रोल्पामा बिहीबार बेलुका बम विष्फोटमा मृत्यु भएका चार बालबालिकाको शव पोष्टमार्टमका लागि दाङ ल्याइने भएको छ।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले कानुनी प्रक्रिया पुरा गर्नका लागि पोष्टमार्टम गर्नुपर्ने सुरक्षाकर्मीको सुझावअनुसार शव दाङ लैजाने तयारी गरिएको जानकारी दिए।
शुक्रबार मध्यान्ह १२ बजेपछि मात्रै घटनास्थलबाट चार बालबालिकाको शव दाङको घोराहीबाट गएको नेपाली सेनाको टोलीले निकालेको थियो। ‘ती शव भर्खरै सेनाले निकालेको छ, पोष्टमार्टम गर्न दाङ पठाइँदै छ,’अध्यक्ष वलीले भने ‘केही बेरमा सेनाले अर्को बम डिस्पोजको तयारी गरिरहेको छ।’
घटनास्थलमै अर्को एउटा विष्फोट नभएको बम पनि देखिएको थियो। घटनास्थलको सुरक्षा गर्न प्रहरी रातभर खटिएको थियो।
शुक्रबार बिहान दाङको घोराहीस्थित रिपुमर्दन गणबाट त्यहाँ बम डिस्पोज गर्न सेनाको टोली पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख चक्रबहादुर गुरुङले जानकारी दिएका छन्।
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ७ को माइतेकापिना वनको एक हजार मिटरजति पश्चिमको उजारी खोला नजिकै बिहीबार बेलुका ६ बजेतिर भएको बम विष्फोटमा बाख्रा चराउन गएका चार बालबालिकाको मृत्यु भएको थियो।
बम विष्फोटमा त्रिवेणी गाउँपालिका वडा नं ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, त्रिवेणी ४ का लक्ष्मण नेपालीका मामा घरमा गएका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगीको घटनास्थलमै मृत्यु भएको थियो।
ती बालबालिका माइतेकापिना भन्ने वनमा बाख्रा चराएर घरतर्फ फर्किँदै थिए। त्यत्तिकैमा एकाएक ठूलो आवाजको विष्फाेट सुनेपछि आसपासका स्थानीय घटनास्थल पुगेका थिए।
शुक्रबार घटनास्थलममा प्रदेश नं ५ का कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम), दाङको तुलसीपुरबाट प्रदेश नं ५ का प्रदेश प्रमुख रविन्द्रप्रताप धानुक लगायतका प्रहरी अधिकारीहरु पनि पुगेका छन्।
तत्कालीन नेकपा माओवादी र सरकारी सुरक्षा फौजका बीच २०६२ सालमा माइतेकापिना वनमा दोहोरो भिडन्त भएको थियो।
सोही वन क्षेत्रको गुफाहरुमा लुकाएर राखेका बम तथा विष्फाेटक पदार्थ ठूलो मात्रामा केही वर्ष पहिले प्रहरीले फेला पारेको थियो।
स्थानीय तथा पीडित परिवारले घटना द्वन्द्वकालकै उपज भएको हुँदा राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग पनि गरेका छन् ।