नेपाली सेनाका एक जना चिकित्सकलाई कोरोनाभाइरसको संक्रमण भएको छ। शनिबार संक्रमण पुष्टि भएका नेपाली सेनाका दुई जनामध्ये एकजना सेनाको मध्यपूर्वी पृतना महोत्तरीमा कार्यरत डाक्टर भएको खुलेको छ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको अनुसार ती चिकित्सक पछिल्लो समय कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न विभिन्न जिल्लामा गएका थिए। अर्का संक्रमित पनि पृतनाका उच्च अधिकारी हुन्। उनीहरू दुबै जना प्राय: सँगसँगै हिँड्थे।
‘उहाँहरू प्रदेश-२ का वीरगन्ज, जनकपुरलगायत विभिन्न ठाउँमा रहेका क्वारेनटाइनमा पुग्नुभएको जानकारी पाएका छौं,’ सिडिओ खत्रीले भने,‘ठ्याक्कै उहाँहरू दुबै जनामा कहाँबाट कोरोनाको संक्रमण भयो खुलेको छैन। हामीले उहाँहरूको कन्टयाक्ट ट्रेसिङ गर्दैछौं।’
संक्रमित दुबै जनालाई थप उपचारका लागि शनिबार नै काठमाडौं पठाइएको छ। सेनाको गाडीमा उनीहरूलाई काठमाडौं पठाइएको हो।
उनीहरू दुबै जनाको काठमाडौंस्थित सशस्त्र प्रहरीको आइसोलेसन अस्पतालमा उपचार भइरहेको प्रजिअ खत्रीले जानकारी दिए।
दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि अहिले सेनाको उक्त पृतना सिल गरिएको छ।