आज वैशाख शुक्लपक्षको नवमी तिथि अर्थात् जानकीको जन्मजयन्ती। अन्य वर्ष जानकी नवमी पर्व धुमधामका साथ मनाउने गरिए पनि यस वर्ष भने जनकपुरधाममा रौनकता देखिएन।
कोरोना भाइरसको जोखिमका कारण लगाइएको लकडाउनले गर्दा यस वर्ष जानकी जन्मोत्सव प्रभावित भएको हो।
जानकी जन्मोत्सवको दिन समेत जानकी मन्दिरको मूल ढोका बन्द नै रह्यो। सम्भवतः इतिहासमा पहिलो पटक जानकी नवमीका दिन मन्दिरको मूल ढोका नै बन्द भएको हो।
दैनिक हजारौं श्रद्धालु आउने जानकी मन्दिरमा कोरोना संक्रमण त्रासको प्रभावका कारण जानकी नवमीका दिन सुनसान देखियो।
छिटफुट रुपमा मात्रै श्रद्धालु भक्तजन पूजा आरधना गर्न जानकी मन्दिर पुगेका थिए। अरु बेला यस दिन पूजाआरधना तथा नाचगान गरेर मन्दिरमा ‘सोहर’ गाएर मनाइने गरिन्थ्यो। यस वर्ष भने खल्लो महसुस भएको पूजा गर्न आएकी श्रद्धालु सोनी मिश्राले बताइन्।
मन्दिर नआई घरमै पूजा अराधना गर्नका लागि उत्तराधिकारी महन्थ रामरोशनदासले सार्वजनिक रुपमै आग्रह गरेका थिए। ‘जानकी नवमीमा घरघरमा दियो बाली साँझ सात बजे आरती गर्न सबैलाई आग्रह गरेका छौँ’ उनले भने।
मिथिला नरेश राजर्षी जनकको पुत्रीको रुपमा वैशाख शुक्ल नवमीकै दिन जानकी जन्मेको ग्रन्थहरुमा पाइन्छ।
जानकी नवमीको अवसरमा केकको प्रसाद
यसैबीच जानकीको जन्मोत्सवको अवसरमा मन्दिरमा प्रसादको रुपमा केक अर्पण गरिएको छ।
मन्दिरका उत्तराधिकारी महन्थ दासले विहानको विशेष पूजा गर्ने समयमा माता जानकीलाई प्रसादस्वरुप केक अर्पण गरेका थिए। पछि सो प्रसाद मन्दिरमा उपस्थित श्रद्धालुलाई समेत बाँडिएको थियो।
अरु बेला लड्डु, पेडा लगायतका मिठाई प्रसादको रुपमा अर्पण गरिँदै आएको थियो।
बिहारकुण्ड समेत सुनसान
जनकपुरधामको प्रसिद्ध धार्मिक स्थलमध्ये एक बिहार कुण्ड समेत सुनसान नै देखियो। बिहार कुण्ड माता जानकी बाल्य अवस्थामा आफ्नो साथीसँग खेल्ने स्थलको रुपमा रहेको धार्मिक मान्यता छ।
विहार कुण्डमा अन्य वर्षहरुमा धुमधामका साथ जानकी नवमी पर्व मनाइने गरिन्थ्यो तर यस पटक सबै कार्यक्रम रोक्नु परेको सिया रघुवर कुञ्जका महन्थ रामकिशोर दासले बताए।