिजन दिनुपर्छ कि पर्दैन र उनीहरूलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउँछ कि आउँदैन अध्ययन गरिनेछ।
कोरोना महामारीको सुरूआतदेखि नै महिलाभन्दा पुरुष बढी प्रभावित भएको तथ्यांक आउन थालेको हो।
सुरूका दिनमा चीनबाट आएका तथ्यांकले पुरुषहरूको मृत्युदर उच्च देखाएको थियो। त्यति बेला यसलाई हर्मोनसँग जोडेर विश्लेषण गरिएको थिएन। धेरैले महिला र पुरुषको जीवनशैली र आनीबानीसँग जोडेका थिए।
महिलाको दाँजोमा पुरुषहरू बढी धूमपान गर्ने हुँदा फोक्सोको संक्रमण र श्वासप्रश्वासका रोगले चाँडै छुन्छ। त्यस्तै, पुरुष स्वास्थ्यप्रति बढी लापरबाह हुन्छन् र सरसफाइमा त्यति ध्यान दिँदैनन्। नियमित हात धुनमा त महिलाभन्दा धेरै पछाडि छन्। यिनै कारणले कोरोनाबाट महिलाभन्दा पुरुष बढी प्रभावित भएको अनुमान गरिएको थियो।
विस्तारै अन्य देशबाट पनि यस्तै तथ्यांक आउन थाले। इटालीमा महिलाभन्दा पुरुषको मृत्युदर उच्च रह्यो। अमेरिकाको न्यूयोर्कमा त पुरुषको मृत्युदर दोब्बर थियो।
आनीबानी र जीवनशैलीको भिन्नताले पुरुषलाई मृत्युको मुखसम्म पुर्याउन केही न केही भूमिका पक्कै खेल्यो होला। तर, के भाइरस फैलिएका सबै मुलुकमा पुरुष महिलाभन्दा फोहोरी छन्? के चीनदेखि अमेरिका, इटाली, स्पेन, बेलायत सबैतिर पुरुषहरू नियमित हात धुँदैनन्? कतिपय मुलुकमा महिला धेरै धूमपान गर्छन्, त्यस्ता ठाउँमा पनि कोरोनाबाट ज्यान गुमाउनेमा पुरुष नै धेरै किन?
यी सबै पक्ष विश्लेषणपछि वैज्ञानिकहरूले कोभिड-१९ बाट प्रभावित महिला र पुरुषको अन्तरलाई फरक ढंगले केलाउन थाले।
केही वैज्ञानिक भने यौन हर्मोनका कारण महिला सुरक्षित रहेको तर्क मान्दैनन्।
महिनावारी बन्द भएका महिलामा यौन हर्मोनको मात्रा एकदमै कम हुन्छ। त्यस्ता महिलाले पनि आफ्ना समवयी पुरुषको दाँजोमा कोरोनालाई परास्त गरेको पाइएको छ।
'यौन हर्मोनकै कारण महिलाहरू सुरक्षित भइदिएका भए त्यस्ता प्रौढ महिला पनि पुरुषजत्तिकै असुरक्षित हुनुपर्ने,' जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थकी वैज्ञानिक साब्रा क्लेनले भनिन्।
उनले अगाडि भनिन्, 'एस्ट्रोजेनमा रोगसँग लड्ने गुण हुन्छ। तर यही एउटा कारणले महिला सुरक्षित भएका होइनन्। ९३ वर्षकी महिला पनि आफ्ना समवयी पुरुषको दाँजोमा कोरोनालाई जित्न सफल छन् भने हर्मोनलाई मात्र कारण मान्न सकिन्न।'
केही वैज्ञानिकले यसलाई महिलाको 'जीन' सँग जोडेर हेरेका छन्।
महिलाको कोषमा दुइटा 'एक्स' क्रोमोजोम हुन्छ– एउटा उसको आमाबाट आएको, अर्को बाबुबाट। पुरुषको कोषमा भने दुइटा फरक क्रोमोजोम हुन्छ– एउटा 'एक्स', अर्को 'वाई'।
'एक्स' क्रोमोजोमले हाम्रो शरीरका मुख्य अंगहरूको क्षमता बढाउने काम गर्छ। हाम्रो शारीरिक विकास, मस्तिष्क विकास र रोग प्रतिरोधात्मक क्षमता बढाउने यही 'एक्स' क्रोमोजोमले हो। यस्तो महत्वपूर्ण जैविक तत्व बढी हुनुले महिलाहरू रोग र संकटसँग लड्न बढी समर्थ हुने वैज्ञानिक बताउँछन्।
मानौं, कुनै महिलाको शरीरमा भाइरस पस्यो। अब उसको प्रत्येक जीनमा रहेका दुइटा 'एक्स' क्रोमोजोममध्ये जो भाइरस पत्ता लगाउन र परास्त गर्न सक्षम छ, त्यो तुरुन्तै सक्रिय हुन थाल्छ। त्यस्तै, जुन 'एक्स' क्रोमोजोममा रोग प्रतिरोधात्मक क्षमता छ, त्यसले पनि आफ्नो काम गर्न थालिहाल्छ।
शरीरमा 'एक्स' क्रोमोजोम संख्या धेरै हुँदा महिलाहरू अन्तिम समयसम्म भाइरसविरुद्ध डटेर लड्न सक्छन्। यही सुविधा पुरुषलाई हुँदैन।
पुरुषको जीनमा भाइरसविरुद्ध लड्न एउटा मात्र 'एक्स' क्रोमोजोम हुन्छ। एक्लो 'एक्स' क्रोमोजोम आफ्नो शक्ति भइञ्जेल लड्छ, नसकेपछि परास्त हुन्छ।