लाजिम्पाटस्थित मूर्तिकार विजय महर्जनको ग्यालरीमा एउटा मूर्ति बन्दै थियो- परी। तर यी परी बनाउने कलाकार चिरपरिचित मूर्तिकार विजय होइनन्। उनीकहाँ काम सिक्दै गरेकी २३ वर्षीया सजल सिवाकोटी हुन्।
आफूलाई व्यवसायिक मूर्तिकार भनेर चिनाउन नचाहने सजल परीका कपाल लहराउँदै थिइन्। जीउलाई आकार दिँदै थिइन्। अनुहारका बान्की मिलाउँदै थिइन्।
एक्कासि भएको कोरोना लकडाउनले परीको रूप पूरा हुन पाएन।
'अहिलेको स्थितिमा ग्यालरी जान सकिनँ। सामान पाउन पनि गाह्रो छ,' सजल आफ्नी परीको 'एनाटोमी' बनाउँदै थिइन्।
मूर्तिकलामा एनाटोमी भन्नाले कुनै जीव वा त्यसको शारीरिक भाग जस्ताको त्यस्तै बनाउने कला भन्ने बुझिन्छ। लकडाउन नभइदिएको भए सजलले यति बेला आफ्नो पहिलो एनाटोमी तयार पारिसकेकी हुन्थिन्।
मूर्तिमा स-सानो विवरण स्पस्ट प्रस्तुत गर्न रूचाउने सजल नेपाली मूर्तिकला क्षेत्रका थोरै महिलामध्ये एक हुन्। अहिल्यै नै आफूलाई पूर्ण व्यवसायिक मूर्तिकार नमाने पनि उनी आफ्नो 'करिअर' को खुड्कलो चढ्ने तयारीमा थिइन्। लकडाउनले गोडा थमाइदियो।
तालिकाबद्ध चलिरहेको दैनिकीमा केही परिवर्तन आएको छ। यो समय कुनै योजनाबिनै सुरू भएको छुट्टि जस्तै भएको उनी बताउँछिन्।
तर धेरै गुनासो छैन। एनाटोमी अध्ययनमा व्यस्त उनी पढ्दै र व्यवहारिक ज्ञान सिक्दै थिइन्। विजयको ग्यालरीमा काम पनि गर्छिन्। विजयका प्रोजेक्टहरू व्यवस्थापनको जिम्मा सजलकै थियो। यसो हुँदा उनको धेरैजसो समय बाहिरी काममा खर्चिन्थ्यो। अहिले भने अधिकांश समय अध्ययनमा बित्छ।
'सुन्दा सहज सुनिएला। तर अध्ययन निकै गाह्रो हुने रहेछ। डाक्टरले बिरामी जाँचेर जसरी स–सानो कुरा ख्याल गर्नुपर्छ, एउटा कुरा बिग्रनासाथ मूर्ति नै बिग्रन्छ,' सजल सुनाउँछिन्, 'त्यसैले मूर्ति बनाउनुअघि एनाटोमी अध्ययन निकै महत्वपूर्ण छ। जानेपछि तपस्यामा बसे झैं काम गर्नुपर्छ। कुनै ठट्टाको विषय होइन।'
कला कुँद्ने हातहरू थामेर पढाइमा मात्र ध्यान दिइरहँदा कहिलेकाहीँ प्रेरणा कम भइदिन्छ। यस्तोमा उनी युट्युबमा सद्गुरू र रामदेवका प्रवचन, प्रेरणादायक भिडिओ हेर्छिन्।
'पहिलेदेखि नै हेर्थेँ। तर त्यस प्रकारको प्रेरणा क्षणिक हुने र प्रभावकारी हुँदैन भन्ने लाग्थ्यो। तर अहिले मेरो लक्ष्य र दर्शन स्पष्ट छ, त्यसैले यस प्रकारको भिडिओ प्रभावकारी लाग्छ,' २३ वर्षीय सजलले भनिन्।
सानैबाट सजललाई माटोसँग खेल्न खुबै मनपर्थ्यो। साथीसँगभन्दा एक्लै रमाउँथिन्। माटोसँग भने निकट थिइन्।
सामाखुसीकी उनी टोलमा जता घर बनेको चाल पाउँथिन्, प्लास्टिक बोकेर पुगिहाल्थिन्। सानो बेला आफ्नो कामै झोलाभरी कालो माटो बोक्ने र घर लगेर त्यही खेल्ने उनी बताउँछिन्। खेल्दा अनेक आकृति बन्थे, ठ्याक्कै के बन्थ्यो, अहिले उनलाई याद छैन। कुनै मान्छे जस्तो बन्थ्यो, कुनै चरा जस्तो, अग्लो धरहरा वा कुनै टावर जस्तो घर पनि बन्थ्यो।
पाँच कक्षा हुँदा मिल्ने साथीको आकृतिमा माटोको मूर्ति बनाउने प्रयास गरिन्। ती साथीलाई उपहार पनि दिइन्। 'तिमी त कति जान्ने रहिछौ,' त्यति बेला साथीले भनेका यस्ता शब्दले आफ्नो कलायात्रा अघि बढाउन सहयोग गरेको उनी बताउँछिन्।
