'ओहो! पुष्पलालको कुरै नगर्नुस्,' एक साताअघिको साँझ कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ भन्दै थिए, 'उनी अर्कै मानिस थिए जसको नाम अहिलेका कम्युनिस्टसँग जोड्दै नजोड्नुस्।'
हामी एउटा फरक सन्दर्भमा जम्मा भएका थियौं। त्यहाँ थिए अग्रज कवि एवं गीतकार दुर्गालाल, अर्का कवि एवं गीतकार विप्लव 'प्रतीक' अनि परिचित संगीतकार न्ह्यु बज्राचार्य। कुनै एजेन्डाबिहीन भेटघाट भएकाले वार्तालापको लय नदी बगेजस्तै स्वच्छन्द बढ्दै थियो।
कुराकानीको सुरूआत काठमाडौं कसरी फेरिँदै गएको छ भन्ने ८५ वर्षे दुर्गालालका अनुभवबाट भएको थियो। त्यसै क्रममा २०१५ सालको पहिलो आमनिर्वाचनको चर्चा सुरू भयो।
'त्यो बेला पुष्पलालको चुनावी प्रचार गीत दुर्गालाल दाइले नै तयार पारिदिनुभएको थियो,' संगीतकार बज्राचार्यले स्वभाव अनुसारै अगाडि भने, 'सोध सोध। रमाइलो छ।'
नेपालमा वामपन्थी राजनीतिका अगुवा पुष्पलाल श्रेष्ठसँगको अनुभव स्वाभाविक रूपले हाम्रा निम्ति जिज्ञासाको विषय बन्यो। असार १५ गते उनको जन्मजयन्ती पनि।
'काठमाडौं-१ मा कांग्रेसबाट गणेशमान सिंह उम्मेदवार थिए भने कम्युनिस्टबाट पुष्पलाल,' दुर्गालालले भने, 'हामी टोलेहरू पुष्पलाललाई माल्दाइ भनेर बोलाउँथ्यौं।'
परिवारका जेठा छोरा गंगालाललाई आफ्नो विरोध गरेकै कारण राणाहरूले मारेका थिए। भर्खरै राणा शासन गएका बेला माहिला छोरा पुष्पलाल अर्थात् माल्दाइ तन्नेरीहरूका प्रिय।
चुनावमा त्यसै क्षेत्रबाट अर्का बलिया उम्मेदवार, प्रधानमन्त्री भइसकेका केआइ सिंह पनि थिए। केआइ सिंहलाई बढिजसो बुढापाका र अवकाश पाएका सेना-प्रहरीको साथ थियो।
'चुनाव लहर चलिरहेका बेला म २२ वर्षको थिएँ,' दुर्गालालले सम्झे, 'साथीभाइ अनि टोलछिमेकमा कविता लेख्ने मानिस भनेर मेरो परिचय बनिसकेको थियो।'
एक बिहान टोलकै डबलीजस्तो ठाउँमा दुर्गालाल बसिरहेका थिए। अचानक पछाडिबाट एउटा हातले च्याप्पै समात्यो। फरक्क फर्केर हेर्दा त्यो त दोलाइ ओडिरहेका पुष्पलाल पो रहेछन्। त्यसरी अचानक समातेर तान्न थालेका पुष्पलालले 'जाऊँ, हिँड' भन्न थाले। पहिले कहिल्यै त्यस्तो व्यवहार नगरेका पुष्पलालको यो बलजफती देखेर दुर्गालाललाई अचम्म लाग्यो।
'के भो? किन?' दुर्गालालले सोधेछन्, 'ए माल्दाइ, यसरी कहाँ लैजान लागेको नि?'
