अमिताभ बच्चन र आयुष्मान खुराना अभिनीत 'गुलाबो सिताबो' अहिले चर्चामा छ। भारतमा लकडाउनका कारण नयाँ फिल्म स्थगित गरिएका बेला दर्शकहरूले लामो समयपछि निर्देशक सुजीत सिरकरको कमेडी-ड्रामा 'गुलाबो सिताबो' हेर्न पाएका छन्।
यो फिल्म सिनेमा हलमै रिलिज गर्ने भनेर खुब प्रचारप्रसार गरिएको थियो। कोरोना महामारीका कारण हलहरू कहिले खुल्ने टुंगो भएन। निर्माताहरूले धेरै समय धैर्य गर्न सकेनन्। अन्तत: अमेजन प्राइम भिडिओमार्फत् संसारभरि अनलाइन रिलिज गरियो।
यही सूचीमा आउँछ सुशान्त सिंह राजपुतको अन्तिम फिल्म- 'दिल बेचारा'।
केही साताअघि असामयिक मृत्युपछि सुशान्तको चर्चा चुलिएको छ। उनको अन्तिम फिल्म यही बेला रिलिज गर्नु व्यावसायिक दृष्टिले उपयुक्त निर्णय हो। त्यही भएर हुनसक्छ, यो फिल्म जुलाई २४ तारिखमा सिधै अनलाइन रिलिज गर्ने घोषणा गरिएको छ। संसारभरिका दर्शकले डिज्ने प्लस हटस्टारमा यो फिल्म नि:शुल्क हेर्न पाउने छन्।
पछिल्लो समय संसारभरिको सिनेमा बजारका लागि डिजिटल प्लेटफर्म महत्वपूर्ण बन्दै गएको छ। 'नेटफ्लिक्स' र 'अमेजन प्राइम' जस्ता डिजिटल प्लेटफर्म कोरोना महामारी सुरू हुनुअघि नै लोकप्रिय भइसकेका थिए। लकडाउन सुरू भएपछि यस्ता कम्पनीको बजार ह्वात्तै बढेको छ।
उदाहरणका लागि, सन् २०२० को पहिलो तीन महिनामा नेटफ्लिक्सका १ करोड ५८ लाख ग्राहक थपिएको सञ्चारमाध्यमहरूले जनाएका छन्। यो कम्पनीको अनुमानभन्दा दोब्बर हो। हालसम्म नेटफ्लिक्सका संसारभर १८ करोड ग्राहक पुगेका छन्।
थिएटरबाट डिजिटल प्रसारणतर्फको आकर्षण नेपालमा पनि सुरू भएको छ। पछिल्लो समय फिल्म हलहरू खुल्ने टुंगो नभएपछि केही फिल्मकर्मीले डिजिटल प्लेटफर्मलाई आफ्नो विकल्प बनाएका छन्।
त्यही प्रयासको एउटा उदाहरण हो- डिसहोमको 'सिनेमा घर' च्यानल, जहाँ दर्शकले पैसा तिरेर नेपाली फिल्म हेर्न पाउँछन्।
ओरिजिनल इन्टरटेनमेन्ट प्रालि (ओइपिएल) ले 'सिनेमा घर' च्यानलमार्फत् 'पे पर भ्यू (पिपिभी)' सेवा सुरू गरेको कम्पनीका अध्यक्ष दयाराम पाण्डेय बताउँछन्।
हुन त लकडाउन अघिदेखि नै अनलाइन फिल्म रिलिज गर्ने अभ्यास सुरू भइसकेको थियो। कतिपय निर्माण कम्पनीले आफ्ना फिल्महरू युट्युबमा राखेका छन्, जहाँ निःशुल्क हेर्न पाइन्छ।
सिनेमा घरले पनि दर्शकसँग शुल्क लिएर नेपाली फिल्म देखाउने चलन थालिसकेको थियो। अहिलेसम्म यहाँ पुराना नेपाली फिल्म प्रसारण भइरहेका छन्। अब भने नयाँ फिल्म पहिलोपटक यही प्लेटफर्ममा रिलिज गर्ने तयारी गरिँदैछ।
