सात सालको क्रान्तिदेखि २०४६ को जनआन्दोलन नेतृत्व गरेका 'लौहपुरूष' गणेशमान सिंहसँग जोडिएका संस्मरण र तस्बिर ट्वीटरमा सेयर गर्ने सिर्जना सिंहले शुक्रबार एउटा रोचक सम्झना बाँडेकी छन्।
गणेशमानकी बुहारी तथा नेपाली कांग्रेसका नेता प्रकाशमानकी पत्नी सिर्जनाले अन्तर्राष्ट्रिय चिया दिवस (मे २१) को अवसर पारेर गरेको उक्त ट्वीटमा विवाहपछिको पहिलो बिहान सम्झेकी छन्।
उनी लेख्छिन्- 'भर्खर बिहे भएको.. कि आमाले कि सहयोगीले चिया बनाएको देखेको माइतीमा.. बिहानै उठेर चिया बनाउन गएको त गणेशमान बाले स्टोभ पुसेर पानी पनि बसाल्दिसक्नुभएको.. चिया चाहिँ पिएल दाइले बनाउनुहुने रहेछ.. पछि मात्र थाहा पाएँ घरको अवस्था.. भाषणमा मात्र होइन, घरको काममा पनि सबै बराबर रहेछ भनेर।'
यही ट्वीटलाई लिएर हामीले सिर्जनासँग शुक्रबार कुराकानी गर्यौं।
'गोरखाबाट विवाह गरेर काठमाडौं आएकी थिएँ। यहाँको तौरतरिकासँग परिचित थिइनँ। त्यसमाथि पहिलो दिन बिहानै भान्सामा गणेशमान बा र पिएल (सिंह) दाइलाई देखेपछि अनौठो लागेको थियो,' उनले भनिन्, 'चिया दिवसमा त्यो सम्झना सान्दर्भिक हुने देखेर सेयर गरेको।'
उनले अगाडि भनिन्, 'त्यस बेलाको पितृसत्तात्मक समाजमा कुनै घरमा यस्तो होला भनेर मैले सोचेकै थिइनँ। पछि थाहा पाएँ, त्यो त उहाँहरूको दैनिकी नै रहेछ। गणेशमान बा आफ्नो राजनीतिक भाषणमा मात्र होइन, घरभित्र पनि सबैलाई बराबर गर्नु हुँदो रहेछ।'
उनकी सासू तथा नेपाली कांग्रेसकी नेता मंगलादेवी एकाबिहानै पूजापाठमा व्यस्त हुन्थिन्। चिया पकाउने काम गणेशमान र पिएल सिंहले नै गर्थे।
२०१७ सालमा राजा महेन्द्रले 'कू' गरेपछि नेपाली कांग्रेसका अन्य नेताहरूसँगै गणेशमान जेल परे। उनकी पत्नी मंगलादेवी स्वास्थ्य समस्याले अस्पताल भर्ना भइन्। त्यस बेला पिएल सिंह त्रिचन्द्र क्याम्पसमा विद्यार्थी नेता थिए। उनी पञ्चायतको सुरक्षा निगरानीबीच पनि बिरामी मंगलादेवी र उनका केटाकेटीको रेखदेख गर्न अघि सरे। त्यसै बेलादेखि उनी गणेशमानकै पारिवरिक सदस्यका रूपमा रहेको सिर्जनाले बताइन्।
२०४६ को जनआन्दोलनपछि काठमाडौंको मेयर भएका पिएल चिया पारखी थिए। आफ्ना लागि मात्र होइन, घर आएका पाहुनाहरूका लागि पनि चिया बनाउन अघि सर्थे। उनले चिया बनाउनुअघि भान्सामा गएर स्टोभ पुछपाछ गर्ने काम गणेशमानको थियो।
'हरेक बिहान घरका सबै सदस्यलाई चिया पकाएर खुवाउने जिम्मा नै उहाँहरू दुई जनाको थियो,' उनले भनिन्।
सिर्जना चाक्सीबारीस्थित गणेशमान निवासमा भित्रिएको २०४२ सालमा हो। उनी विवाह गरेर गएपछि पनि गणेशमान र पिएलको चिया पकाउने कर्म रोकिएन।
सिर्जनाले एकदिन भनेकी थिइन् रे, 'अब चिया पकाउने जिम्मा मलाई दिनुस् बा।'
गणेशमान मानेनन्। भनेछन्, 'बिहान बिहान हातको कसरत हुन्छु, हामी नै गर्छौं।'
'यो त उहाँको बहाना मात्र हो भन्ने मलाई थाहा थियो, वास्तवमा उहाँले घरका महिलालाई सजिलो होस् भनेर घरायसी काममा सहयोग गर्नुभएको थियो,' सिर्जनाले भनिन्।
चिया पकाउने मात्र होइन, गणेशमान फुर्सदमा घाम तापेर बस्दा चामल पनि केलाइदिन्थे। 'यसै बस्नुभन्दा चामल केलाउँछु नि भन्नुहुन्थ्यो,' उनले सम्झिइन्, 'उहाँ घरायसी काम गर्न कुनै अप्ठ्यारो मान्नु हुन्नथ्यो। आफ्नो लुगा आफैं धुनु हुन्थ्यो, अरू पनि जुनसुकै काम गर्न पछि पर्नु हुन्थेन।'
घरेलु काममा समेत पुरूषहरू बराबर सहभागी भएको देखेर अनौठो लागे पनि विस्तारै बानी पर्दै गएको उनले बताइन्।
'अहिले पनि यो संस्कार घरमा यथावत् छ,' उनले भनिन्।
गणेशमानलाई सम्झँदै उनले अगाडि भनिन्, 'भाषण एउटा र घरमा अर्को व्यवहार गर्ने उहाँको बानी थिएन। त्यो देख्दा खुसी भएँ। समाजवाद र परिवर्तनको धेरै कुरा सुने पनि खासमा त्यो भनेको के हो भन्ने यही घरमा आएर सिकेँ।'