कोरोना भाइरस सङ्क्रमणबाट निको भएका राज बिकको अहिले दिनचर्या फेरिएको छ।
कोरोना ‘पोजेटिभ’ भएर अस्पताल भर्ना भएका बिक निको भएर डिस्चार्ज्ड भई ‘होम क्वारेन्टाइन’को बसाइसमेत पूरा गरेपछि अहिले उनको दिनचर्या फेरिएको छ।
सोह्र दिनको अस्पतालको आइसोलेसन र थप सात दिन होम क्वारेन्टाइनको बसाइले केही पट्यार लागे पनि अहिले घरपरिवारका सदस्यलाई काममा सघाउन पाउँदा दैनिकी पनि फेरिएको उनले बताए।
चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा भर्ना भई १६ दिनपछि निको भएर डिस्चार्ज्ड हुनुभएका बिकले भने, ‘अहिले आफू स्वस्थ भएको छु, बिहानदेखि साँझसम्म खेत जोत्ने र गोरू चराउन जाने काममा परिवारका सदस्यलाई सघाइरहेको छु।’
मुम्बईको एक होटेलमा काम गर्ने बिक कोरोनाको सन्त्रासका कारण त्यहाँको होटल बन्द गरिएपछि गौरीफन्टा नाका हुँदै कैलाली फर्किएका थिए। उनले कोरोनाको महामारी सकिएपछि पुनः मुम्बई पुगेर पुरानै काममा फर्किने सोच बनाएका छन्।
‘यहाँ केही अवसर छैन, कोरोना शान्त भएपछि जीविका चलाउन पनि पुनः उतै जाने सोच राखेको छु,’ उनले भन्नुभयो।
कोरोना पोजेटिभ भएर निको भई अस्पतालबाट डिस्चार्ज्ड भएका अमृत शाहीको दैनिकी भने शारीरिक अभ्यास गर्ने र मोबाइलमा गेम खेल्नमै बित्ने गरेको छ।
‘दिनभरि घरमै बसेर शारीरिक अभ्यास र मोबाइलमा गेम खेलेर समय बिताउने गरेको छु,’ उनले भने, ‘घरबाहिर छरछिमेकमा जान नपाउँदा भने केही असजिलो अनुभव भइरहेको छ।’
दुबईबाट दिल्ली, काठमाडौं र नेपालगञ्ज हुँदै कैलाली पुगेका उनमा चैत ११ गते कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको थियो। उनी २९ दिन आइसोलेसनमा बसेर कोरोना पोजेटिभ निको भई डिस्चार्ड भएका थिए।
होम क्वारेन्टाइनको बसाइ पूरा गरे पनि अझै उनीहरूले आफ्नो टोल र छरछिमेकमा आउजाउ गरेका छैनन्। परिवारका सदस्यले अझै छरछिमेक र टोलमा नजान सल्लाह दिइरहेकाले आफू छरछिमेकमा नगई परिवारको काममा सघाइरहेको राज बिकले बताए।
प्रदेशमा कोरोना सङ्क्रमित भेटिएको पुष्टि भएका पाँचजनामध्ये चारजना पोजेटिभ निको भई यसअघि नै डिस्चार्ज्ड भइसकेका छन्। सङ्क्रमित एक महिला सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले क्वारेन्टाइनमा बसिरहेकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।
मन्त्री सुवेदीले क्वारेन्टाइनमा औषधि छर्किने गरिएको र कतिपय क्वारेन्टाइनमा झुलको समेत व्यवस्था गरिएकाले लामखुट्टेको टोकाइबाट आउन सक्ने अन्य रोगको जोखिम अहिले नदेखिएको बताए।
‘आइतबारसम्म प्रदेशभरि तीन हजार ५७२ जना क्वारेन्टाइनमा बसिरहेका छन्,’ उनले भने, ‘रोगको प्रभावकारी रोकथामका लागि जनचेतनामै बढी जोड दिइरहेका छौं।’ (रासस)