फ्रन्टलाइनका कमान्डर
अचेल पाँच वर्षको छोरा ढोकानजिकै आएर हेरिरहँदा उनलाई काखमा लिएर उचालौंजस्तो लाग्छ। पहिला-पहिला दिनभरि ड्युटीमा व्यस्त रहे पनि उनी साँझ-बिहान छोराछोरी खेल्थे, परिवारसँग बसेर रमाइलो गर्थे, सँगै खाना खान्थे। छोराछोरीलाई दाँयाबाँया राखेर सुस्ताउँदा पनि दिनभरिको थकान मेटिएजस्तो हुन्थ्यो।
अहिले उनलाई यी सबै कुरा गर्न छुट छैन। पछिल्लो दुई महिना यता उनी र उनको परिवारलाई यी सबै कुरा गर्न भौतिक दूरीले छेकिदिएको छ।
आठ वर्षदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर सुदर्शन थापा साढे दुई महिनायता बुटवल कोरोना आइसोलेसन अस्पतालको फोकल पर्सन रूपमा काम गरिरहेका छन्।
नेपालमा कोरोनाको संक्रमण दिनदिनै बढिरहेको छ। संक्रमितको संख्या बढेसँगै आइसोलेसन अस्पतालमा फ्रन्टलाइनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यस्तता पनि बढेको छ।
बुटवलमा कोरोना संक्रमितकै लागि भन्दै भेन्टिलेटरसहितको आइसियू तयार भएपछि यहाँ कोरोनाका गम्भीर अवस्थाका बिरामीको समेत उपचार भइरहेको छ।
सामान्य अवस्थाका संक्रमितलाई आइसोलेसनमा टाढैबाट काउन्सिलिङ गर्न सकिए पनि आइसियूमा रहेका गम्भीर अवस्थाका बिरामीलाई भने नजिकै पुगेर उपचारमा खटिनु पर्छ।
कोरोनाका संक्रमितको नजिक रहेर रेखदेख र उपचारमा खटिइरहेका डाक्टर थापा छोराछोरी र घरपरिवारसँग भने टाढिएको बताउँछन्।
बिहानदेखि साँझसम्म लुम्बिनी प्रादेशिक अस्पताल र कोरोना अस्पताल दुबैतर्फ व्यस्त हुने थापा घर पुगेपछि पनि अलग्गै कोठामा बस्छन्, खाना पनि त्यही कोठामा खाना खान्छन्।
‘साढे दुई महिना भयो अलग्गै कोठामा बस्न थालेको। घर परिवारसँग पनि नजिक जान डर लाग्छ, कोठामा अलग्गै बस्छु, खाना पनि अलग्गै खान्छु,’ डाक्टर थापाले भने।
उनकी छोरी ११ वर्षकी छन् अलि कुरा बुझ्छिन्। तर छोरा सानै छन् काखमै आउन खोज्छन्।
‘नजिकै आएर रुन्चे अनुहार लगाउँदा मलाई पनि नरमाइलो लाग्छ,’ उनले भने।
टिमवर्कमा आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकेकोमा उनी सन्तुष्ट छन्। डाक्टर थापालाई मेडिकल अफिसर समीर आचार्य र नर्सिङ इन्चार्ज ज्योति पौडेलसहित ४० जना स्वास्थ्यकर्मीको टिमले सघाउँदै आएको छ।
कोरोना महामारी नफैलिएको भए थापा अहिले लुम्बिनी प्रादेशिक अस्पतालको ओपिडीमा बिरामी जाँचिरहेका हुन्थे। अहिले अवस्था सामान्य छैन। उनले बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा खटिएको स्वास्थ्यकर्मीको नेतृत्व गरिरहेका छन्।
साढे दुई महिना पहिलेको र अहिलेको पेशा एउटै भए पनि उनको जिम्मेवारी र जीवनशैली भने फेरिएको छ। त्यही जिम्मेवारीलाई पूरा गर्न उनी व्यस्त छन्। आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको उपचार र आत्मबल बढाउनेसँगै स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने जिम्मेवारी पनि उनकै काँधमा छ।
‘जिम्मेवारी थपिएपछि कामको व्यस्तता बढ्ने नै भयो, मलाई विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न पाउँदा भने खुसी छु,’ थापा भन्छन्।
उपचारमा खटिइरहने स्वास्थ्यकर्मीमाथि कतिपय ठाउँमा भइरहेको हातपात र डेराबाट निकाल्ने घटनाले भने उनलाई दु:खित बनाउने गर्छ।