सिनेमा घर च्यानल सुरू भएको झन्डै तीन वर्ष भयो। यसका १८ लाखभन्दा बढी ग्राहक रहेको कम्पनीले जनाएको छ। लकडाउन अवधिमा पैसा तिरेर नेपाली फिल्म हेर्ने प्रयोगकर्ता ह्वात्तै बढेको कम्पनीका अध्यक्ष पाण्डेय बताउँछन्।
'तुलनात्मक हिसाबले डिसहोमको पिपिभी सेवामा ४५ देखि ५० प्रतिशत ग्राहक बढेका छन्,' उनले भने, 'पहिले हामी फिल्म हल र डिसहोमको सिनेमा घरमा एकैदिन फिल्म सार्वजनिक गर्थ्यौं। तर, हलवालाहरूलाई अप्ठ्यारो भएपछि हलमा रिलिज भएको केही सातापछि मात्र सिनेमा घरमार्फत् सार्वजनिक गर्न थाल्यौं।'
'सिनेमा घर' ले दुई वर्षयता ५० भन्दा बढी नयाँ र पुराना फिल्म सार्वजनिक गरिसकेको छ। 'मंगलम्', 'आमा', 'घर', 'हिरो नम्बर १', 'मारुनी' आदि सिनेमा घरमा सार्वजनिक भइसकेका फिल्म हुन्। ठूला बजेटभन्दा कम बजेटका फिल्म निर्मातालाई डिसहोमको सिनेमा घरले राहत दिन सक्ने जानकारहरू बताउँछन्।
'एक करोडसम्म लगानीमा बनेका फिल्मले 'पे पर भ्यू' सिस्टममार्फत् राम्रो कमाइ गर्न सक्ने वातावरण बनेको छ,' पाण्डेयले भने।
उनका अनुसार, यसमा एक शो फिल्म हेर्न १ सय २५ देखि ४ सय २५ रूपैयाँसम्म तिर्नुपर्छ। सपरिवार हेर्ने हो भने सस्तो हुन्छ। दिनमा ८ शो चल्छन्।यसमा फिल्म देखाउने सम्झौता केही दिन वा केही साताका लागि मात्र हुने भएकाले प्रतिलिपि अधिकार निर्माता वा वितरकसँगै हुन्छ।
शुक्रबार (असार १२) देखि नमन प्रोडक्सनको 'तिमी सँग' सिनेमा घरमा सार्वजनिक भएको छ। यो फिल्म दुई वर्षअघि हलमा चलेको थियो। यसपछि सम्भवतः सोभित बस्नेतको 'टिचर' फिल्म सार्वजनिक हुनेछ।
अघिल्लो साता आशिष भेटवालद्वारा निर्देशित 'हिरो रिटर्नस्' सिनेमा घरमार्फत् प्रदर्शनीमा थियो। रेखा थापा, सविन श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको उक्त फिल्म झन्डै दुई वर्षदेखि सार्वजनिक हुन सकेको थिएन। अन्ततः गत वैशाख २६ गते सार्वजनिक गर्ने तय भएको थियो। त्यही बेला लकडाउनले हलहरू बन्द भए। त्यसपछि अझै कति दिन कुर्नुपर्ने हो टुंगो भएन।
'तत्काल हल खुल्ने छाँट नदेखेपछि हामीले डिसहोमबाट सार्वजनिक गर्ने निर्णय गर्यौं,' फिल्मका निर्देशक चन्दन गौतमले भने।
उनका अनुसार 'हिरो रिटर्नस्' एक करोडभन्दा बढी लगानीमा बनेको हो। 'यसले सिनेमा घरमार्फत् के-कस्तो कमाइ गर्यो, त्यसको आर्थिक हिसाब बुझ्न बाँकी छ। तर, हामीलाई सिनेमा घरले राहत पुर्याएको छ। अवस्था सामान्य भएपछि फिल्म हलमा समेत सार्वजनिक गर्ने योजना छ,' उनले भने।
