बाँकेको नरैनापुर गाउँपालिका-५को दीपेन्द्र प्रावि भगवानपुरस्थित क्वारेन्टिनमा मृत्यु भएका युवकले आइतबार बिहान ४ बजेतिर बान्ता गरेको खुलेको छ।
उनीसँगै क्वारेन्टिनमा बसेका साथी तथा त्यहाँ खटिएका स्वास्थ्यकर्मीका अनुसार उनलाई दुई पटकसम्म भए पनि समयमै अस्पताल लैजान सकिएको थिएन।
‘उहाँलाई अरू त सबै ठिक थियो,तर बिहान चार बजेतिर नै एकाएक दुई पटक बान्ता भयो,’ क्वारेन्टिनका एक स्वास्थ्यकर्मीले भने, ‘हामीले माथिल्लो निकायमा त्यो खबर गरेका थियौं तर कसैले धेरै चासो दिनुभएन। बिहान साढे ६ बजेतिर उहाँको मृत्यु भयो।’
एम्बुलेन्स आउनु केही समयअघि उनको मृत्यु भएको ती स्वास्थ्यकर्मीले बताए।
‘सायद यस्तो होला भनेर कसैले सोचेनन्,’ उनले भने ‘सुरूमा उहाँहरूले खोज्दैछौं भन्नुभयो। एम्बुलेन्स आउन निकै ढिला भयो।’
रोजगारीको लागि भारतको मुम्बई पुगेका ती युवक वैशाख ३० गते नेपाल आएका हुन।
भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन्।
आइतबार मृत्यु भएका युवकको शनिबारमात्रै स्वाब संकलन गरिएको थियो। उनको कोरोनाको रिपोर्ट आइतबार बिहानसम्म आइसकेको छैन।
बाँके जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले क्वारेन्टिनमा मृत्यु भएका युवाको अन्तिम संस्कार रिपोर्ट आएपछिमात्रै गरिने जानकरी दिए। रिपोर्ट नआउँदासम्म मृतकको शवलाई सुरक्षित ढंगले राखिएको उनले बताए।
‘रिपोर्ट आएपछि मात्रै उहाँको अन्तिम संस्कार गरिन्छ,’ श्रेष्ठले भने ‘जस्तो रिपोर्ट आउँछ त्यही किसिमले उहाँको अन्त्येष्टिको प्रबन्ध गरिनेछ।’