लालबाबु सिंह घर बनाउँदै थिए। नयाँ घरमा उनले सिमेन्टको पिलर राखेका थिए। छानो लगाउने बेला हुनै लागेको थियो। नयाँ घर बनाई श्रीमान् र श्रीमती दुई छोराछोरीका साथ हाँसीखुसी जीवन बिताउने उनको र पत्नी निलम सिंहको सपना थियो।
उनीहरूको त्यो सपना केही दिनअघि टुट्यो।
महोत्तरीको भंगाहा नगरपालिका वडा नम्बर ७ मझौलिया टोल निवासी लालबाबुको अज्ञात रोगका कारण निधन भएपछि अहिले परिवार चलाउने जिम्मेवारी ३७ वर्षीया निलमको काँधमा आएको छ।
लालबाबु हाउस पेन्टरको काम गर्थे र उनैले कमाएर ल्याएको पैसाले ४ जनाको परिवार चल्दै आएको थियो।
उनको असामयिक मृत्युपछि निलमलाई पतिको किरिया कसरी गर्ने, घर कसरी चलाउने र छोरा छोरीको पढाइलेखाइको खर्च कसरी जुटाउने चिन्ताले पिरोलेको छ।
निलम र लालबाबुको दुई छोराछोरी छन्। १३ वर्षीया छोरी सुप्रिना ८ कक्षामा पढ्छिन भने ११ वर्षीय छोरा गौरव दुई कक्षामा पढछन्।
लालबाबुको मृत्युसँगै उनको घरमा यी तीन जनाबाहेक अब कोही छैनन्।
लालबाबुलाई नजिकबाट चिन्नेहरू उनले अत्याधिक रक्सी सेवन गर्ने गरेको बताउँछन्।
निलमकोजस्तै मझौलिया टोलकै ललिता चौधरीको अवस्था पनि उस्तै छ। ४५ वर्षीय ललिताको ५५ वर्षीय श्रीमान् मोहन चौधरीको समेत अज्ञात रोगका कारण गएको वैशाख १० गते मृत्यु भएपछि ललिता र उनका छोरा २० वर्षीय कमल चौधरी बेसहारा भएका छन्।
मोहनले अरुको खेतमा काम गरेर ल्याएको पैसाले घर चल्दै आएको थियो। मोहन निकै मेहनती थिए र अरुको खेतबारीमा काम गरी जसोतसो परिवार चलाउँथे। त्यसबाटै उनले छोरा कमललाई अध्ययन पनि गराउँदै आइरहेका थिए छोरा कमल अहिले कक्षा १२ मा अध्ययनरत छन्।
‘मेरो र छोराको एउटै सहारा उनी नै थिए, घर खर्चदेखि छोराको पढाइसम्मको खर्च उनले नै मेहनत गरेर ल्याएको पैसाले पूरा गर्ने गथ्यौँ’ उनकी श्रीमति ललिताले सेतोपाटीलाई भनिन्।
महोत्तरीको भंगाहा नगरपालिका विगत १० दिनमा अज्ञात रोगका कारण दुई वटा स्थानीय तहमा १२ जनाको मृत्यु भएपछि स्थानीय शोकमा छन्।
महोत्तरीको भंगाहा नगरपालिका वडा नम्बर ६ र वडा नम्बर ७ मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका वडा नम्बर १२ मा गएको १० दिनभित्र १२ जनाको अज्ञात रोगका कारण मृत्यु भएको हो।
विगत १२ दिनमा भंगाह नगरपालिकामा मोहन चौधरी, महेन्द्र चौधरी, नथुनी महरा, लालबाबु सिंह, सिकिन्द्र सिंह, सुकदेव महरा, पलट साह र रुप नारायण सिंहको मृत्यु भएको छ।
बर्दिवास नगरपालिकामा गंगाराम सदा, सोमनी देवी वाँतर, सिकिन्द्र मण्डल र भारतीय मोतीलाल प्रजापतिको मृत्यु भएको हो।
गंगाराम सदाको पोस्टमार्ट गर्दा उनको मृत्यु औंलो रोगबाट भएको पाइएको छ। त्यस्तै सोमनी देवी मधुमेहबाट पीडित थिइन् तर उनले भने औषधि नियमित रुपमा नखाने गरेको चिकित्सकहरुको भनाइ छ।
१२ जनाको मृत्युको कारण पत्ता लगाउनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका अमृत पोखरेल, विश्व स्वास्थ्य संगठनको प्रदेश दुईका प्रतिनिधि डा. सुदेशा खड्का, प्रदेश स्वास्थ्य निर्देशनालयका चिकित्सक डा. संजय यादव लगायतको टोली घटनाको वास्तविकता पत्ता लगाउन आएको हेल्थ असिस्टेन्ट अधिकृत गिरेन्द्र झाले बताए।
यी टोलीले भंगहा वडा नम्बर ६ र ७ तथा बर्दिवास नगरपालिका वडा नम्बर १२मा सामुदायिक परीक्षणको कार्य शुरु गरेको उनले बताए।
उनका अनुसार सो परीक्षण आएपछि मात्रै मृत्युको कारणको विषयमा स्पष्ट केही भन्न सकिने छ। यद्यपी प्रारम्भिक अनुमानमा विषाक्त मदिरा नै कारण रहेको उनले बताए।
मृतक परिवारलाई किरिया खर्च वापत २१ हजार रुपैयाँ दिइने
भंगहा नगरपालिकाले प्रत्येक मृतक परिवारलाई किरिया खर्चवापत २१ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
नगरपालिकाको गत वैशाख १८ गते बसेको बोर्ड बैठकले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको वडाध्यक्ष वासुदेव सिंहले जानकारी दिएका छन्।
उनले मृतक परिवारहरुको आर्थिक स्थिति कमजोर रहेकोले उनीहरुको सन्तानको शिक्षादीक्षाका लागि नगरपालिका तथा प्रदेश सरकारसँग आफूहरुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।