सालीसँग अवैध सम्बन्ध रहेको कुरा थाहा पाएपछि धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ लालभिट्टीका २८ वर्षीय हरि चौहानले आफ्नी कान्छी सालीसँग रहेको अवैध सम्बन्धका कारण २५ वर्षीया श्रीमती विणाको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ।
हरिले योजना बनाएरै वीणाको हत्या गरेको खुल्न आएको प्रहरीको भनाइ रहेको छ।
हत्या अभियोगमा हरिलाई पक्राउ गरि म्याद थपका लागि जिल्ला अदालतमा पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। मृतक विणाको ४ वर्षीया छोरी र साढे दुई वर्षका एक छोरा छन्।
विणाको हत्या हरिले सालीसँग मिलेर गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हरिले विणालाई बाली काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर उनकै सलले घाँटी बेरेर हत्या गरेको बताइएको छ।
उनले श्रीमतीको हत्यापछि सोही जंगलमा शव गाडेका थिए। सो शव ४ दिनपछि उत्खन्न गरेर निकालिएको छ। गत वैशाख १८ गते बिहीबार साँझ करिव साढे पाँच बजेको समयमा विणालाई बाली काट्न जंगल जाउँ भन्दै लगेर घाँटीमा लगाएको सलले बेरेर हत्या गरी शवलाई जंगलमै गाडेको चौहानले प्रहरीसमक्ष बयान दिएका छन्।
चौहानले सालीसँग मिलेर हत्याको पूर्व योजना बनाएका थिए। उनले हत्या गर्नु पहिले नै जंगलमा खाडल खनेर तयार राखेको ढल्केवर इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए।
५ वर्ष अगाडि विणासँग अन्तरजातीय विवाह गरेकाले बुवाआमाले घरमा बस्न नदिएपछि ससुरालीको छेउमै आफ्नो घर बनाएर चौहान बस्दै आएका थिए।
एक वर्षदेखि आफ्नो कान्छी साली गंगा लामासँग अवैध सम्वन्ध राख्दै आएका थिए। ‘उक्त कुरा विणालाई थाहा भएपछि उनको हत्या गरिएको देखिन्छ प्रहरी निरीक्षक कार्कीले भने, ‘अन्त्यमा श्रीमानले योजनाबद्ध तरिकाले श्रीमतीको हत्या गरी आफ्नो साथी गोपाल श्रेष्ठलाई फोन गरेर जानकारी दिएका थिए।’
खाडलमा पुरिएको शवलाई प्रहरी निरीक्षक कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले आइतबार साँझ उत्खनन् गरी निकालेको हो।
सडेको अवस्थामा भेटिएको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रहरी निरीक्षक कार्कीले सेतोपाटीलाई बताए।