दाङ घोराही उपमहानगरपालिका वडा नं. ९ भगुवारका ४४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको ८ पछि मात्रै उनको घर परिवारको स्वाब संकलन भएको छ।
मंगलबार मात्रै संक्रमितका अभिभावक, पत्नी र बच्चाहरुको स्वाब संकलन गरिएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
घोराही ९ का वडाध्यक्ष मानबहादुर बस्नेतले कोरोनाभाइरस संक्रमितको घरमा तीन दिन अगाडि पुगेर गाउँ घरमा नजान सचेत तुल्याइएको भए पनि मंगलबार मात्रै स्वाब संकलन गरिएको बताए।
संक्रमितको गुरैया टोलमा जम्मा १७ घर परिवार मात्रै रहेको हुँदा त्यो टोललाई तीन दिन अगाडि नै सिल गरिएको वडाध्यक्ष बस्नेतले बताए।
‘म आफैं गएर टोलका सबैलाई टोल बाहिर नजान र बाहिरवाट पनि आउन नदिन आग्रह गरेको हुँ,’ बस्नेतले भने ‘त्यहाँ प्रवेश गर्ने दुईवटै बाटोमा बाँसको तगारो राखेर बाटो समेत बन्द गरिएको छ।’
४४ वर्षीय संक्रमित ती पुरुषमा गत जेठ ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमन भएको पुष्टि गरेको थियो। संक्रमित काठमाडौंको एक अपार्टमेन्टमा सुरक्षागार्डको काम गर्छन्।
उनकी हजुरआमाको निधन चैत १ गते भएपछि १० औं दिनमा चैत १० गते उनी दाङ आएका थिए ।
घर नआएर सोझै घोराही–१५ भरतपुरस्थित आफ्ना साइला अंकलको घरमा पुगेका थिए। उनका घर परिवारका सबै सदस्यहरु हजुरआमाको किरिया भरतपुरमै बसेको हुँदा उनी सोझै त्यहाँ गएको संक्रमितका बुवाले जानकारी दिए।
१३ औं दिनको काजपछि मात्रै ती संक्रमित घोराही ९ भगुवारस्थित घर आए। संक्रमित व्यक्ति वैशाख ३१ गते घरबाट काठमाडौं हिँडे पनि उनी जेठ १ गते मात्रै काठमाडौं पुगेका थिए।
*सच्याइएको