एक्लै माटोसँग खेल्ने बालापनको बानी सजललाई अहिले अचम्म लाग्छ। तर आफ्नो मूर्तिकला यात्रा त्यही समयबाट सुरू भएको हेक्का छ उनलाई।
स्कुले लामो छुट्टि हुँदा उनी 'आर्ट' कक्षामा भर्ना हुन्थिन्। पुराना र फालिएका सामानको उपयोगीता खोज्ने पनि उनको रूचि थियो।
डिज्ने च्यानलमा आउने 'आर्ट अट्याक' सजलको मनपर्ने कार्यक्रम थियो। यो कार्यक्रममा पुराना सामानको नयाँ उपयोगीता सिकाइन्थ्यो। सजल सिकाइएको कुरा व्यवहारमा उर्तान खोज्थिन्।
'पुराना कागज, बोतलको जे बनाउन सिकाउँथ्यो, आफैं बनाउन खोज्थेँ,' उनले बाल्यकाल सम्झिँदै भनिन्, 'अहिले जस्तो जति बेला नि हेर्न मिल्ने युट्युब थिएन। आर्ट अट्याकको भाग छुट्यो भने तनाव हुन्थ्यो नि।'
बाल्यकालमा यसरी केही रचनात्मक कुरामा अल्झिरहने सजललाई फेरि समय आफ्नै लागि आएको हो कि भन्ने लागेको छ। आत्मविकासका लागि समय फर्किएको महशुस गर्दैछन्।
सानोमा खेल्दा खेल्दै बनाएका सानातिना सिर्जनालाई सजलका आमाबुवाले प्रोत्साहन गर्थे। बाल्यकालका घटना सम्झँदै भनिन्, 'तर मेरो खेल्ने शैली देखेर आमा अचम्म मान्दै 'के तालको केटी होला यो' भन्नुहुन्थ्यो।'
आफूले गरिरहेको कामलाई समाजले 'रूचि' मा परिभाषित गराउँथ्यो। आफैंले पनि कला पेसा नभएर रूचि नै ठान्थिन्। तर २०७५ मा स्नातक सकेपछि ख्याल आयो– रूचि नै भए पनि मन लागेको क्षेत्रमा अब पनि नलागे, जिन्दगीभर लाग्न सक्दिनँ।
त्यही विचारले उनी मूर्तिकला सम्बन्धी कक्षा बुझ्न थालिन्। कक्षा खोज्दै जाँदा छाउनीको 'आर्टुडियो' पुगिन्। त्यहाँ कलाकार गोपाल कलाप्रेमी श्रेष्ठले सेरामिकका भाँडा बनाउन सिकाए। त्यो उनको पहिलो औपचारिक सिकाइ बन्यो।
'तर मलाई लाक्षणिक मूर्तिकला मनपर्ने। लाक्षणिक मूर्तिकलामा सानो-सानो कला देखाउन पाइन्छ। त्यही खोज्दै भौतारिएँ,' उनले भनिन्, 'माटोको भाँडामा पनि कला, आकृति भर्न नसकिने होइन, तर सिमितता हुन्छ।'
लाक्षणिक मूर्ति कसरी बनाइन्छ भन्ने सोचिरहने उनको भेट मूर्तिकार विजय महर्जनसँग भयो। विजयको नेतृत्वमा काम गरिरहेकी सजल भन्छिन्, 'सानैदेखिको मिहेनत र सपना पूरा गर्दैछु।'
अहिलेको समयम व्यवहारिक रूपमा मूर्ति बनाउन सम्भव नभए पनि अध्ययन गर्न सकिने सोचले उनी एनाटोमी अध्ययनमा लागेकी हुन्। अध्ययनले कहिलेकाहीँ एकोहोरो बनाउँदा पेन्टिङमा हात सार्छिन्। सजललाई पेन्टिङमा पनि विशेष रूचि छ। लकडाउन अवधिमा चर्चित अमेरिकी गायक क्याटी पेरीको 'रोर' नामक गीतबाट प्रेरणा लिएर सजलले एउटा पेन्टिङ पनि तयार पारेकी छन्।
सजल पेन्टिङ कोर्दा विशेष काल्पनिक दुनियाँको चित्र कोर्छिन्।
कोरोना भाइरस महामारीमा त्रसित हुने समय हो। सजल आफूलाई सक्दो सकारात्मक राख्ने प्रयासमा रहेको बताउँछिन्। योग गर्न थालेकी छिन्। साँझपख परिवार र सदस्यसँगै ब्याडमिन्टन पनि खेल्छिन्। यो बेला परिवारका लागि समेत छुट्याइएको समय जस्तै भएको उनी बताउँछिन्।
'सायद यो समय कोकुनको अवधि हो,' निकै सकारात्मक भावमा उनले यो समय पुतलीको जीवनचक्रमा पर्ने कोयो समयसँग तुलना गर्दै भनिन्, 'यो समय आफ्नो लागि दिइएको समय जस्तै छ। सायद परिवर्तनको समय हो।'
सबै तस्बिर स्रोतः सजल सिवाकोटी