उता पुष्पलाल भने 'जाऊँ हिँड मसँग' भन्दै एकोहोरो तान्दै लगेछन्।
पुष्पलालले समातेरै दुर्गालाललाई आफ्नो कोठासम्म लगेछन्। त्यहाँ बैठक कक्षजस्तो थियो। कोठामा थुप्रै कुर्सी थिए, सबैजसो पुष्पलालका सहयोगी अनि भेटघाटका निम्ति आएकाले भरिएका।
'मान्छेलाई मोटिभेट गर्ने गजब क्षमता माल्दाइमा थियो,' दुर्गालालले सम्झे, 'जो मानिससँग जे खुबी छ, त्यसको असाध्यै सम्मान साथ बढाइचढाइँ उल्लेख गरिदिने।'
त्यो बेला बैठकमा उपस्थित मान्छेका सामु पुष्पलालले दुर्गालाललाई 'यी आशु कवि नै हुन्' भनेर चिनाइदिए।
'माल्दाइले अरू पनि धेरै प्रशंसा गरेका थिए,' उनी सम्झन्छन्, 'त्यो सुनिरहँदा मलाई पहिलोपटक आफू कवि भएकोमा त्यति धेरै गर्व महशुस भइरहेको थियो।'
एकै ठाउँका हिसाबले सामान्य चिनजान भए पनि पुष्पलालले आफूबारे यति धेरै जानकारी राखेका छन् भन्ने दुर्गालाललाई थाहै थिएन।
'तिम्रो कविता मलाई मनपर्छ,' पुष्पलालले भनेछन्, 'यो चुनावमा मेरो प्रचारका निम्ति एउटा गीत पनि तिमी नै बनाइदेऊ।'
दुःखैदुःखमा बाल्यकाल बितेकाले आफूमा दुःखीहरूका बारे कविता लेख्ने बानी विकास हुँदै गएको दुर्गालाल बताउँछन्।
'गरिबको राम्रो दिन आउन कम्युनिजम आउनु पर्छ भन्थे,' दुर्गालाल भन्छन्, 'त्यति एउटा कुराले प्रभावित भई लेखिरहनुबाहेक म कहिल्यै कुनै पार्टीको मानिस भइनँ।'
यस्तो अवस्थामा उनका प्रिय माल्दाइले अचानक चुनावको गीत लेखिदिन भनेपछि रनभुल्ल परेछन्।
'एक त म प्रचारको गीत होइन कविता लेख्ने मानिस हुँ,' उनले पुष्पलाललाई सम्झाउने कोशिस गरेछन्, 'ए माल्दाइ, गीतमा त लय हाल्नु पर्छ, गाउने मानिस पनि चाहिन्छ। मैले त्यो सबै जानेकै छैन।'
पुष्पलाल पनि के मान्थे?
'तिमी नै भन को-को ल्याउनु पर्छ,' उनले थपेछन्, 'म सबै मानिस ल्याइदिन्छु।'
त्यति बेला आफूले प्रेमध्वज प्रधान, हुतराज शर्मा इत्यादिको नाम लिएको दुर्गालाल सम्झन्छन्। नभन्दै सबैलाई एक घन्टामै पुष्पलालले उनको कोठामै हाजिर गराए।
दुर्गालालमा आश्चर्यको सिमाना रहेन। उनले पनि त्यतिबेलै गीत लेखिहाले।
'त्यो बेला मेरो शब्दमा प्रेमध्वजले संगीत दिएका थिए,' उनले भने, 'अनि नारायण गोपालले गाएका थिए।'
आफूले लेखेको गीत वसन्तपुरको विशाल सभामा सुनाइँदाको क्षण सम्झँदा दुर्गालाललाई अहिले पनि आनन्द लाग्छ।
'एक त त्यति भव्य सभामा मेरो गीत गाइँदै थियो,' उनी भन्छन्, 'त्यसबाहेक त्यहाँ भएका सबैले त्यसलाई मनपराएका थिए।'
गीतको बोल थियो–
'हे महान देश या छँ प्राण नौजवान्'
(हे महान देशका तिमी प्राण हौ नौजवान)
दुर्गालालका अनुसार त्यो बेला कम्युनिस्टहरूले तिनका उम्मेदवार जुन ठाउँबाट उठेको छ, त्यहाँ त्यही भाषाबाट प्रचार सामग्री बनाउने नीति लिएका थिए।
'चुनावी गीत भएकाले पार्टीको चुनाव चिह्न पनि उल्लेख गरेको थिएँ,' उनले भने, 'चिह्न हँसिया र मकैको घोगा थियो।'
त्यसपछि दुर्गालालले गीतको अर्को अन्तरा पनि सुनाए–
'इँ यु कनि या निसान ठोँ, राष्ट्र या गु दिब्य दिप ख
छंगु शान नौजवान ख तो या चिकँ समान हे महान'
(हँसिया र मकैको यो जुन निशान छ राष्ट्रको दिब्य दिप नै यो हो। तिम्रो शान यसको निमित्त दिपमा तेल बराबर हो।)
कम्युनिस्ट पार्टीका उम्मेदवार पुष्पलालले आफ्नो चुनावी गीत नै लेख्न लगाएपछि यस विचारधाराप्रति आफ्नो आत्मीयता झनै बढेको दुर्गालाल सम्झन्छन्।
'कम्युनिस्टहरूले स्थानीय भाषाको उन्नतिमा पनि काम गर्दा रहेछन् भन्ने मलाई पर्यो,' उनले थपे, 'त्यो भावनाले झनै लहसिएँ।'
त्यो बेला गणेशमान सिंहको चुनावी गीत थियो कि थिएन?
