नरैनापुर गाउँपालिकामा सोमबार एकैदिन ५९ जनामा कोरोना संक्रमण पुष्टि भयो। तर उनीहरूलाई मंगलबार मध्यरातिमात्रै नेपालगन्जस्थित लाइन्स डेन्टल अस्पतालमा सारियो।
यो खबर तयार पार्दासम्म उनीहरू सबैलाई एकै ठाउँमा राखिएको छ। सबैलाई त्यहाँ राख्न सम्भव छैन। त्यसैले कहाँ लैजाने भन्ने अन्यौल सृजना भएको छ। कोहलपुरको पिपिरीमा लैजान खोज्दा स्थानीयले ल्याउन पाउँदैन भन्दै विरोध गरिरहेका छन्।
‘केहीलाई दाङतिर पठाउने भन्ने कुरा पनि चलिरहेको छ, तर, अझै यकिन भइसकेको छैन,’ एक सुरक्षा अधिकारीले भने, ‘नयाँ आइसोलेसन निर्माण गर्ने कि भन्ने कुरा पनि चलिरहेको छ।’
विश्वभर महामारीको रूपमा फैलिएको नेपालकै एक प्रमुख व्यापारिक सहर नेपालगन्ज र नरैनापुरमा गरेर संक्रमितको संख्या झन्डै १०० को हाराहारी पुग्दै छ। तर, त्योसँग जुध्न पूर्वतयारीको अवस्था भने भर्खरै सुरू हुन लागेको जस्तो देखिएको छ। त्यसअघि नरैनापुरका थप ८ जनालाई आइसोलेसन बेड अभावका कारण दाङको बेलझुण्डीमा ल्याइएको छ।
बाँकेको खजुरा अस्पतालमा यसअघि नै २५ जना संक्रमित राखिएको छ। अब त्यहाँ स्थान छैन। हाल ५९ जनालाई राखिएको नेपालगन्जको लाइन्स डेन्टल हस्पिटलमा सबैलाई राख्न सम्भव छैन। त्यति आइसोलेसन वेड नै छैनन्। त्यसैले उनीहरूलाई कहाँ लैजाने र कसरी व्यवस्थापन गर्ने भन्ने सवालमा सुरक्षाकर्मी तथा स्वास्थ्य अधिकारीका बीचमा निरन्तर छलफल हुँदै आए पनि टुंगो लाग्न सकिरहेको छैन।
नेपालगन्जको लाइन्स डेन्टल हस्पिटलमा ल्याएर राखिएकाहरूलाई बुधबार व्यवस्थापन गर्ने गरी छलफल भइरहेको जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए। संक्रमितमध्ये केहीलाई कोहलपुर पठाउने तयारी गर्दा त्यहाँका स्थानीयले विरोध जनाएपछि समस्या भएको छ।
‘आज थप छलफल गरेर केहीलाई कोहलपुरको पिपिरी र केहीलाई दाङतिर पठाउने कि भन्ने छ,’ फोकल पर्सन श्रेष्ठले भने।
६ वटा वडा रहेको नरैनापुरमा ६७ जना संक्रमित हालसम्म भेटिएका छन्। २५ वर्षीय एक युवकको कोरोनाका कारण मृत्यु भइसकेको छ। ३१७ जनाको नमूना परीक्षण गर्दा ६७ जनामा संक्रमण फेला परेको हो।
गाउँपालिकाका स्वास्थ्य उपसंयोजक नागेन्द्र साहका अनुसार वैशाख २४ गतेदेखि ३१ गतेसम्म भारतको महाराष्ट्र लगायतका विभिन्न सहरबाट मजदूरीमा गएका ८१४ जना घर फर्किएका छन्। उनीहरू सबैलाई क्वारेन्टिनमा राखिएको उनले जानकारी दिए।
नरैनापुरका समुदायमा कोरोना फैलिएको छ कि छैन भन्ने कुराको टुंगो बुधबार रिपोर्ट आएपछि मात्रै हुने भएको छ।
बाँकेमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको स्वाब संकलन
बाँकेमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहित मंगलबार ३४७ जनाको स्वाब संकलन गरिएको छ।
कोरोनको ‘हटस्पट’ बनेको बाँकेको नरैनापुर गाउँपालिकाका विभिन्न क्वारेन्टिनबाट थप १५८ जनाको नमुना परीक्षणको लागि संकलन गरिएको छ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले नरैनापुरस्थित जयरामपुरबाट ९८ जना, कालाफाटाबाट ६० जना लगायतका क्षेत्रबाट गरी १७८ जनाको स्वाब मंगलबार संकलन गरिएको जानकारी दिए। मंगलबार केही आशंका गरिएका समुदायका व्यक्तिहरूको समेत स्वाब संकलन गरिएको छ।
