आइतबार बाँकेका ४ र बर्दियाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। दाङको राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षण रिपोर्टमा दुई जिल्लाका गरी थप पाँच जनामा कोरोना संक्रमण देखिएको हो।
बाँके जिल्लाका राप्ती सोनारी गाउँपालिका वडा नं. ५ का १६, २३, २३ र २४ वर्षीय युवाहरूमा कोरोना संक्रमण देखिएको छ। उनीहरू नारायणपुर भवनपुर माविको क्वारेन्टिनमा बसेकाहरू हुन्।
त्यसैगरी बर्दिया जिल्लाको बाँसगढी वडा नं. ९ निवासी एकजना २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले जानकारी दिएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०८ पुगेको छ। तीमध्ये ८७ जना उपचारपछि घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ।
दाङ, बाँके, बर्दियाको गरी २२९ वटा नमूना परीक्षण गर्दा २२४ जनाको रिपोर्ट नेगेटिभ आएको कायममुकायम रजिष्ट्रार देवले जानकारी दिएका छन्।
आइतबार थप २६६ वटा नमूना प्रक्रियामा रहेको प्रतिष्ठानले जानकारी दिएको छ। हालसम्म प्रतिष्ठानमा १,६६४ वटा नमूना संकलन भएकामध्ये १,३७८ रिपोर्ट आएको छ। त्यसमा ३६ जनाको रिपोर्ट पोजेटिभ छ भने १,३४२ को नेगेटिभ छ।
कोरोना संक्रमितको ठेगाना गलत
यसबीच राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले वडा नम्बर ५ मा स्वाब संकलन नभएको सेतोपाटीलाई बताएका छन्। ‘वडा नं. ५ मा स्वाब नै संकलन भएको छैन र अर्को कुरा नारायणपुर भवनपुर मावि भन्ने स्कुल नै छैन,’ बस्नेतले भने।
उनले बरू दुई दिनअघि राप्ती सोनारी गाउँपालिका वडा नं. ७ बाट ४६ जनाको स्वाब संकलन गरिएको जानकारी दिए। ती स्वाब नै परीक्षणका लागि दाङस्थित प्रतिष्ठान पठाइएको हुन सक्ने बस्नेतले बताए।
गलत सूचनाले अन्यौल सिर्जना भएको र त्यसले आफू लगायत स्थानीयलाई आश्चर्यमा पारेको बस्नेतले जानकारी दिए।