कोरोना संक्रमण रोक्न भन्दै सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि दैनिक ज्यालादारीमा गुजारा चलाउने श्रमिकलाई सबैभन्दा मुस्किल भयो।
न बचत पैसा, न काम!
घरमा पैसा आउन बन्द भएपछि बिहान-बेलुका जहानलाई खुवाउने जिम्मा पाएका महिलालाई नै बढी चिन्ता हुने भयो।
लकडाउन बढ्दै गएपछि धेरैजसो स्थानीय तहले विपन्न र मजदुरहरूलाई राहत बाँडे। राहतमात्र दिँदा पनि सरकारलाई गाह्रो हुन थालेपछि प्रधानमन्त्री रोजगार कार्यक्रमबाट काममा लगाउने र ज्याला दिने लहर चलेको छ।
आफ्नो गाउँघरमै पाइने कामका लागि नगरपालिकाले बोलाउँदा घर चलाउन गाह्रो भएका तिनै महिला उठेर पहिले गए।
यस्तो संकटका बेला काम गरेर पैसा कमाउँदा परिवारमा आफ्नो भूमिका, आफ्नै आत्मविश्वास र समाजले हेर्ने दृष्टि बदलिएको महिलाहरूले अनुभव गर्न थालेका छन्।
यो कार्यक्रममा काम पाउनेमध्ये एक हुन् सिराहाको लहान नगरपालिका-६ की पार्वती साह।
लकडाउनका बेला उनलाई घरचलाउन हम्मे हुन थाल्यो। श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया त गएका छन्। तर त्यहाँ पनि भाइरसको महामारी उस्तै छ। लकडाउनका कारण उनले पैसा पठाउन पाएनन्।
३ सन्तान र आफ्नो हातमुख जोड्न समस्या हुन थालेपछि पार्वतीसँग छटपटिनुबाहेक उपाय थिएन।
त्यही बेला लहान नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एउटा आवेदन खुलायो। स्थानीय निर्माणका काम गर्नुपर्ने हुन्छ। जसमा सरसफाइ, नाला, सडक निर्माणलगायतका कार्यमा लगाइने गरिन्छ।
लहान नगरपालिकाले भने नाला निर्माणका लागि आह्वान गरेको हो।
कार्यक्रममा २ सय ५० जनाले आवेदन भरेका थिए। २० जनालाई छनौट गरिएको छ। जसमध्ये १९ जना महिला र १ जना पुरूषलाई सामिल गरिएको छ।
पार्वती उक्त रोजगार कार्यक्रमा छनौट भइन्। उनलाई २० जनाको टोलीको अध्यक्ष बनाइयो। अहिले उनकै नेतृत्वमा सडकमा माटो पुर्ने, नालामा भरिएका माटो निकाल्ने काम भइरहेको छ।
‘यस काममा मसमेत विपन्न परिवारका महिलाहरू जुटेका छौं,’ उनले भनिन्।
कतिपयले त पार्वतीलाई निर्देशन देऊ काम नगर पनि भन्छन् रे।
'तपाईंको काम निर्देशन दिने हो, आफैं काम नगर्नुहोस् भन्छन् मलाई भने टोलीका महिलाहरूसँगै काम गर्न एकरति लाज लाग्दैन। किनभने म कुनै गलत काम होइन बरू मेहनत गरेर पैसा कमाउँदैछु,’ उनले भनिन्।
आफैंले काम गर्न थालेपछि श्रीमानले पठाउने पैसाको बाटो हेर्न उनलाई परेन। छोराछोरीलाई खुवाउनको पीरले छटपटिनु पनि परेको छैन।
उनले काम गरेको घनमिटरको हिसाबले ज्याला पाउँछिन्। एक घनमिटर सडकमा माटो पुर्यो भने ४ सय ५० रुपैयाँ। ५ देखि ६ जनासम्मको टोली बनाएर माटो पुर्ने गर्छन्। दिनभरिमा १० देखि १५ घनमिटर सड़कमा माटो पुर्ने काम गरिरहेका छन्।
टोलीका प्रत्येकले दिनको ६/७ सय रुपैयाँ आम्दानी गर्दै आएको उनले जानकारी दिइन्।
'तर यो काम अनुसारको ज्यालादारी होइन,' उनको गुनासो छ, 'काममा एकदमै मेहनत छ। माटो नालाबाट निकालेर रोड भर्नुपर्छ, सकडमा भएका खाल्डाखुल्डी माटो पुरेर मिलाउनुपर्छ। तर ज्याला भने ४५० रुपैयाँ मात्रै?'