‘अहिले जनमानसमा कोरोना भन्नेबित्तिकै ठूलो भय र त्रास छ, कतिपय ठाउँमा डेरामा बसेका स्वास्थ्यकर्मीलाई डेराबाट हटाउने गरेका घटना पनि बाहिर आएका छन् यो उचित होइन,’ उनले भने, ‘मानिसहरू कोरोना र फ्रन्टलाइनमा काम गर्नेसँग डराउँछन् तर घरबाहिर निस्किन, साथीभाइसँग जमघट गर्न छोड्दैनन्। आफू जोगिने उपाय नअपनाउने तर मनमा डर पाल्ने गरेर कोरोनालाई जित्न सकिदैन, कोरोनालाई जित्न अनुशासन र सामाजिक दूरी पहिलो शर्त हो।’
सामाजिक दूरी कायम गर्ने, समय-समयमा साबुन पानीले हात धोइरहने, बाहिर जाँदा मास्क, ग्लोभ्स, सेनिटाइजरजस्ता वस्तुको सही प्रयोग गर्न सकियो भने कोरोनाको संक्रमणबाट जोगिन सकिने उनको सुझाव छ।
उसो त कोरोना विशेष अस्पतालको जिम्मेवारीमा खटिँदा सुरूमा उनको मनमा पनि भय र त्रास थियो।
‘सुरूमा त अलि गाह्रो नै भयो, कोरोना संक्रमणबारे सबै अन्योलमा थियौं, संक्रमितको नजिक गयो भने सरिहाल्छ, सरिहाल्यो भने मरिहालिन्छ भन्ने त्रास, डर र भ्रम सबै थियो,’ डाक्टर थापा भन्छन्, ‘घरपरिवारले पनि कोरोना अस्पतालको जिम्मेवारी नलिए हुने थियो भन्थे, तर संकटको बेला हामी आफ्नो जिम्मेवारीबाट उम्किन मिल्दैनथ्यो अहिले जिम्मेवारी लिएर काम गरिरहँदा सबै सहज बन्दै गएको छ।’
डाक्टर शुभम शर्मा घर नगएको दुई साता पुगिसक्यो। शर्मा भीम अस्पताल भैरहवाका मेडिकल अफिसर हुन्। कोरोना महामारीपछि भीम अस्पताललाई कोरोना अस्पतालका रूपमा परिणत गरेपछि उनी पनि कोरोना संक्रमितकै सेवामा खटिइरहेका छन्।
भीम अस्पतालदेखि २ मिनेटकै दूरीमा रहेको रुद्रपथमा उनको घर छ। तर उनी अहिले होटलमा बसिरहेका छन्।
‘सुरक्षित भएर कोरोना संक्रमितको उपचारमा खटे पनि वृद्ध हुनुभएका हजुरबुवा-आमा हुनुहुन्छ, बुवाआमा पनि साठी प्लस हुन लाग्नुभयो त्यसैले पनि घरमा गइरहन डराउनु परेको छ,’ डाक्टर शर्माले भने।
उनी कोरोना अस्पताल जाने कुरा गर्दा सुरूमा बुवाआमाले नराम्रो मानेछन्। विश्वभर फैलिएको डर र त्रासका कारण उनलाई पनि कोरोना अस्पतालमा खटिँदा गाह्रो भएको थियो।
तर उनले आफूलाई दिएको जिम्मेवारी निर्धक्क भएर पूरा गर्ने निधो गरे। अहिले उनी सन्तुष्ट छन्, सबैभन्दा धेरै खुसी त उनलाई संक्रमित निको भएर घर जाँदा हुन्छ।
भीम अस्पतालबाट अहिलेसम्म २५ जना संक्रमित कोरोना जितेर घर गइसकेका छन्। अहिले पनि संक्रमितहरु अस्पतालमा आउने-जाने भइरहेको छ। संक्रमित थपिने र जितेर घर जाने भइरहँदा उनलाई पनि कोरोना सामान्य रुघाखोकी जस्तै लाग्न थालेको छ।
‘अहिलेसम्म जति पनि संक्रमित अस्पतालमा आउनुभएको छ अधिकांशमा कुनै पनि लक्षण देखिएको छैन, लक्षण भएकाहरूमा पनि सामान्य फ्लूको जस्तै देखिने गरेको छ। त्यसैले कोरोनासँग नडराई सावधानीमात्र अपनाए हुन्छ,’ डाक्टर शर्मा भन्छन्।
कोरोनालाई हाउगुजी बनाएकै कारण संक्रमितलाई मनोवैज्ञानिक त्रास भएको उनको अनुभव छ।
‘कोरोना भन्दा पनि अस्पतालमा आउने संक्रमितमा मनोवैज्ञानिक रूपमै त्रास देखिन्छ, घरपरिवार, टोल समाजले के सोच्छ भन्ने डर त्रासले उहाँहरूलाई कमजोर बनाएको हुन्छ, हामी त्यस्ता बिरामीको मनोभावना बुझेर उहाँहरूको मानसिक अवस्थालाई बलियो बनाउने गर्छौं,’ उनले भने।
आत्मबल बलियो बनाउने, प्रशस्त तातो झोलिलो वस्तु खाइरहने, भिटामिन सी र बीयुक्त खानेकुरा खाने र सकारात्मक सोचाइ राख्ने हो भने १०-१५ दिनमै कोरोनाको संक्रमण भए पनि संक्रमणमुक्त हुन सकिने डाक्टर थापाको सुझाव छ।
‘कतिपय संक्रमित अस्पतालमा आउँदा तनावमा रहेको देखिनुहुन्छ, उहाँहरूमा खासै लक्षण देखिएको हुँदैन तर पनि केही भइहाल्ने हो की भनेर आँत्तिएको देख्छौं, तर अस्पतालमा हाम्रो काउन्सिलिङपछि कोरोनालाई सहज मान्नुहुन्छ,’ डाक्टर थापाले भने।