'थियो नि,' उनले भने, 'किन नहुनु?'
त्यो गीत के थियो भन्ने स्वाभाविक जिज्ञासा लाग्यो। तर, दुर्गालाल श्रेष्ठलाई कसरी सोध्ने?
अरू कुनै उपाय नलागेपछि संकोचबीचै सोधियो।
उनी एकछिन मौन बसे। हाँसे। त्यसपछि सुनाए–
'मलाई जहाँसम्म लाग्छ गणेशमानजीको गीत यस्तो थियो– वीर गणेशमानजीलाई भोट दिनुस् हजुर, प्रजातन्त्र फूल्छ जरुर।'
त्यो चुनावमा काठमाडौंभर जताततै पुष्पलालकै लहर देखिएको थियो। स्वयं गणेशमान पनि परिणाम सकारात्मक नआउला भनेर बनेपातिर पुगेका थिए। मतगणनापछि त तीन हजारभन्दा बढी अन्तरले गणेशमान सिंह नै विजयी भए।
'कुनै पार्टीभन्दा पनि कम्युनिजमप्रति मेरो असाध्यै ठूलो आस्था थियो,' दुर्गालाल भन्छन्, 'त्यो आस्था अहिले पनि मभित्र छ।'
१५ सालको चुनावमा पराजय भोग्नु परे पनि मुलुकमा अहिले कम्युनिस्ट पार्टीकै दुइतिहाई बहुमतको सरकार छ। यस्तो बेला त दुर्गालाललाई खुसी लाग्दो हो नि?
जवाफमा उनले नमिठो अनुहार बनाए।
'आजका यी कम्युनिस्ट देखिरहँदा मलाई जहाँतहीँ बिझ्न थालेको छ,' उनले छाती सुम्सुम्याउँदै भने, 'बाँचिराखेर यस्ताहरू देख्नुपरेकामा पनि दिक्क लाग्छ।'
उनले झनै तितो अनुहार लगाउँदै भने, 'संसारमै कम्युनिजमको इज्जत यिनले जत्तिको अरू कसैले उडाएनन् होला।'
दुर्गालालको मुखबाट यस्तो शब्द असाध्यै निराशाजनक सुनियो। त्यस्तो नमिठो लाग्नेगरी के भएछ?
'अहिले यो महामारी बेला पनि यत्रो भ्रष्टाचार भइरहेको छ। यो भ्रष्टाचार अरू कसैले गरिरहेको छैन। निधारमा कम्युनिस्ट लेखिएकै मानिसहरूले सारा भ्रष्टाचार गरिरहेका छन्। यो पो विचित्र छ, महामारीमा पनि भ्रष्टाचार गर्ने कतिसम्म निकृष्ट होलान्?'
काठमाडौं उपत्यकाले यसभन्दा पहिले पनि महामारी बेला अत्यन्तै कठिन समय भोग्नुपरेको दुर्गालालले सुनाए।
'वि.सं १८५४ मा रणबहादुर शाह राजा भएकै बेला विफर संकटले संसार हल्लाएको थियो,' उनले भने, 'त्यति बेला पनि हामीकहाँ भने शासककै उल्टो मतिले गर्दा जनता आफ्नो थातथलो छाडेर बाहिरिनु परेको थियो।'
रणबहादुर शाहले पशुपति दर्शन गर्न आएकी मैथिल ब्राम्हणी विधवा मनपराएका थिए। ती विधवासँग बिहे गर्ने कोशिस तत्काल सफल हुन सकेन। उनले महिनौंसम्म जबर्जस्ती गरिरहे। अन्तिममा ती मैथिल ब्राह्मणीले आफूबाट जन्मेको सन्तान राजा हुने भए मात्र बिहे गर्न मन्जुरी दिइन्। जन्मेको सन्तान सानै छँदा विफर महामारी फैलियो। विफर लागेका कुनै पनि केटाकेटी ती भावी राजाको छेउछाउ आउन नपाऊन् भनेर राजा रणबहादुरले काठमाडौंका सबै केटाकेटीलाई तिनका आमाबुवासहित उपत्यकाबाट लखेटिदिएका थिए।
त्यो बेला कुनै अज्ञात कविले 'शीतला माजु'लाई सम्झँदै लेखेको गीत उपत्यकाको नेवार समुदायमा अहिले पनि चर्चित छ। त्यस गीतले सूचना अभाव रहेको त्यो समयमा आफ्नो थातथलो छाडेर अनजान अनकन्टारतर्फ लखेटिनुपरेका र बाटैमा सन्तान वियोग खेप्नुपरेकाको मार्मिक कथा भन्छ।
दुर्गालालले उति बेलाको घटना सुनाउँदा-सुनाउँदै गायक एवं संगीतकार न्ह्यु बज्राचार्यले गितार बजाएर गुनगुनाउन थाले–
'शितला माजु सो
मुनी प्रजा या'
गीत असाध्यै मिठो सुनियो।
'यो फेरि पुरानै लय हो,' दुर्गालालले बीचैमा भने, 'अहिले पनि उत्तिकै मिठो लाग्ने यसलाई न्ह्युले बनाएको चाहिँ होइन नि!'