पार्वतीसँगै काम गर्ने रामकुमारी पासवानको पनि गुनासो त यही छ।
'एउटा बन्जर जग्गालाई खनेर नाला बनाउनुपर्छ, सड़क बनाउनुपर्छ, त्यो पनि यति चर्को घाममा तर पारिश्रमिक भने ४ सय ५० रुपैयाँ मात्रले पुग्दैन,' उनले भनिन्।
उनका श्रीमान् होटेलमा काम गर्थे, उनको मुढा बुन्ने व्यापार थियो। लकडाउन लागू भएपछि श्रीमानको काम बन्द भयो।
विस्तारै परिवार चलाउन समस्या हुन थालेपछि अन्त्यमा आफूले गर्दै आएको व्यापारको पुँजी नै तोडेर घर चलाउन सुरू गरे। त्यो पैसा नि कति दिनसम्म चलोस्?
'पैसा सकिन लागेको थियो त्यही बेला नगरपालिकाले रोजगारीको आवेदन खोल्यो, टोलका अरू साथीले फर्म भरेको देखेर मैले पनि भरें। नाम निस्कियो,' उनले भनिन्, 'एक सातादेखि काम गर्दै आएकी छु।'
नगरपालिकाले दिने ज्यालामा गुनासो भए पनि उनले अचेल आफूमाथि गर्ने गर्वको कुनै मूल्य नभएको बताउँछिन्। नगरपालिकाको काममा जान थालेपछि परिवारमा उनको हैसियत पनि बढेको छ रे।
‘काम गरेर घरमा जाँदा उहाँ (श्रीमान) ले घरको प्रायः काम गरिसक्नुभएको हुन्छ, छोराछोरीको रेखदेखसमेत अहिले उहाँले नै गर्नु हुन्छ, यो काम नपाएको भए सायद मैले यस्तो कहिलै देख्न पाउन्नथें,’ उनले भनिन्,‘अहिले हाम्रो घरको आर्थिक स्थिति पनि सामान्य हुने थिएन।’
प्रधानमन्त्री रोजगार कार्यक्रममै काम गर्दै आएकी रोशीकुमारी रामलाई पनि श्रीमान् र श्रीमती मिलेर काम गर्दा निकै गर्व लागेको छ।
उनलाई आर्थिक रूपमा आफू र घर दुबै सबल भएको महशुस हुन्छ।
श्रीमान् औषधी पसलमा काम गर्छन्। ७ हजार मासिक कमाउँछन्। लकडाउनको बेला पनि उनीहरूलाई खानै नपुग्ने हुँदैनथ्यो। तर ६ जनाको परिवारको भार श्रीमानमाथि मात्रै परेको देख्दा उनलाई अप्ठेरो भने लाग्थ्यो।
'आफूले समेत कुनै रोजगारी गर्न पाए भन्ने हुन्थ्यो,’ उनले भनिन्, 'वर्षौंदेखि घरमै बसेर समय बिताएकोमा अहिले पछुतो लागेको छ। यसअघिदेखि यस्तै कुनै ज्याला मजदुरी नै गरिरहेको भए घरको आर्थिक अवस्था अहिलेभन्दा धेरै राम्रो हुने थियो।'
प्रधानमन्त्री रोजगार कार्यक्रमको समयावधि लगभग १६ दिनमात्रै बाँकी छ। त्यसपछि यो परियोजना सके पनि घरमा बेरोजगार भएर बस्नुभन्दा यस्तै अरू कुनै काममा लाग्ने रोशनीको योजना छ।
रोशनीकी ६ वर्षकी एक छोरी र ३ वर्षका एक छोरा छन्। उनीहरू दुबैलाई राम्रो शिक्षादीक्षा दिएर ठूलो मान्छे बनाउने उनको सोच छ। श्रीमानको कमाइले मात्र छोराछोरीलाई शिक्षादीक्षा दिन गाह्रो हुनेछ।
‘उहाँले ७ हजार जति मासिक रूपमा कमाउनुहुन्छ। त्यसले त हाम्रो ६ जनाको परिवारमात्रै चल्छ त्यसमा छोराछोरीलाई जसोतसो गरी पढाउँदै आएका छौँ तर यदि म र उहाँ सँग-सँगै काम गर्दै गयौं भने छोराछोरीलाई पढाउन कुनै समस्या हुन्न,’ उनले भनिन्।
यो कार्यक्रममा जुटेका महिला १९ जना छन्। उनीहरू एकदमै मेहनतका साथ काम गरिरहेको वडा नम्बर ६ का वडाध्यक्ष अरूण केसीले बताए।
'उहाँहरूले एकदमै मेहनतका साथ काम गरिरह्नुभएको छ,' उनले भने, 'महिलाले बाहिर निस्केर काम गर्न सक्दैनन् भन्ने समाजको सोच पनि उहाँहरूलाई देखेर बदलिँदै गएको छ। उनीहरू आफैं पनि खुसी छन्।'
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत वर्ष देशभरि झन्डै एक लाख ७६ हजार व्यक्तिले रोजगारी पाएका थिए।