बर्दियामा सोमबार कोरोना संक्रमण पुष्टि भएकी ११ वर्षीया बालिका १८ घन्टा बित्दा पनि अस्पताल जान पाएकी छैनन्।
उपचार गर्न कुन अस्पतालमा लैजाने भन्ने टुंगो नहुँदा उनी मंगलबार दिउँसो पनि स्थानीय विद्यालयको क्वारेन्टिनमा बसिरहेकी छन्।
उनलाई बर्दिया, बाँके वा दाङ कहाँको अस्पतालमा उपचार गर्ने भन्ने अझै टुंगो लागेको छैन।
संक्रमित बालिका राजापुर नगरपालिका ५ की स्थानीय हुन्। राजापुरका मेयर शिवप्रसाद चौधरीले बर्दिया जिल्ला अस्पतालमा बनाइएका आइसोलेसन बेड व्यवस्थित नभएकाले बालिकालाई अस्पताल पठाउन नसकिएको बताए।
‘जिल्ला अस्पतालका डाक्टरसाबहरूले हाम्रोमा आइसोलेसन व्यवस्थित छैन भन्नुभयो,’ मेयर चौधरीले भने,‘अब बाँके पठाउने कि दाङ पठाउने हामी छलफल गर्दैछौं।’
ती बालिकालाई बाँके पठाउन पनि सम्भव छैन। किनकी बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बनाइएका आइसोलेसन बेड भरिइसकेका छन्।
त्यहाँ २४ वडा आइसोलेसन बेड थिए ती सबै अहिले बाँकेकै संक्रमितले भरिएका छन्।
ती संक्रमित बालिकालाई अब उपचारका लागि दाङ ल्याउने कि भन्ने पनि छलफल चलिरहेको छ।
दाङमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् भने यहाँ दुई अस्पतालमा १ सय भन्दा बढी आइसोलेसन बेड बनाइएका छन्।
तर दाङका स्थानीयले कोरोना संक्रमित नभएको जिल्लामा बाहिरबाट बिरामी ल्याउन नपाउने भन्दै बिरोध गरेका छन्।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले पनि सकभर आफूले दाङमा बर्दियाबाट बिरामी नल्याउन सुझाएको बताए।
उनले अस्पतालमा बिरामी ल्याउन दिन्नौं भन्ने सवाल पनि असान्दर्भिक हुने हुँदा आफू अप्ठेरोमा परेको उल्लेख गरे।
‘एकातिर जिल्लावासी कसैले पनि ल्याउन दिनुहुन्न भनिरहेका छन्, चिकित्सकले पनि नल्याउन भनिरहेका छन्,’ प्रजिअ रिजालले भने ‘अर्कोतर्फ बाँकेमा थप बिरामी राख्ने आइसोलेसन बेड छैन भनिएको छ, त्यसले अप्ठेरोमा पारेको छ।’
बाँकेको खजुरास्थित अस्पतालमा २४ शैयाका आइसोलेसन बेड रहेको र त्यसमा २४ जना यसअघि नै राखिसकेको हुँदा बर्दियाकी ती बालिकालाई दाङ ल्याउने कुरा भइरहेको उनले बताए।
‘मेरो र बर्दियाका प्रजिअबीच बिहानदेखि यही सवालमा कुरा भइरहेको छ,’ प्रजिअ रिजालले भने ‘ सकभर उतै राख्नुस् यति टाढा बिरामी नल्याउनुस् भनेको छु।’
बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले भने त्यो विषयमा छलफल जारी रहेको तथा अहिलेसम्म दाङ अनि बाँके कहाँ पठाउने भन्ने अन्तिम टुंगो लागि नसकेको जानकारी दिए।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले कुनैपनि हालतमा त्यो कुरा स्वीकार्य नहुने र त्यसको विरुद्ध सशक्त रूपमा उत्रिने चेतावनी दिए।
‘नजिकको जिल्ला बाँकेलाई छोडेर यति टाढा दाङ किन ल्याउन खोजिएको हो,’ रिजालले भने ‘जहाँ कोरोना संक्रमण हालसम्म छैन त्यो जिल्लामा हामी बाहिरबाट कुनै पनि बिरामी मरिगए ल्याउन दिन्नौं।’
उनले जबरजस्ती बिरामी ल्याउन खोजिए त्यसको प्रतिकार गर्ने, बाटो बन्द गर्ने र सडकमै सबै पुग्नुपर्ने बताए।
प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले भने बिरामीलाई अस्पताल ल्याउन दिनुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्- कोरोना संक्रमितलाई अस्पताल ल्याउनु भनेको सुरक्षित तरिकाले उपचार गर्नु हो। कोरोना विशेष अस्पतालबाट नेपालमा कोरोना फैलिएको छैन।
कैलालीबाट आएकी थिइन् संक्रमित बालिका
बर्दियाका प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार संक्रमित बालिका चैत ५ गते कैलाली गएकी थिइन्।
‘ती बालिका चैत ५ गते आफन्तकोमा गएको र वैशाख १६ गते फर्केर बर्दिया आएको खुलेको छ,’ प्रजिअ लामिछानेले भने।
राजापुर नगरपालिकाकाका कोरोना फोकल पर्सन गणेश अर्यालले ती बालिका आफ्नी हजुरआमाको माइती धनगढी उपमहानगरपालिकामा एक महिना बसेको र त्यसपछि ३ दिन भजनीमा रहेको आफन्तको घर पुगेको जानकारी दिए।
राजापुर नगरपालिका-५ की ती बालिका कैलालीस्थित आफन्तको घरबाट आएकै दिन उनलाई स्थानीय किसान माविको क्वारेन्टिनमा लगेर राखिएको थियो।
‘ती बालिका र उनकी हजुरआमालाई घरमा जान नदिएर सोझै क्वारेन्टिनमा लगेर राखिएको हो,’ प्रजिअ लामिछानेले भने ‘उनकी हजुरआमालाई भने स्वाब परीक्षणबाट कोरोना पुष्टि भएन।’
शंकास्पद जिल्ला कैलालीबाट आएको हुँदा ती बालिका र उनकी हजुरआमालाई सोझै वैशाख १६ गते किसान माविको क्वारेन्टिनमा राखिएको थियो।
उनको ३ दिनअगाडि स्वाब संकल गरी पिसिआर विधिवाट परीक्षण गरिएको थियो।
प्रजिअ लामिछानेका अनुसार ती बालिकाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको तथा थप जानकारी संकलन गर्ने कार्य भइरहेको छ।