त्यसैगरी, डुडुवा गाउँपालिका, कोहलपुरस्थित सशस्त्र प्रहरीको आँखा अस्पतालबाट १६ , कोहलपुरको पिपिरीबाट २५, नेपालगन्ज मेडिकल कलेजबाट ८ र महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनबाट थप १४० जनाको स्वाब संकलन गरेर पिसिआर परीक्षणको लागि पठाइएको श्रेष्ठले जानकारी दिए। बाँकेका विभिन्न स्थानमा गरेर मंगलबार ३४७ जनाको स्वाब संकलन गरिएको उनले बताए।
श्रेष्ठले पहिलो पटक फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको समेत स्वाब संकलन गरिएको जानकारी दिए। नरैनापुरका स्थानीयको जानकारीका आधारमा एक जना भारतबाट आएर यो बीचमा ससुराली गएको र अर्को एक जना घर गएको भन्ने सुन्नमा आएको हुँदा ती व्यक्तिहरूको पनि स्वाब संकलन गरिएको छ।
काठमाडौंमा संक्रमण देखिएका एक जना सशस्त्र प्रहरी यो बीचमा बाँकेस्थित घरमा आएर बसेको र ती व्यक्ति सशस्त्र प्रहरीको अस्पतालमा रहेका व्यक्तिको सम्पर्कमा समेत आएको हुँदा स्बाव संकलन गरी परीक्षणका लागि पठाइएको हो। यसअघि पनि सशस्त्र प्रहरी अस्पतालमा रहेका ३० जनाको स्वाब संकलन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो।
अवरोध गर्नेलाई कारबाहीको माग
नरैनापुरका कोरोना संक्रमितहरूलाई नेपालगञ्ज ल्याउन खोज्दा अवरोध गर्दै अमानवीय हर्कत देखाउनेहरूलाई कारबाही गर्न जनप्रतिनिधिले माग गरेका छन्।
नरैनापुर वडा नम्बर १ का स्थानीय पूर्व प्रधान इशाक जोलाहाको निर्देशनमा वडा नम्बर २ का ‘पञ्चे’ भनिने अकबाल शेष , वडा नम्बर १ का ‘नफिज खाँ’ भनिने नासिर अहमद खाँ, ‘बड्कौ खाँ’ भनिने नुर अहमद खाँ र ‘जलिल तेली’ भनिने चुन्नु तेली लगायतको समूहले मंगलबार नाराबाजी गर्दै अवरोध पुर्याएको थियो। नफिज र बड्कौले माइकिङ गर्दै सार्वजनिक रूपमा सर्वसाधारणलाई संक्रमितलाई लैजान नदिन प्रतिकार गर्न हौसाउँदै प्रदर्शनमा उत्रिएका थिए।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहम्मद शाहले अनर्गल प्रचार गरेर समाजलाई भड्काउन खोज्ने तथा महासंकटको बेला पनि घटनालाई राजनीतिकरण गर्नेलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन्।
उनीहरूले कोरोना भएको भन्ने झूटो रिपार्ट भएको दाबी गर्दै सरकारले मार्न बाहिर लैजान लागेको भन्दै माइकिङ गरेका थिए। गोली हानेर वा गलत औषधि खुवाएर मार्छ भन्दै स्थानीयहरूलाई उनीहरूले भड्काएका थिए।
त्यही अनर्गल प्रचार गरेर स्थानीयलाई नै अवरोधमा उतारेपछि तनावको अवस्था सिर्जना भएको थियो । राति अबेर नेपाली सेनाको टोली पुगेर मात्रै वडा नम्बर २ लक्ष्मणपुरस्थित आदर्श मावि क्वारेन्टाइनका संक्रमित १२ जनालाई एम्बुलेन्समा राखेर नेपालगञ्ज ल्याइएको हो।
अफवाह फैलाउने, प्रहरी प्रशासनको काममा अवरोध गर्ने र महामारीका बेला संक्रमितलाई अस्पतालमा ल्याउन नदिनु गलत कार्य भएको भन्दै घटनामा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउने सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।