त्यत्तिकैमा गाउँदा-गाउँदैका न्ह्यु थामिएर बोल्न थाले।
'यस्तो मार्मिक लेख्न सक्ने मानिस कसरी अनजान भयो?' उनले थपे, 'त्यो बेला यस्तो मेलोडी बनाउने मानिस को होला?'
यत्तिकैमा दुर्गालाल श्रेष्ठले अहिले कोरोना कहरलाई लिएर आफूले पनि धेरै कविता लेखेको जानकारी दिए। उनले एउटा सुनाए पनि–
देश विपतमा पर्दैछ यता
चुलिँदो छ उता भ्रष्टाचार!
योभन्दा अरू के छ र गिर्नु
कम्युनिस्ट अरे यो सरकार!
यो कोरोना जरुर विपत हो
हुनुपर्दछ यसको उपचार!
तर योभन्दा त्यो तत्व अहो
वादैको वनमारा झार!
सावधान है! बेलैमा यो
फाल्नै पर्छ उखेलेर!
नत्र भोलि यो कोरोना भै
आउनेछ है उम्रेर!
कुनै समय सामन्ती शासन भएका बेला कुनै अज्ञात कविले लेख्नुपरे जस्तै आफूले पनि अहिले कम्युनिस्टको दुइतिहाई सरकार भइरहेका समयमा सावधान गराएर लेख्नु परेकामा दुर्गालाललाई दुःख लागेको छ।
'तर, के गर्नु?' उनले थपे, 'यो पनि अहिले हामी नेपालीले भोगिरहेको यथार्थ हो।'
उनको अनुहारमा हल्का आक्रोश रेखा देखियो।
'यो महामारी समेत अवसर पाएजस्तो पो गर्दैछन्,' उनले भने, 'हामीले यत्रो वर्ष गरेका कामनामै खोट रहेछ क्यार! मैले लेख्दै आएका शब्दमै खोट रहेछ क्यार!'
सारा जीवन कम्युनिस्ट सत्ताको कामना गरेर बिताएको आफूलाई अहिले कम्युनिस्ट यस्तो बिब्ल्याँटो भएको देख्दा दिक्क लाग्ने उनले सुनाए।
'गणतन्त्र आयो, गणतन्त्र आयो भनेर एकोहोरो चिच्याइरहेका छन्,' उनले भने, 'म सोध्छु, ए बाबा गणतन्त्र आएर के चाहिँ भयो? जे कुरा फेरिनु पर्ने थियो, त्यतातिर त एउटा पात पनि हल्लिरहेको छैन।'
लामो समयदेखि श्रृंखलावद्ध ठूलो युद्ध विफल भएपछिको दिक्क लाग्दो अवस्था अहिले देख्नुपरेको उनले सुनाए।
'समयअनुसार फेरिनु त पर्थ्यो,' उनले भने, 'तर, यसरी फेरियौं, सबै उल्टोपाल्टो भइदियो।'
पछिल्लो समय आफूले कतै पनि सुधार नदेखेको, बरू सबथोक पहिलेभन्दा भासिएको देख्न थालेको उनले बताए।
'काम गरेर खाने मानिसको संसारमा अलिकता उज्यालो पसेको त देखिनुपर्थ्यो नि,' उनले भने, 'उनीहरूको संसारमा जस्तो अन्धकार अहिले कतै छैन।'
यो आधारभूत कुरा मै बर्बादी भइसकेपछि बाँकी कुरा गर्नुको कुनै अर्थ नरहने उनले सुनाए।
'अहिले पुष्पलाल ज्युँदै भइदिएका भए के भन्थे होलान्?'
२०३५ सालमा बितेका पुष्पलाललाई सम्झिँदै गरेको यो अन्तिम प्रश्नको उनले के जवाफ देलान् भन्ने जिज्ञासा थियो।
उनी एकोहोरो हाँसे मात्रै।
'भैगो, यो कुरै नगरौं,' उनले यति भने र कुराकानी टुंग्याए।