साढे दुई महिनादेखि बन्द रहेको जनकपुरधामको बजार लकडाउनका बीच भोलिदेखि खुल्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषामा आज बिहान जिल्ला सुरक्षा समिति र व्यवसायीहरुबीच भएको छलफलले कोरोना भाइरसबाट बच्न निश्चित मापदण्ड निर्धारण गरेर बजार खोल्ने सहमति गरेको हो।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जनकपुरधाम उद्योग वाणिज्य संघ र जनकपुर चेम्बर अफ कमर्सका पदाधिकारीहरुबीच भएको छलफल पछि सामाजिक दूरी कायम गरेर मध्यान्ह १२ बजेसम्म सबै पसलहरु सञ्चालन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।
‘बिहानदेखि मध्यान्ह १२ बजेसम्म सबैजसो पसलहरु सञ्चालनमा आउनेछन् र १२ बजेपछि औषधि पसलबाहेक अन्य सम्पूर्ण पसलहरु बन्द गरिनेछ’ भन्ने निष्कर्ष छलफलबाट निकालिएको छ’ उनले भने ‘तर सैलून, पार्लर, होटेल, रेस्टराँ, सिनेमा भने खोलिने छैनन्।’
अन्य स्थानहरुमा व्यापार व्यवसाय सञ्चालनमा छुट रहेको भन्दै जनकपुरधामका व्यापारीहरुले समेत बजार खोल्न दबाब दिएपछि उक्त सहमति भएको हो।
पसल सञ्चालन गर्दा सेनिटाइजर, साबुन पानी, मास्क, पञ्जा र सामाजिक दुरीको व्यवस्था अनिवार्य लागू गरि सतर्कतापूर्वक सञ्चालन गर्ने सहमति भएको चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज कुमार मिश्रले जानकारी दिए।
यसअघि हिजो पसल खोलेकै निहुँमा प्रहरीले एक जना व्यवसायीमाथि कुटपिट गरेको थियो।