बर्दियाको क्वारेन्टिनमा बुधबार बिहान एक जना पुरुषको मृत्यु भएको छ।
गुलरियाको बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका ५५ वर्षीय एक व्यक्तिको बुधबार बिहान सवा ६ बजेतिर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सेतोपाटीलाई बताए।
‘उहाँ हिजोमात्रै अछामबाट आउनु भएको रहेछ,’ लामिछानेले भने, ‘सोझै क्वारेन्टिनमा पठाइएको उहाँको आज बिहानै मृत्यु भएको भन्ने छ।’
गुलरिया नगरपालिका–९ का ५५ वर्षीय ती व्यक्तिलाई बिहान असजिलो भएको भन्ने जानकारी आएपछि एम्बुलेन्स पठाइएको भए पनि त्यो भन्दा पहिले नै उनको मृत्यु भइसकेको भन्ने खबर आफूले पाएको प्रजिअ लामिछानेले जानकारी दिए।
‘मृतकलाई कुनै समस्या थियो वा थिएन त्यो पत्ता लागि सकेको छैन,’ प्रजिअ लामिछानेले भने, ‘उहाँहरू १६ जना आएको भन्ने छ, उहाँहरू एकै ठाउँबाट सँगसँगै आएको हो कि बाटोमा भेटिएर आउनु भएको हो? त्यसको अनुसन्धान हुँदै छ।’
मृतक अछामबाट मजदूरी गर्न गएको र मंगलबारमात्रै फर्केर आएको प्रजिअ लामिछानेले बताए।
मृतकको शव जिल्ला अस्पताल गुलरियामा राखिएको र स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको जानकारी दिए।
परीक्षण रिपोर्ट बिहीबारसम्म आउन सक्ने अनुमान गर्दै प्रजिअ लामिछानले रिपोर्ट आएपछि मात्रै अन्त्येष्टिको प्रक्रिया सुरू हुने बताए ।