लकडाउनका बेला पसल खोलेको भन्दै प्रहरीले जनकपुरका एकजना व्यापारीमाथि निर्मम कुटपिट गरेको छ।
जानकी चोकमा केही व्यापारीले पसल खोल्न लागेको जानकारी पाएपछि बिहीबार बिहान प्रहरी सहायक निरीक्षकको टोली पसल बन्द गराउन गएको थियो।
सोही क्रममा ती व्यापारीसहित अन्यले प्रहरीमाथि दुर्व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
जानकी चोक गिफ्ट हाउस सञ्चालन गर्दै आएका श्याम चौधरीलाई प्रहरीले कुटपिट गरेको थियो।
व्यापारी कुट्ने असई र एक जना जवानलाई कारबाहीस्वरूप प्रदेश प्रहरी कार्यालय तानिएको छ।
जानकी प्रहरी चौकीका इन्चार्ज असई मेरुलाल चौधरी र प्रहरी जवान दीपक यादवलाई प्रदेश प्रहरी कार्यालय तानेको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए।
‘यादव र चौधरीको काम गर्ने तरिकामा त्रुटी पाइएकाले उनीहरूलाई प्रदेश प्रहरी कार्यालय झिकाइएको हो,’ डिआइजी सिंहले सेतोपाटीसँग भने।
उनका अनुसार व्यापारीमाथि भएको कुटपिटबारे छानबिन गर्न प्रदेश प्रहरी प्रवक्ता एसपी जयराज सापकोटाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।
‘खासमा उनीहरू लकडाउन पालना गराउनकै लागि गएका हुन् तर सम्झाउनुभन्दा पनि उनीहरूले बल प्रयोग गरे,’ डिआइजी सिंहले भने।