भारत जोगवनी फरबेसगञ्जका मोहम्मद अख्तर आफ्नो परिवारका सुनौला सपनाहरु पूरा गर्नका लागि रोजगारी गर्न नेपाल आए।
१४ वर्षअघि पैसा कमाउने उद्देश्यले राजधानी काठमाडौं छिरेका अख्तरलाई लकडाउनले भने ठूलै समस्या पार्यो।
लकडाउनपछि न काम भयो, न हातमुख जोड्ने उपाय नै रह्यो। अख्तर भन्छन् ‘होलीको छुट्टीमा गाउँ जाँदा श्रीमती र बच्चालाई पनि साथमा ल्याएको थिएँ, १५ दिनमै लकडाउन भयो।’
काम नभएपछि काठमाडौंमा दैनिक जीवन बिताउन असहज हुँदै गयो।
भोकै बस्नु पर्ने बाध्यताबाट मुक्ति पाउनकै लागि होली बिदापछि काठमाडौं आएका मोहम्मदले श्रीमती मुन्नी खातुन, ६ वर्षीया छोरी जास्मिन र ४ वर्षीय छोरा माजितलाई लिएर फेरि घर फर्कने निधो गरे।
हिँड्न नसक्ने कलिला छोराछोरीलाई बोकेर गन्तव्य तय गर्नु उनीहरुका लागि सानो चुनौति थिएन। तै पनि आँट बोके धुलिखेल, बर्दिबास हुँदै पैदल यात्रा थाले।
उनले भने ‘काठमाडौंमा भोकै बस्नुभन्दा घरमै नुन रोटी खाएर बाँच्नु ठीक लाग्यो अनि हामी घर जान काठमाडौंबाट हिँड्यौँ।’ अख्तर काठमाडौंको जोरपाटीमा रहेको एउटा गलैँचा फ्याक्ट्रीमा काम गर्दै आएका थिए।
केही स्थानीयले स–साना बच्चाहरु देखेर उनीहरुलाई खाने कुरा र पिउने पानीको व्यवस्था समेत गरिदिए। बाटोमा गाडी र पैदल यात्रापछि चार दिनमा उनीहरु मंगलबार महोत्तरीको बर्दिबास आएका हुन्। उनीहरु आफ्नो घर जोगबनी जाने छन्।
बाटोमा बेलाबेलामा काठमाडौंबाट आवतजावत गर्ने गाडीलाई उनीहरुले रोक्नका लागि हात देखाउँथे। धेरैले वास्ता गर्दैनथे।
उनी भन्छन् ‘कलिला बालबच्चा हिँड्न मान्दैनथे, हात देखाउँदा धेरैले रोक्दैनथे। एउटा निजी गाडीले रोक्यो ८ हजार माग्यो, हामीसँग पैसा थिएन, एमआइ नोट सेभेन फोन थियो, त्यही दिन तयार भयौं।’
उनलाई गाडी रोकाएको ठाउँको नाम पनि थाहा छैन। पैसा तिरेपछि सो गाडीमा करिब डेढ घण्टासम्म यात्रा गरिएको उनले बताए।
बर्दिबाससम्म आएका उनले थपे ‘यहाँसम्म आउँदा मोबाइल बेच्यौँ, तर केही छैन, परिवार रह्यो भने सबथोक छ।’ अख्तरले केही दिन पहिले मात्रै २२ हजारमा सो मोबाइल किनेका थिए।
उनले भने ‘हामीले अर्को मोबाइल दिन खोजेका थियौँ तर सवारी चालकले मानेनन् अन्त्यमा त्यही फोन दियौं।’
बर्दिबास पुगेपछि उनीहरुलाई स्थानीय जनसहयोगी सञ्जालका युवाहरुले चिउरा, दालमोठ, बिस्कुट, पिउने पानी उपलब्ध गराएका थिए।
सञ्जालका युवा अनुप पोखरेलका अनुसार लकडाउनका कारण भोकै रहेका व्यक्ति र हिँड्दै बर्दिबाससम्म आइपुगेका बटुवाहरुलाई सञ्जालले खाजा र पानीको व्यवस्था गर्दै आएको छ।
सञ्जालले नै उनीहरुलाई भण्टाबारीसम्म पुग्नका लागि गाडी समेतको व्यवस्था गरिदिएकाे थियाे। भण्टाबारीबाट केही घण्टा हिँडेपछि जाेगबनी पुग्न सकिन्छ। सायद यतिबेला उनीहरु घर पुगिसके।