यसअघि गणेश गिरीको 'कोपिला' पनि सिनेमा घरमार्फत् सार्वजनिक गरिएको थियो। निर्मला पन्तको बलात्कार र हत्या घटनामा आधारित यो फिल्म हलमा मात्र नभई च्यारिटी शो नै चलाउने सोच थियो।
'लकडाउनले कति दिन कुर्नुपर्ने निश्चित नभएपछि डिजिटल माध्यमलाई विकल्प बनायौं,' फिल्मका निर्देशक तथा लेखक शिवम् अधिकारीले भने, 'फिल्मले लगानी उठाउने सम्भावना छ। अहिलेको संकटमा यो चानचुने कुरा होइन।'
पूरै लगानी उठ्ने सोच नराखी यो प्लेटफर्म रोजेका उनले वैशाख ३० गतेबाट तीन सातासम्म दैनिक शो चलाएका थिए। दर्शकको राम्रो प्रतिक्रिया र मागका कारण भदौमा पुनः प्रदर्शन गर्ने योजना रहेको उनले जानकारी दिए।
यसबाहेक 'डू यू लभ मी', 'ताकतवार' जस्ता फिल्म पनि हलमा नगई सिधै डिसहोममार्फत् सार्वजनिक गरिएको थियो।
'यतिबेला अधिकांश दर्शक परिवारसँगै बसेर फिल्म हेर्ने हुँदा सामाजिक विषयवस्तु बढी रुचाइन्छ,' अध्यक्ष पाण्डेयले भने, 'कोपिला त्यसैको उदाहरण हो। यसले तीन सातामै झन्डै १६ लाख उठाएको थियो। फिल्मको माग अझै उस्तै छ।'
लकडाउनकै बेला डेढ वर्षअघि रिलिज 'छक्कापन्जा-३' पनि सिनेमा घरमा देखाइयो। यस अवधिमा मात्रै फिल्मले ५५ लाख कमाएको थियो। त्यस्तै, 'पोइ पर्यो काले' ले ३४ लाख, 'रातो टीका' ले ३२ लाख र 'छ माया छपक्कै' ले ४२ लाख कमाएको अध्यक्ष पाण्डेयले जानकारी दिए।
उनका अनुसार, डिसहोमले आफ्नो खर्च काटेर प्रदर्शन कम्पनीलाई १५ प्रतिशत र निर्मातालाई ८५ प्रतिशत रकम दिन्छ।
यसरी नयाँ तथा पुराना फिल्मको माग आइरहँदा ओइपिएल आफैं पनि फिल्म निर्माण गर्ने योजनामा लागेको छ। निर्माताहरूसँगको सहकार्यमा फिल्म बनाउने तयारीमा लागेका पाण्डेयले लकडाउन खुकुलो भएपछि छायांकनमा जाने योजना सुनाए।
डिजिटल प्लेटफर्मबाट सकारात्मक प्रतिक्रिया पाउँदा निर्माताहरू वैकल्पिक माध्यमको खोजीमा लागेको नेपाल फिल्म निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन्।
'यसले निर्माताहरूको लगानी उठ्ने मात्र होइन, नेपाली फिल्म क्षेत्रलाई चलायमान राख्न पनि मद्दत पुग्नेछ,' उनले भने।
निर्देशक प्रचण्डमान श्रेष्ठ पनि डिजिटल प्लेटफर्ममा पहुँच बढ्दै गएको बताउँछन्। लकडाउनका कारण फिल्म हेर्ने बानी बसेको र डिजिटल प्लेटफर्मले दर्शक र निर्माता दुवैलाई नयाँ विकल्प दिएको उनको भनाइ छ।
ओएसआर डिजिटलका प्रमुख कार्यकारी ओमप्रकाश अग्रवालका अनुसार लकडाउन अवधिमा युट्युबमा अपलोड गरेका नेपाली फिल्मले डेढ लाखसम्म 'भ्युज' पाएका छन्।
'बढ्दो दर्शकसँगै नयाँ फिल्म पनि रिलिज गर्न सकिने बाटो खुलेको छ,' उनले भने।