शुक्रबार कोरोना संक्रमण पुष्टि भएका रुपन्देही कोटहीमाईका युवा १४ दिनअघि भारतको दिल्लीबाट आएको खुलेको छ।
नेपाल र भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा वैशाख ५ गते गाउँ आएका उनलाई सोही दिन नै कोटहीमाई गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ।
कोरोना संक्रमण फैलिन नदिन नेपाल-भारत दुवैतर्फ लकडाउन गरिएको थियो। तर उनी अरूहरूको आँखा छल्दै खेतको बाटो भएर गाउँ पसेका थिए। मर्चवार क्षेत्रमा पर्ने कोटहीमाई भारतसँग सीमा जोडिएको गाउँपालिका हो।
कोटहीमाई गाउँपालिकामा सञ्चालित क्वारेन्टाइनको व्यवस्थापन हेर्दै आएका गाउँपालिकाका इन्जिनियर नुरुल हुसेन खानले भारतबाट आएको थाहा पाएपछि उनलाई वैशाख ५ गते नै क्वारेन्टाइनमा राखिएको जानकारी दिए।
बाहिरबाट आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखी उनीहरूको स्वाब परीक्षण गर्ने क्रममा शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो।
पासी थरका २५ वर्षीय ती युवाको रुपन्देहीको भैरहवास्थित बिउविजन कार्यालयमा स्थापना गरिएको कोरोना प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पुष्टि गरेको छ।
‘अहिले उनलाई लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल धागो कारखानामा स्थापना गरेको कोरोना विशेष अस्पतालमा उपचार सुरू गरिएको छ’, अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले भने।
गाउँपालिकाका इन्जिनियर खानले ती युवामा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरूको खोजी भइरहेको जानकारी दिए।
लकडाउन घोषणा गरे पनि भारतसँग सीमा जोडिएका तराईका जिल्लाका पालिकाहरूमा खुला सीमानाको फाइदा उठाउँदै कतिपय खेत तथा खोला र जंगलको बाटो भएर सीमावारि आउने गरेका छन्।
यसले भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरूमा कोरोना संक्रमणको जोखिम बढाएको छ।
त्यस्तै, शुक्रवार बाँकेको नेपालगञ्जमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन्।
६० वर्षीय ती व्यक्तिको बाँकेको खजुरास्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ।
रुपन्देही र नेपालगञ्जमा भेटिएका दुवै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रदेश ५ मा शुक्रबार पहिलो पटक संक्रमित भेटिएका हुन्।