दाङमा त्रिशूल प्रहारबाट शुक्रबार बिहान एक व्यक्तिको हत्या भएको छ।
बबई गाउँपालिका वडा नं. ३ धनवास गुन्द्रीबजार टोल निवासी ४६ वर्षीय नारायणप्रशाद डाँगीको त्रिशूल प्रहारबाट हत्या भएको हो।
बिहान ८ बजेतिर स्थानीय २४ वर्षीय बालाराम वलीले मन्दिरको त्रिशूलले एकाएक डाँगीमाथि आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।
हत्या पछि वलीले आफुमाथि समेत त्रिशूल प्रहार गरेका छन् भने आफ्नो लिंग समेत त्रिशूलले घोचेर छियाछिया पारेको भन्ने खबर प्राप्त भएको डिएसपी सिंहले बताए। वली स्थानीय क्वारेन्टिनमा भान्सेको काम गरिरहेका युवा हुन्।
घाइते वलीलाई प्रहरीले नियन्त्रणमा लिइ उपचारका लागि तुलसीपुरस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा पुर्याएको छ ।
घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय पञ्चकुलेवाट मोहन विक्रम केसीको नेतृत्वमा प्रहरीले अनुसन्धान सुरू गरेको छ।
स्थानीय प्रेम नागवागका अनुसार हत्या गरिएका डाँगी चौपारीमा बसेको समयमा वलीले एक्कासी त्रिशूलले डाँगीको पहिला पेट र घाँटीमा आक्रमण गरेका थिए।
डाँगीको घटनास्थलमै मृत्यु भएको नागबाघले बताए। डाँगीको गाउँमा किराना पसल छ। उनी आँखाको दृष्टिपनि कमजोर भएका व्यक्ति हुन्।
‘वलीले सुरूमा निर्माणाधीन दुर्गाको मन्दिरमाथि चढेर त्रिशूल निकाल्न प्रयास गरेका थिए,’ एक स्थानीयले भने ‘ सो त्रिशूल निकाल्न नसकेपछि उनले नजिकै रहेको पुरानो मन्दिरबाट त्रिशूल निकालेर चौपारीमा बसेका डाँगीमाथि बिना कारण आक्रमण गरे।’