धनुषाको इलाका प्रहरी कार्यालय सबैलामा प्रहरी हिरासतमा रहेका एक जना युवकको मृत्यु भएको छ। सवारी ज्यान मुद्दामा हिरासतमा रहेका सबैला नगरपालिका-१२ का २३ वर्षीय शम्भु सदाले हिरासतको शौचालयमा आत्महत्या गरेको प्रहरीले बताएको छ तर उनको परिवारले भने शम्भुको हत्या भएको भन्दै छानबिन हुनुपर्ने माग गरेर प्रदर्शन थालेका छन्।
सवारी ज्यान कसुरमा जेठ १२ गतेदेखि प्रहरी हिरासतमा रहेका सदाले मंगलबार राति २ बजे आत्महत्या गरेको प्रहरीको भनाइ छ।
मंगलबार राति आफैंले लगाएको भेस्टले पासो लगाइ झुण्डिएको अवस्थामा शम्भुको शव फेला परेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर चन्द्रभुषण यादवले बताए।
जेठ १२ गते शम्भुले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको थियो भने एक जना १२ वर्षीया बालिकाको खुट्टामा चोट लागेको थियो। घटनापछि शम्भु आफैं प्रहरी कार्यालय गएका थिए।
उनीसँग ट्रयाक्टर चलाउने लाइसेन्स भएकाले साहुले धरौटी तिरेर उनलाई हिरासतमुक्त गर्ने तयारी भइरहेको थियो।
‘ट्रयाक्टर मालिकले घाइते बालिकाको उपचारमा लागेको खर्च तिरेका थिए, मृतक महिलाको क्षतिपुर्ति दिने कुरा भइरहेको थियो। त्यतिकैमा शम्भुको घटना भयो,’ प्रहरी निरीक्षक यादवले भने।
शम्भुकी आमा शियाली सदाले भने छोराले आत्महत्या नगरेको बरू उनको हत्या भएको बताइन्। बुधबार घर आउने भनेको छोरो मंगलबार राति नै मृत भेटिएपछि उनी अहिले विक्षिप्त छिन्। बेलाबेलामा मुर्छा पनि परिरहन्छिन्।
मंगलबार मध्यराति प्रहरीले ‘शम्भुलाई जनकपुरधाम लैजाँदैछौं तपाईहरूसँग उ भेट्न चाहन्छ’ भनेको थियो। शियालीलाई प्रहरी चौकीमा ल्याउन प्रहरी टोली उनकै घरमा गएको थियो।
प्रहरीले जबरजस्ती केही कागजातमा औंठाछाप लगाउन भनेको शियालीले बताइन्।
केहीबेरमा छोराको शव देखेपछि उनी बेहोस भएकी थिइन्।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले शियाली बेहोस भएपछि प्रहरीले स्थानीय चिकित्सकलाई बोलाई सुई लगाउन लगाएको त्यसपछि मात्रै होसमा आएको र वडाध्यक्षसहितका जनप्रतिनिधि, स्थानीयवासीको रोहबरमा शव जनकपुर पठाइएको बताए।
शम्भुको शव जनकपुर अस्पतालमा पठाइए पनि उनको पोष्टमर्टम भने हुन सकेको छैन। शम्भुका परिवार आफन्तले उनको हत्या भएको भन्दै छानबिन माग गरेका छन्। बिहीबार साँझ उनीहरूले प्रहरी प्रशासनिवरूद्ध प्रदर्शनसमेत गरेका छन्।
यता बिहीबार साँझ शम्भुले आत्महत्या नभई उनको हत्या गरिएको भन्दै मुसहर समुदायका युवा तथा गाउँका स्थानीयहरुले घटनामा संलग्न रहेका प्रहरी उपर कारबाही हुनुपर्ने माग गर्दै प्रहरी प्रशासन विरुद्ध प्रदर्शन समेत गरेका थिए।
राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले घटनाको उच्चस्तरीय न्यायिक छानबिन नगरिए थप आन्दोलन गर्ने बताए।
प्रहरी प्रवक्ता कार्कीले प्रहरीकै थुनुवा कक्षमा शम्भुको मृत्यु भएकोले यसको नैतिक जिम्मेवारी प्रहरीले लिए पनि यसमा प्रहरीको कुनै संलग्नता नरहेको बताए।
घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने प्रकृया अगाडि बढाइएको उनले जानकारी दिए।