विश्व कोरोनाभाइरसको महामारीसँग जुधिरहेको बेला भारतमा लाखौंको संख्यामा सलह कीरा आएका छन्।
नेपालमा पनि यो कीरा आउन सक्ने सम्भावना देखिएको छ। नेपालमा सलह आए कसरी नियन्त्रण लिने भन्नेबारे विभिन्न कोणबाट चर्चा भइरहेको छ।
भारत सरकारले किसानको बाली जोगाउन किटनाशक औषधि छर्किने अभियान थालिसकेको छ। जसमा ड्रोनको समेत प्रयोग गरिएको छ।
यो अभियान राजस्थान, मध्यप्रदेश, गुजरात, उत्तर प्रदेश र पन्जाब लगायतका तीन सय ठाउँमा सञ्चालन थालिएको कृषि मन्त्रालयका प्रवक्ता प्रविन कविले बिहीबार बताएका छन्।
आउँदो जुन-जुलाईमा सलह कीरा पाकिस्तानमा समेत पुग्ने अनुमान गरिएको छ।
'मेको अन्तिम र जुन-जुलाईमा सलह कीरा आउने सम्भावना उच्च छ,' पाकिस्तानको सिन्ध प्रान्तको टेक्निकल डिपार्टमेन्ट अफ प्लान्ट प्रोटेक्सनका निर्देशक तरिक खानले भने।
पाकिस्तानमा यसअघि पनि सलह कीराले कयौं किसानको बाली नष्ट गरिसकेको छ। तर भारतमा जस्तै पाकिस्तानमा सबैले किटनाशक औषधिको प्रयोग भने गरेका छैनन्।
गएको फेब्रुअरीमा सलह कीराबाट पाकिस्तानका केही वैज्ञानिकहरूले पैसासमेत कमाएका थिए।
नेसनल फुड सेक्युरिटीका सेवक अलि मोहम्मद खुर्सिद र पाकिस्तानी कृषि रिसर्च काउन्सिलका बायोटेक्नोलोजिस्ट जोहर अलिले सलह कीरालाई मार्नुको सट्टा समातेर कुखुरा फार्ममा बेचेका थिए।
उनीहरूले ओकरा जिल्लामा 'कीरा समाऔं, पैसा कमाऔं, खेती जोगाऔं' भन्ने तीन दिने परीक्षण थालेका थिए।
रातको समयमा समाउन सजिलो हुने भएपछि किटनाशक औषधि प्रयोग नभएको जंगलमा उनीहरू १०-१५ जना किसानलाई लिएर पुगे।
केही किसानले यसको सुरूआतमा खिल्लीसमेत उडाए।
पहिलो दिन थोरै किसानहरूले सहयोग गरेका थिए भने धेरै रकम कमाइने भएपछि सयौं किसान आफैं झोला बोकेर कीरा समाउन पुगे। कीरा समाएर एक रातमै किसानहरूले २० हजारसम्म कमाएको द थर्ड पोलले जनाएको छ।
सन् २०१९ मा यमनमा पनि सलहविरूद्ध यस्तै तरिका अपनाइएको थियो।
यमनका दुई युवकले पनि सलह समाएर कुखुरा फार्ममा बेचेका थिए। यो तरिका अपनाउँदा सलहबाट पैसा कमाउनेमात्र होइन किटनाशक औषधि छर्केर पारस्थितिक प्रणालीमा पर्ने असर पनि कम हुन्छ।
पाकिस्तानकै किटनाशक औषधि प्रयोग गरिएका ठाउँका वन्यजन्तुमा असर परेको देखिएको छ।
गुलाम सरवार पानह्वारको कपास र मोरिंगाको खेती करौडौं कीराले नष्ट गरेपछि किटनाशक औषधि छर्किइएको थियो।
'किटनाशक औषधिले सुगाहरू मर्न थालिसकेका छन्। सलह कीरा खाने कागहरू पनि आउन छाडिसकेका छन्,' पानह्वारले भने। हाइटेक फिड्सका कार्यकारी व्यवस्थापक मोहम्मद अथारले सलह कीरालाई किटनाशक औषधि प्रयोग गर्नुभन्दा त्यसलाई समाएर कुखुरालाई खुवाउनु फाइदाजनक हुने बताए।
हाइटेक ग्रुप पाकिस्तानको ठूलो पोल्ट्री ब्रिड हो। उनको फार्ममा बोइलर कुखुरालाई पाँच हप्तासम्म सलह कीरा खुवाइएको थियो।
उनका अनुसार सलहमा कुखुरालाई चाहिने सबै खालका पोषण तत्वहरू पाइएको थियो। कुनै किटनाशक औषधि प्रयोग नगरी समाउन सके माछामासमेत प्रयोग गर्न सक्ने उनले बताएका छन्।