सर्लाहीमा शनिबार पुष्टि भएका कोरोना संक्रमित एक साताअघि भारतका विभिन्न ठाउँबाट फर्केकाहरू रहेको खुलेको छ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सेतोपाटीलाई दिएको जानकारीअनुसार कोरोना संक्रमण पुष्टि भएका १३ जना भारतबाट फर्केका हुन्।
‘उहाँहरू भारतका दिल्ली, मुम्बई र गुजरातबाट एक साता अघि गाउँ फर्किनुभएको खुलेको छ,’ उनले भने।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कूल ३२ जनामा कोरोना संक्रमण रहेको पुष्टि गरेकोमा १३ जना सर्लाहीका हुन्।
भारतबाट आएका उनीहरू क्वारेन्टाइनमा बसेका थिए। पिसिआर परीक्षणका क्रममा उनीहरूमा कोरोना देखिएको हो।
संक्रमितमध्ये १२ जना गोडैता नगरपालिका र एक जना कविलासी नगरपालिकाको रहेको प्रजिअ जिसीले जानकारी दिए।
कविलासी नपाका संक्रमित अहिले काठमाडौंमा छन् । ‘कविलासी घर भए पनि एक जना हाल काठमाडौंमा छन्,’ उनले भने।
गोडैता नगरपालिकालाई भने सील गरेको उनले बताए।
यसअघि शुक्रबार सर्लाहीका १५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १३ जना गोडैता नगरपालिकाका रहेका थिए।
गोडैता नगरपालिकामा दुई दिनमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
शुक्बार भेटिएका संक्रमितहरुलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ भने शनिबार भेटिएका संक्रमितलाई मंलगवाको एक अस्पतालमा राखिएको छ।